अपाङ्गता भएका कर्मचारीले चलाउने नमुना मतदान केन्द्र

June 27, 2017

बैतडी, १३ असार ।

नेपालमै पहिलो पटक अपाङ्गता भएका कर्मचारीकै रेखदेख र नियन्त्रणमा बैतडीमा एउटा मतदान केन्द्र सञ्चालन गरिने भएको छ । दशरथचन्द नगरपालिकामा अपाङ्ता भएका व्यक्ति संवेदनशील मतदान केन्द्रलाई विषेश मतदान केन्द्रका रुपमा राखिएको हो ।

दशरथचन्द नगरपालिका– १ को गुरुखोला ‘ख’ केन्द्रमा मतदान अधिकृत जीतबहादुर रोकायासहित छजना अपाङ्गता भएका कर्मचारी मात्रै खटाइएको छ । सबैजना शारीरिक अपाङ्गता भएका कर्मचारीलाई समेटेर एउटा छुट्टै मतदान केन्द्र स्थापना गरिएको फुयाँलले जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

केही जिल्लाका निर्वाचन केन्द्रलाइ अपाङ्ता भएका व्यक्ति संवेदनशील मतदान केन्द्र बनाइएको भए पनि पूर्णरूपमा अपाङ्गता भएकै कर्मचारीमात्रैले चलाएको यो नेपालकै पहिलो मतदान केन्द्र हुने छ ।

यसका साथै सोही जिल्लाको पाटनमा महिलाले मात्रै सञ्चालन गरेको मतदान केन्द्र स्थापना गरिएको  फुयाँलले जानकारी दिनु भयो ।

पाटन नगरपालिका– ६ स्थित पन्त्यौडा माविमा रहेको मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐर मतदान अधिकृत रहेको उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृत सडक डिभिजन कार्यालयकी कम्प्युटर अपरेटर निर्मला खनाल रहनुभएको छ । पाँच सय ५६ मतदाता रहेको सो मतदान केन्द्रमा पाँचजना महिला कर्मचारीले मात्रै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने भएका छन ।

बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा तयारी पूरा भइसकेको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो । सुरक्षाकर्मी र कर्मचारीसहित तीन हजारभन्दा बढी जनशक्ति निर्वाचनका लागि परिचालन गरिएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहान ७ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मका लागि भारतसँग जोडिएको झुलाघाट सीमा नाका समेत बन्द गरिएको छ । चार नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा एक लाख २५ हजार २८३ मतदाता रहेका छन् भने ४४० पदका लागि एक हजार ६८० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!