मेरुदण्डको चोट
दुर्घटना वा अन्य कारणले मेरुदण्डमा चोट लागेमा मेरुदण्डको बीचबाट जाने सुषुम्नामा चोट लागेपछि गतिशीलता वा अनुभूति नै अवरुद्ध हुन पुग्छ । विशेष गरी मोटर वा मोटरसाइकल दुर्घटना, घर वा रुखबाट खसेर अथवा मेरुदण्डमा हुने क्षयरोग, पोलियो स्पीना बिफिदाजस्ता रोगका कारण मेरुदण्डमा चोट पुग्छ । मेरुदण्डमा चोट पुग्नासाथ यसले आफूले गर्नु पर्ने आधारभूत काम गर्न सक्दैन, अझ चोट सुषुम्नामै पुगेपछि चोट लागेको स्थानदेखि मुनिका सबै अंगमा सूचना प्रवाह हुन अवरुद्ध हुन्छ ।
सुषुम्नाको चोट ढाडको पीडा वा अन्य रोगभन्दा फरक प्रकृतिको समस्या हो । कतिपय अवस्थामा मेरुदण्डमा चोट पुगे पनि त्यसले सुषुम्नामा आघात नपुगेको भए ठूलो समस्या पर्दैन, तर मेरुदण्डको कुनै पनि भागमा चोट लागि त्यसले सुषुम्नामा चोट पुग्न गएमा त्यसको असर गम्भीर हुनजान्छ ।
सुषुम्नाको चोट मूलत दुई किसिमको हुन्छ । अर्द्ध आघात र पूर्ण आघात । अर्द्ध आघात लागेका बिरामीहरुको हात खुट्टा चल्ने वा अनुभूति हुने हुन सक्छ । तर पूर्ण आघात लागेमा भने आघात परेको भागभन्दा मुनि केही पनि सूचना मष्तिष्कसम्म पुग्दैन । अंग्रेजीमा यो अवस्थालाई क्वाटर प्लेजिया र प्याराप्लेजिया भनिन्छ । कतिपय व्यक्तिहरुको मेरुदण्डका कुनै पनि अंग (गर्दनसमेत) भाँचिए पनि सुषुम्नामा चोट पुगेको छैन भने उनीहरुले पक्षघातको सामना गर्नु पर्दैन । केही समयको बेड रेस्टपछि यस्ता व्यक्ति फेरि सामान्य अवस्थामा फर्कन सक्छन ।
वास्तवमा सुषुम्ना हड्डीहरुको औंठीभित्र सुरक्षित अत्यन्तै संवेदनशील नशाहरुको कोमल भाग हो । अंग्रेजीमा भर्टेब्रा भनिने हड्डीभित्र यो बगेको हुन्छ । मेरुदण्डको मूल हड्डीमा बढी चोट लागेको व्यक्तिले त्यतिनै बढी समस्या झेल्नु पर्छ । भर्टेब्रालाई त्यसको अवस्थितिअनुसार नामांकन गरिएको छ ।
७ सर्विकल भर्टेब्रा
१२ थोरासिक भर्टेब्रा
५ लम्बर भर्टेब्रा
५ फ्यूज्ड सर्कल भर्टेब्रा
गर्धनमा भएका आठ हड्डी जसलाई सर्वाइकल भर्टेब्रा भनिन्छ, यसमा चोट लागेमा हातदेखिकै अंगले काम गर्न छाड्छ । यसैलाई क्वाटरप्लेजिया भनिन्छ ।
डाक्टरहरुले सुषुम्नाको चोटको स्तरलाई एसिया ए, एसिया बी, एसिया सी र एसिया डी गरी चार भागमा बाँडेर विश्लेषण गर्ने गर्छन ।
चारै हात खुट्टाको पक्षघात (क्वाटर प्लेजिया):
सुषुम्नाको मूल बाटो अर्थात मतिष्कबाट निस्केर आएको घाँटीको हाड भाँचिएर त्यसले सुषुम्नामा आघात परेमा हात खुट्टासमेत चल्दैन । दिसा पिसाबबारे कुनै सूचना शरीरले थाह पाउँदैन ।
कम्मरमुनिको पक्षघात (प्याराप्लेजिया):
छातीदेखि पुछ्रे हाड -चाके हाड)सम्म कुनै पनि भागको मेरुदण्डमा चोट लागेर सुषुम्नामा चोट पुगेमा त्यसभन्दामुनिको सम्पूरण अंगमा पक्षघातको अवस्था हुनजान्छ । दिसा पिसाबमा नियन्त्रण हुँदैन ।
मेरुदण्डको बनावट
सुषुम्नाको बनावट
मेरुदण्डको प्रमुख तीन काम हुन्छन
* सुषुम्ना, तथा शरीरका आन्तरिक अवयवको सुरक्षा गर्नु
* शरीरलाई सिधा बनाइरहनका लागि ढाँचागत सहायता र संतुलन उपलब्ध गराउनु
* गतिशीलतामा लचीलोपन बनाइरहनु
मेरुदण्डको हड्डीका क्षेत्र
सामान्यतया मेरुदण्डका हड्डीहरुलाई चार मुख्य क्षेत्रमा विभाजित गर्ने गरिन्छ: सर्वाइकल (गर्दन), थोरासिक (छाती), लम्बर (ढाडको तल्लो भाग) र सेक्रल (पुछ्रे/चाके हाड)
सर्वाइकल स्पाइन
मेरुदण्डक हड्डीको गर्दनको वरपरको भाग सर्वाइकल स्पाइन भनिन्छ । यो क्षेत्रमा सात टुक्रा हुन्छन, यसलाई C1 देखि C7 भनिन्छ । यी हड्डीका टुक्राले मस्तिष्कलाई सुषुम्नासँग जोडने भाग र सुषुम्नाको रक्षा गर्छन । टाउकोलाई सहारा दिन्छन र टाउको यताउता चलाउन सहयोग गर्छन ।
थोरासिक स्पाइन
गर्दनको अन्तिम भागको ठीकमुनिबाट थोरासिक स्पाइनको १२ वटा हड्डीको सृङ्खला हुन्छ । यसलाई माथिबाट तलसम्म T1 बाट T12 भनिन्छ । T1 सबैभन्दा सानो र T12 सबैभन्दा ठूलो थोरासिक हड्डी हो । थोरासिक सृङ्खलाका सर्वाइकल हड्डिहरुभन्दा ठूला हुन्छन । यो भाग छातीसँग पनि जोडिएको हुन्छ । करङसँग पनि जोडिएकाले यो भाग केही बलियो हुन्छ ।
लम्बर स्पाइन
लम्बर स्पाइनमा ५ वटा हड्डीका टुक्रा हुन्छन जसलाई L1 देखि L5 ले चिनिन्छ । यसका प्रत्येक हाडका आकार-प्रकार यसरी डिजाइन गरिएको हुन्छ कि शरीरको अधिकांश भार उठाउन सकोस । लम्बरका हड्डीका प्रत्येक संरचना तत्त्व, सर्वाइकल और थोरासिक क्षेत्रमा रहेका त्यसका बराबर अन्य मेरुदण्डका हड्डीका तुलनामा केही मोटो ठूलो र फराकिलो हुन्छ । । सेक्रल स्पाइन सक्रम कम्मरको ठीक मुनि हुन्छ। पाँच हड्डि (S1 बाट S5) त्रिकोणीय आकारमा आपसमा जोडिएका हुन्छन ।
स्वास्थ्य व्यवस्थापन
नेपालमा स्पाइनल इन्जुरी अर्थात मेरुदण्डको चोटबाट अहिलेसम्म १५००० भन्दा बढी नेपालीहरु प्रभावित भइसकेका छन् । नेपालजस्तो मुलुकमा अहिलेसम्म मेरुदण्डको चोट र त्यसको प्रभावबारे सही सूचना प्रवाह हुन सकेको छैन । हरेक वर्ष ५०० नेपालीलाई मेरुदण्डको समस्या पर्ने गरेको छ । अधिकाङ्स नेपालीहरु रुखबाट खसेर वा घरको माथिल्लो तलाबाट खसेर मेरुदण्डको चोटबाट ग्रसित हुने गरेका छन । नेपालमा मेरुदण्ड /सुषुम्नाबारे स्पेशलाइजेशन गरेका डाक्टरहरुको अभाव छ । हाडजोर्नी वा स्नायु सम्बन्धी डाक्टरले नै यस्ता बिरामी पनि हेर्ने गरेका छन । वास्तवमा यो दुबैसँग सम्बन्धित गम्भीर समस्या हो ।
दुर्घटनामा परेको ८ घण्टाभित्रमा Methylprednisolone (Medrol) को इन्जेक्सन लगाउन सकिएमा सुषुम्नाले पुन काम गर्नसक्ने सभावना रहन्छ । तर नेपालमा यसबारे त्यति जानकारी नहुँदा यो इन्जेक्सन कमैले मात्र प्रयोग गरिरहेका छन । दुर्घटनास्थलबाट बिरामीको टाउकोदेखि कम्मरको भाग नचल्ने गरी विशेष रुपमा सुताएर अस्पतालसम्म पुर्याउने व्यवस्था गर्नु पर्छ ।
मेरुदण्डको चोट लागिसकेपछि स्वास्थ्यको ब्यवस्थापन महत्वपूर्ण कुरा हो । यस्ता विरामीलाई सही ढगले पुनर्स्थापना गर्नु पर्छ । सबै उपकरण र विशेषज्ञसहितको पुनर्स्थापना केन्द्र नभए पनि बनेपा र पोखरामा पुनर्स्थापना केन्द्रहरु छन । यी पुनर्स्थापना केन्द्रहरुमा स्वास्थ्य व्यवस्थापनबारे आधारभूत कुरा र व्हिलचेयर चलाउन सिकाइन्छ । सुषुम्नामा अर्ध चोट लागेका व्यक्तिहरु पुनर्स्थापना प्रकृयामै फेरि हिड्न पनि सक्छन । सामान्यत सुषुम्नामा अर्ध चोट लागेका व्यक्तिहरु १८ महिनासम्म सामान्य अवस्थामा फर्कने सम्भावना रहन्छ ।
ओच्छयाने घाउ (बेड/प्रेसर सोर)
एकै स्थानमा लामो समयसम्म बसिरहेका कारण छालामा दबाब परेर उत्पन्न हुने घाउ नै ओच्छ्याने वा दबाबी घाउ हो । सुरुमा छालाको कुनै भाग दबिएर रातो बन्ने र पछि विस्तारै छालामा घाउ बनेर मासुको भाग हुँदै हड्डीसम्म पुग्ने अवस्था आउन पनि सक्छ । नेपालमा अधिकांस सुषुम्नाका चोटका विरामीहरु यस्तै समस्याका कारण मृत्युको मुखसम्म पुगेको पाइन्छ ।
लामो समयसम्म एउटै अवस्थामा बसिरहेमा वा एकै अवस्थामा सुतिरहेमा त्यसको दबाबले रगत सबै कोषिकामा पुग्न पाउँदैन र दबाब परेको सम्बन्धित भागको कोषिका मर्न थाल्छ । सामान्य अवस्थामा स्नायुले यो अवस्थाको सूचना मतिष्कसम्म पठाउँछ र आम मानिसले आफ्नो बसाई वा सुताईको अवस्थितिमा परिवर्तन गर्न सक्छन, तर सुषुम्नामा पुगेको क्षतिले स्नायु प्रणालीले सही ढंगले काम गर्न पाउँदैन र स्नायुले पठाएको सूचना मतिष्कसम्म पुग्दैन ।
त्यही भएकाले सुषुम्नाको चोट लागेका व्यक्तिहरुले आफ्नो अवस्था परिवर्तन गर्ने तरिका सिक्न जरुरी छ । उदाहरणका लागि व्हीलचेयरमा बस्नेहरुले हातको बल प्रयोग गरेर हरेक ३० मिनेटमा ३० सेकेन्ड उठ्न जरुरी छ । यदि छालामा देखिएको रातोपन ३० मिनेटमा पुनः पूर्वावस्थामा नआएमा ओच्छाने/दबाब घाउ भएको अनुमान गर्न सकिन्छ ।
सुषुम्नामा चोट लागेका व्यक्तिहरुलाई विशे ष गरी ओच्छाने घाउबाट बचाउनु पर्छ । अन्य सामान्य मानिसहरुभन्दा सुषुम्नाको चोट लागेका व्यक्ति फरक हुने भएकाले हरेक ३० मिनेटमा ३० सेकेन्डका दरले उभ्याउने (हातको बल प्रयोग गरेर आफै उभिने) सुत्दा २/२ घण्टामा कोल्टे, उत्तानो र कोल्टे फर्कने वा फर्काउने गरिरहनु पर्छ ।
प्रारम्भिक हेरचाहः
- यस्तो अवस्थामा दबाब नपर्ने गरी बसाई/सुताईको अवस्था परिवर्तन गर्ने ।
- घाउलाई सफा राख्ने । सरसफाईमा विशेष ध्यान दिने । विस्तारै किटाणुरहीत बनाउन साबुन र मनतातोपानीले धुने र किटाणुरहीत झोल -डिटल, बेटाडिनजस्ता)ले सफा गरे अझ राम्रो
- खानपिनमा ध्यान दिने, विशेष गरी पर्याप्त प्रोटिन, क्यालोरी।भिटामिन ए, सी, जिंक र आइरनप्राप्त हुने खानामा ध्यान दिने । स्वस्थ छालालाई यी तत्वहरु आवश्यक छन ।
- आफूले प्रयोग गर्ने ओच्छ्यान, व्हीलचेय कुसन, ओच्छ्यान/कमोट स्थान्तरणमा विशेष ध्यान दिने
- यदि घर्षणका कारण घाउ भएको हो भने घाउको ड्रेसिङमा विशेष ध्यान दिने
- यति गरेर पनि घाउ कम नभएमा तत्काल स्वास्थ्यकर्मीहरुको सहयोगमा ड्रेसिङ गराउने
पिसाबसम्बन्धी समस्या
शरीरको मुत्रप्रणालीमा प्रमुख अंगहरुले काम गर्छन । मृगौलाले पिसाब बनाउँछ । युरिनरी ब्लाडर -मुत्राशय)ले पिसाब जम्मा गर्छ र मुत्रमार्ग -युरेथ्रा)मारफत बाहिर पठाउँछ । मृगौलाले शरीरमा जम्मा भएको खराब पानी र रगतलाई छानेर पिसाब बनाउँछ । मृगौलाले नलीहरुमार्फत मुत्रासयमा पिसाब पठाउँछ । मुत्रासयलृ अस्थाई रुपमा पिसाब जम्म गरेर राख्छ । मुत्रासयको मांसपेशीहरु यसरी बनेका हुन्छन कि यसमा दुई कप पिसाब जम्मा भएर बस्छ । जब यी मांसपेशी खुम्चिन्छन, तब पिसाब मुत्रनली हुँदै बाहिर निस्कन्छ ।
तर सुषुम्नाको चोट लागेका व्यक्तिका लागि भने यो प्रकृयाले सामान्य ढंगले काम गर्न सक्दैन । सुषुम्नाको अन्तिम भागमा रहेको स्नायुले मुत्रप्रणालीले कसरी काम गर्ने हो भनेर नियन्त्रण गरिरहेको हुन्छ । तर सुषुम्नाको चोटले मृगौलाको पिसाब संकलन गर्ने र मुत्रासयमा जम्मा हुने कामलाई भने अवरुद्ध तुल्याउँदैन । सुषुम्नाको चोटपछि स्नायुले मुत्रथैली र त्यसभित्रको मांसपेशी तथा मष्तिष्क बीचको सूचना आदानप्रदानमा समस्या उत्पन्न गर्छ । जसका कारणले सहज ढंगले पिसाब आउने क्रम रोकिन्छ । सामान्य भाषामा भन्नु पर्दा मुत्रथैली भरियो, अब पिसाब फेर भन्ने सूचनानै मतिष्कले लिने र मतिष्कले सम्बन्धित अंगलाई त्यसको आदेश प्रवाह गर्न सक्दैन ।
व्यवस्थापनः
यसरी शरीरले स्वतः मुत्राशय खाली गर्न नसक्ने अवस्थामा ब्लाडर व्यवस्थापन प्रणालीसँग परिचित हुनु जरुरी छ । यो प्रणालीबाट मुत्रथैलीलाई नरम पाइप -क्याथेटर)को माध्यमबाट खाली गरिन्छ । यसबाट पिसाबसँग सम्बन्धित दुर्घटनाबाट बच्न र संक्रमण रोक्न मद्दत पुग्छ ।
मेरुदण्डमा परेको चोटको स्तरले डाक्टरहरुलाई पिसाबको व्यवस्थापन कसरी गराउने भन्ने भर पर्छ । किनकी हरेक व्यक्तिको चोटको स्तर फरक हुन्छ, त्यसैले डाक्टरहरुले मुत्रथैलीले कसरी काम गरिरहेको छ भन्ने पत्ता लगाउनका लागि केही परिक्षण गर्नु पर्छ, तर बिडम्बनाको कुरा नेपालमा पिसाबसम्बन्धी विशेषज्ञ थोरै मात्र छन ।
सुषुम्नाको चोट लागेका व्यक्तिलाई दिसा पिसावको अनुभव हुन नसक्ने भएकाले सेल्फ क्याटेटर गरेर हरेक तीन चार घण्टामा पिसाब फेर्ने फेराउने गरिन्छ यसका लागि पुनर्स्थापना केन्द्रहरुमा पनि सिकाइन्छ । विशेष गरी गर्दनको हाड भाँचिएका व्यक्तिको पिसाब रोकिएर रक्त प्रवाहमा समेत असर परी अनुहार रातो हुने टाउको दुख्ने समस्या देखा परेमा तुरुन्त अस्पताल लगिहाल्नु पर्छ ।