ह्विलचेयरमा बसेर पुस्तक लेखन

December 18, 2016

शेरबहादुर सिंह

भीमदत्तनगर, ३ पुस । शारीरिक रुपले अशक्त भई ह्विलचेयरको सहारामा बाँचिरहेका मदन पुरस्कार बिजेता नरबहादुर साउद झन्डै एक दशकयता विभिन्न पुस्तक लेखनमा सक्रिय हुनुहुन्छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ पशुपति टोलमा वृद्ध बुबा–आमाको सहारामा दैनिकी चलाइरहनुभएका ५४ वर्षीय साउद दैनिक ह्विलचेरको सहारामा हिँड्डुल र ओछ्यानमा आराम गर्नुमा मात्रै होइन अधिकांश समय पुस्तक लेखनमै तल्लिन हुनुहुन्छ छ । विंस २०६६ मा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार पाउन सफल साउदले लेखन कार्यलाई नै निरन्तरता दिँदै आउनुभएको छ ।

“मेरो पीडाको संसार देखेर देशकै गरिमा बोकेको मदन पुरस्कार पाउँला भन्ने सोचेकै थिइन”, साउदले भन्नुभयो–“लगनशील भएर परिश्रम गरे नाम र दाम दुवै मिल्दो रहेछ ।” पुरस्कारलाई पीडाको मलमका रुपमा लिएको उहाँ बताउनुहुन्छ । “दुःखको जीवन पुस्तक लेखनमा गुजारिरहेको छु”, उहाँले भन्नुभयो–“लेखन अहिले मेरो जागिर जस्तै भएको छ ।” २६ वर्ष अघि दुग्ध संस्थानमा कार्यरत रहेकाबखत बुटवलबाट सुर्खेत आउँदै गर्दा संस्थानको ट्याङ्कर कुसुममा दुर्घटनाग्रस्त हुँदा साउदको मेरुदण्ड नै काम नलाग्ने भयो ।

नेपाल–भारतका विभिन्न अस्पतालमा महिनौँसम्मको उपचारबाट पनि निको नभएपछि प्यारापिलेजिया भएको चिकित्सकले बताए त्यसछि बाँकी दिन ह्विलचेयरकै सहारामा बाँच्नु प¥यो । “दुर्घटनामा परेपछि केही वर्ष निकै उदास भएर जीवन बिताए”, बैतडीको रिम गाविस–३ बण्डामा २०१९ सालमा जन्मिनुभएका साउदले भन्नुभयो–“त्यो घटनापछि किताब लेख्ने थालेकाले त्यतैतिर ध्यान केन्द्रित भयो ।” साझा प्रकाशनले प्रकाशित गरिदिएको उक्त पुस्तकले मदन पुरस्कार पाएपछि आफूलाई लेखनमा थप प्रोत्साहन मिलेको उहाँ बताउनुहुन्छ ।

पुस्तक लेखनलाई निरन्तरता दिन लेखक साउदले एक दशक पछि अर्को ‘च्याउ खेती’ नामक पुस्तक सार्बजनिक गर्नुभयो । “यो दोस्रो पुस्तक लेख्न एक दशकभन्दा बढी नै समय लाग्यो”, उहाँले भन्नुभयो–“फेरि ‘उन्नत खेती’ नामक किताब लेख्दैछु ।” उहाँले चाँडै प्रकाशित हुने यो पुस्तक भने विद्यालयस्तरको पाठ्यक्रमका लागि उपयोगी हुने बताउनुभयो । “ओछ्यानमा छाती र हातको कुहिनाको भरमा सुतेर मात्रै कम्प्युटर चलाउन सक्छु ।” साउदले भन्नुभयो–“पहिले त सुतेरै दैनिक १५÷१६ घन्टासम्म लेख्थे अहिले स्वास्थ्यका कारण लामो समय त्यसरी लेख्न सक्दिन ।”

पहाडमा रहँदा प्रवेशिकासम्मको अध्ययनमा पनि निकै उतार चढाव झेल्नु परेको साउदले भारतको हिमाञ्चल प्रदेशको कृषि विश्वविद्यालयबाट बिएससी गर्नुभएको थियो । उहाँले भन्नुभयो– “दुर्घटनाको केही समयपछि श्रीमतीले साथ छोडिन्, केही समयअघि भाइको पनि हृदयघातका कारण निधनले सिङ्गो परिवार नै अपाङ्ग जस्तै बनाएपनि बहिनी र ८६ वर्षीय वृद्ध बुबा धनबहादुर र ८४ वर्षीय आमा धर्मादेवीले हेरचाह गरिरहेका छन् ।”

परिवारमा अनेक प्रकारको समस्या भएपनि लेखन यात्रालाई अगाडि बढाउँन इन्टरनेटको सहायतामा थप अध्ययन गर्ने गरेको गरेको र स्कुटरको सहारामा भीमदत्तनगर बजारसमेत आवतजावत गर्दै आएको उहाँले बताउनुभयो । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!