भूकम्पले मानसिक विकृति बढायो

July 18, 2015

सजना तिमल्सिना/उज्यालो । काठमाडौं – भूकम्प बढी प्रभावित जिल्लामा मानसिक विकृति बढेको विभिन्न अध्ययनले देखाएको छ । भूकम्प गएको तीन महिना हुन लाग्दा पनि सामान्य अवस्थामा फर्कन नसकेकामा यो समस्या देखिन थालेको हो ।

मनोविमर्शकर्ता जमुना महर्जनका अनुसार बेहोस हुने, बेहोसी अवस्थामै चिच्याउने, कराउने, बर्बराउने लगायतका समस्यालाई मानसिक विकृति भनिन्छ । यो अहिले भूकम्प बढी प्रभावित जिल्लाका वयस्क र बालबालिकामा धेरै देखिएको छ । लामो समयसम्म विभिन्न प्रकारका समस्यामा पर्दा यस्ता समस्या देखिनु स्वभाविक भएको उहाँले बताउनुभयो ।

मनमा कुरा गुम्स्याएर राख्दा मानसिक विकृति हुने भएकाले आफ्नो कुरा अरुसँग साट्न उहाँले आग्रह गर्नुभयो । विशेषगरी परिवारका सदस्यले पनि बालबालिकाको समस्या बुझेर समाधान गर्न सहयोग गर्नुपर्नेमा मनोविमर्शकर्ता महर्जनको जोड छ ।

उहाँका अनुसार यो समस्या बालकमा भन्दा पनि बालिकामा बढी देखिएको छ । महिनावारीको बेलामा भएको समस्या अरुसँग साट्न नसक्दा उनीहरुमा समस्या बढिरहेको देखिएको हो ।  त्यसैले उनीहरुलाई होच्याएर बोल्ने, गिज्याउने भन्दा पनि उनीहरुको समस्या समाधानमा सबैजना जुट्नुपर्नेमा मनोविमर्शकर्ताको जोड छ । उनीहरुको राम्ररी स्याहार गरेर सहयोग गर्दा पनि मानसिक विकृति कम हुने मनोविमर्शकर्ता महर्जनले बताउनुभयो ।

भूकम्प जस्ता प्राकृतिक विपत्तिपछि यस्ता समस्या देखिनु स्वभाविक भएको उहाँको भनाई छ । विपत्तिको सामना गर्ने क्षमता कम भएकालाई यो समस्या देखिन्छ । तर समाज र परिवारको सहयोगले समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो । अरु मानसिक रोगको उपचार संभव भएपनि यसको कुनै उपचार नभएकाले मनोविमर्श आवश्यक रहेको महर्जनको भनाई छ । लामो समयसम्म यस्ता समस्या देखिए विद्यार्थीले पढाई नै छाड्ने भएकाले समयमै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

बालबालिका बेहोस हुने, बेहोस अवस्थामै चिच्याउने, कराउने, बर्बराउने गर्दा धामीझाँक्रीकोमा लैजाने गरिएकाले यसलाई निरुत्साहीत गर्नुपर्नेमा मनोविमर्शकर्ताले जोड दिएका छन् । भूकम्प गएको एक महिनापछि थोरैमा मात्र यो समस्या देखिएकोमा अहिले बढ्दै गएको अध्ययनले देखाएको छ ।

एकजनामा यो समस्या देखिएपछि कमजोर बनेका अरुमा पनि यसको प्रभाव पर्ने देखिएको मनोविमर्शकर्ताले बताएका छन् । यसबाट बाहिर निस्कन आफ्नो समस्या पहिचान गरी नजिकैमा व्यक्तिसँग साट्ने, त्यो गर्दा पनि समस्या समाधान नभए मनोचिकित्सक, मनोविद् वा मनोविमर्शकर्तासँग छलफल गर्न सकिन्छ ।

साभार  उज्यालो अनलार्इन

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!