दृष्टिविहिन विद्यार्थी शतप्रतिशत प्रथम श्रेणीमा उत्तीर्ण

June 21, 2015

 

दृष्टिविहिन विद्यार्थी शतप्रतिशत प्रथम श्रेणीमा उत्तीर्ण

रोहित राई धरान-इनरुवा नगरपालिका ३ सुनसरीका जयनारायण ठाकुर चार महिना हुँदा निकै विरामी परे। चिकित्सकले बचाउन सकिन्छ कि सकिंदैन भनेर भन्नै सकेनन्। जयनारायाणको क्रमशः आँखाको ज्याति गुम्दै गयो। छोरा(जयनारायण) लाई बचाउन सकिएला भन्ने उनको अभिभावकलाई त्यतिबेला लागेकै थिएन। जयनारायणले जीवन त पाए तर आँखाको ज्योति भने गुमाए।

तिनै जयनारायणले यतिबेला परिवारजनलाई असिम खुशी दिलाएका छन्। शुक्रबार सार्वजनिक एसएलसी नजितामा उनी प्रथम श्रेणीमा उर्तीण भए। उनी ६६.६२ प्रतिशत ल्याएर पास भएका छन्। ‘आशा गरेअनुसार नै फष्ट डिभिजनमा पास भए, आमा बुबा सबै खुशी हुनुभएको छ। म पनि धेरै खुशी छुँ’–आइतबार मोवाइल सम्पर्कमा जयनारायणले भने। भविष्यमा उनी धरानमा बसेर अंग्रेजी बिषय लिएर उच्चशिक्षा अध्ययन गर्न चाहन्छन्। जयका बुबा गणेशप्रसाद ठाकुर छोराले नाम राखेको भन्दै गर्व गर्छन्। ‘छोरा फष्ट डिभिजनमा पास भएछ, हामी धेरै खुशी छौं’–उनले बाल्यकाल सम्भ्झदै भने–’चार महिनाको हुदा आँखा देख्न छोड्यो, बाँच्छ कि बाँच्दैन भन्ने थियो, तर अहिले यही छोराले धेरै खुशी दिलायो।’

जयनायराण र उनको परिवारजन मात्रै होइन, यतिबेला धरान १५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयबाट एसएलसी परीक्षा दिएका सबै दृष्टिविहिन विद्यार्थी र उनको अभिभावकहरुमा खुशी छाएको छ। यो विद्यालयबाट एसएलसी परीक्षा दिएका सत प्रतिशत विद्यार्थीहरु प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्। उक्त विद्यालयबाट तीन छात्र र ६ जना छात्राले एसएलसी परीक्षा दिएका थिए। ‘छोरी पनि खुशी छ, ऊ भन्दा धेरै हामी खुशी छौं। उसले भनेअनुसार नै पढाउछौं’–प्रथम श्रेणीमा उत्तीर्ण झापाकी सुजता लिम्बूकी आमा टिकामायाले भनिन्।

विद्यालय शिक्षाका अनुसार परीक्षार्थीमध्ये सोनमती गाढा गाविस ५, सिराहाका रमेशकुमार शाहले ७७.१२ प्रतिशत अंक ल्याएर विद्यालय टप गरेका छन् भने खुदुनाबारी ३ झापाकी सुजता लिम्बूले ७१.३७ प्रतिशत ल्याएकी छिन्। यस्तै, पाँचथरीकी मुना भटराईले ६८.६२ प्रतिशत, ओखलढुंगाकी कविता श्रेष्ठले ६८.६२ प्रतिशत, ताप्लेजुङका सुभाष लिम्बूले ६८ प्रतिशत, भादगाउँ सुनसरीका कञ्चनकुमारी चौधरीले ६७.१२ प्रतिशत, इलामकी रीता सुब्बाले ६५.३७ प्रतिशत र मध्यहर्षही सुनसरीकी शोभा कुमारी मेहताले ६७.६२ प्रतिशत अंक ल्याएर उर्तीण गरेकी छिन्।

विद्यालयकी प्रअ केशरी थापाले सतप्रतिशत विद्यार्थी प्रथम श्रेणमीमा उर्तीण भएपनि ब्रेल लिपीमा परीक्षा दिन नपाउँदा विशिष्ट श्रेणी ल्याउनबाट भने बञ्चित हुनुपरेको बताइन्। ‘स्कुल टप गरेको विद्यार्थी रमेशले जहिल्यै स्कुलको परीक्षामा ८५ भन्दा बढी अंक ल्याउथ्यो, उसले डिस्टिङसन ल्याउनुपर्ने हो’–प्रअ थापाले भनिन्–’सहयोगीको भरमा परीक्षा दिनुपर्ने व्यवस्थाले दृष्टिविहिन विद्यार्थीहरु मारमा पर्दैआएका छन्, उनीहरुले ब्रेल लिपीमा आफै परीक्षा दिनपाउने हो भने डिस्टिङ्सन ल्याउन सक्छन्।’ एसएलसी परीक्षामा दृष्टिविहिन विद्यार्थीहरुले सहयोगीको भरमा परीक्षा दिनुपर्छ। सहयोगी र परीक्षार्थीबीच राम्रो समन्वयन नभइदिदा समस्या हुने गरेको प्रअ थापा बताउछिन्। यो विद्यालयले ०६९ सालदेखि एसएसली परीक्षामा विद्यार्थीहरु सहभागी गराउन थालेको हो। हरेक बर्ष नै शतप्रतिशत विद्यार्थी उतीर्ण हुदै आएका छन्। पहिलो बर्ष १० जनाले परीक्षा दिएकोमा ९ जना प्रथम र एक जना दोस्रो श्रेणीमा उर्तीण गरेका थिए भने दोस्रो बर्ष १२ जनाले परीक्षा दिएकोमा १० जना प्रथम श्रेणी र २ जनाले दोस्रो श्रेणीमा उतीर्ण भएका थिए।

साभार  http://nagariknews.com

Comments

2 Comments on दृष्टिविहिन विद्यार्थी शतप्रतिशत प्रथम श्रेणीमा उत्तीर्ण

  1. पर्वते कान्छाे on Mon, 22nd Jun 2015 10:42 pm
  2. किन दृस्टिविहिन मात्र । बहिरा र अन्य अपाङ्गता भएका भाई बहिनिहरु पनि सत प्रतिशत उत्तिर्ण भएका छन् ।

  3. पर्वते कान्छाे on Mon, 22nd Jun 2015 10:43 pm
  4. बधाई तथा उत्तरोत्तर प्रगतिको कामना ।

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!