अपांग-मैत्री वातावरण

December 10, 2014

अरुना छन्त्याल          

‘आ ! हिंड्न नसक्ने मान्छेको मर्का कसले बुझ्छ ? कसैले बुझ्दैन, बरु चुप लागेर थपक्क घरभित्र बस्, बाहिर डुलेर दुनियाँको रमिते हुनुभन्दा घरभित्रै बस्नु

Hellen Kellerजाती..’ पहिले-पहिले मेरी ममीले यस्तै भन्नुहुन्थ्यो र मलाई पनि होजस्तो लाग्थ्यो अनि त्यसैले म घरभित्रै गुम्सेर बस्थें तर ममीले छोडेर गएपछि मलाई घरमै गुम्सिन मन लागेन र बाहिर चियाउन थालें | विभिन्न अपांग संघ-संस्था र आफूजस्तै थुप्रै साहसी मित्रहरुलाई भेटेपछि मेरो ‘कुवाको भ्यागुतो’सरहको संकुचित सोंच हट्यो | अचेल त हाम्रा मर्का धेरैले नबुझेपनि थुप्रैले बुझ्छन् र नबुझ्नेलाई आवाज उठाएर भएपनि बुझ्न झक्झकाउनुपर्छ भन्ने सोंचको विकास ममा भइसकेको छ |

सन्दर्भ गएको डिसेम्बर २ गतेका दिन भएको अपांगता सम्मेलनको हो | बागबजारको होटेल हार्दिकमा भएको त्यस सम्मेलन ‘अपांग-मैत्री पूर्वाधार निर्माणका लागि नीति-निर्माणमा सुधारको जरुरी छ’ भन्ने विषयमा केन्द्रित रहेछ | पत्रकार पल्लव पन्त दाज्यैले त्यहाँ मलाई पनि निम्तो दिनुभएको थियो र त्यस्तो कार्यक्रममा म पनि सरिक हुन पाउँदा असीम खुशी लाग्यो |  मलाई जहाँ पनि व्हिल्चियर नगुड्ने बाटो,पसल ट्वाइलेट देख्दा हाम्रो मर्का ती पूर्वाधार निर्माण गर्नेहरुले पनि बुझिदिए हुन्थ्यो….(तर कसले बुझ्न खोज्छ र ?) जस्तो लाग्थ्यो तर त्यस सम्मेलनमा देखें कि सम्बन्धित व्यक्तिहरुमा चेतनाको बीजारोपण भइसकेको रहेछ जसको श्रेय म अपांगलाई पनि मानवको दर्जाबाट हेरी उसका हक-अधिकार सुनिश्चित हुनुपर्छ भनी आवाज उठाउने मेरा साहसी मित्रजनहरुलाई दिन्छु |

सो सम्मेलन अमेरिकी राजदूतावासले डिस्एबिलिटी मिडिया फाउन्डेशनको सहकार्यमा गरेको थियो | कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाहरुले (अमेरिकी दुतावासक डिप्युटी चिफ अफ मिसन, भौतिक पूर्वाधार इन्जिनियर, महिला-बालबालिका तथा समाज-कल्याण मन्त्रालयकी सहसचिव, सभासद, वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक, पर्यटन व्यवसायी, ट्रान्सपोर्ट प्रोजेक्टका प्रमुख, राष्ट्रिय अपांग संघका प्रतिनिधि, स्पाईनल रिहाबिलिटेसन सेन्टरका अध्यक्ष, नेपाल पत्रकार संघका सचिव, राजनीतिक संजालका प्रतिनिधि आदि)  बोलेका थिए | त्यसमध्ये ट्रान्सपोर्ट प्रोजेक्टका प्रमुखले दिएका प्रेजेन्टेसन मलाई एकदम मनपर्यो, बाटोघाटो,सडक-पेटी हामी व्हिल्चियर प्रयोगकर्ता र सेतो छडी प्रयोगकर्तालाई पनि सहज हुने किसिमको बनाउनुपर्छ भन्ने उहाँको विचार मनपर्यो साथै त्यहाँ उपस्थित सबैले हाम्राबारेमा बोलिदिएकोले मलाई औधि खुशी लाग्यो | पहिलेजस्तो हाम्रो मर्का कसैले बुझ्न खोज्दैन भन्ने संकुचित सोंच हट्यो |

हामीलाई पनि घुम्न मन लाग्छ, सधैंभरी घरभित्र किन गुम्सिनु ? हामी पनि बाहिर डुल्छौँ ताकि सबले थाहा पाउन् कि यो संसार हाम्रो पनि हो | नेपालजस्तो विकासशील राष्ट्रमा झट्टै युरोप अमेरिकामाजस्तो आमूल परिवर्तन त नहोला तर बिस्तारै-बिस्तारै हरेकको प्रयासबाट परिवर्तन सम्भव छ | आज तपाई सद्दे नै भएपनि के थाहा भोलि कुनै रोग वा दुर्घटनाले तपाई वा तपाईला छोराछोरी पनि अपांग होलान् | त्यसैले घर बनाउनुभन्दा अघि नैIMG_6155 दूरदर्शी बन्नुहोस् ताकि भविष्यमा पछुताउनु नपरोस् | मलाई वर्ल्ड ट्रेड सेन्टर र एकता बुक हाउसको लिफ्ट चढ्दा अनि तिलगंगा अस्पताल डुल्दा अपांग-मैत्री वातावरण असम्भव छ भन्ने सोंच टाढा भएजस्तो लाग्यो र म चिडियाखाना, फन पार्क वा बालाजु पार्क तथा सिनेमा हल पनि अपांग-मैत्री होस् भन्ने चाहन्छु |

जोरपाटीका एकजना व्हिल्चियर प्रयोगकर्ता दाइले एकपल्ट बाटो काट्दा एउटा गाडी चालकले त ‘यस्तो मान्छे किन बाहिर निस्किनुपर्यो ? थपक्क घरभित्र नबसेर…’ भन्यो | यस किसिमको मानसिकतामा परिवर्तन आउनु जरुरी छ | प्राण भएको मान्छे हौँ हामी पनि, पशुलाई त एकै ठाउँ बाँधेर राख्यो भने आत्तिएर कराउँछ भने हामी हिंड्न सकिन्न भनेर के कैदीझैं घरको पर्खालभित्र मात्र बस्नु त ? अहँ होइन, खुट्टा नचले पनि हामीले हातले वा दिमागले केही न केही गर्न सक्छौं | मेरा थुप्रै मित्रहरुले सार्वजनिक बसमा अपांगलाई आरक्षण र छुटको माग गरी दबाब दिएकोले अहिले यो साँच्चै लागु भएको छ तर केही सम्बन्धित व्यक्तिका संकुचित सोंचका कारण यो नियम पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन | व्हिल्चियरमा बसेको मान्छेले हात हल्लायो भने बस चालकले बस नै रोक्दैन अनि दृष्टिविहीन वा वैशाखी प्रयोगकर्ताहरुलाई छुट दिन धेरैले आनाकानी गर्छन् | एकपल्ट मेरा मित्र ‘केशव’लाई कतै जानुपरेछ | उनी व्हिल्चियरमा देखेर बसको खलासीले लान मानिरहेको थिएन रे, तै उनले बुद्धि पुराएर ट्राफिक पुलिसलाई पहिल्यै नै खबर गरिदिएका रहेछन् अनि एकजना पुलिस त्यतिबेलै आएर ‘अपांगलाई सार्वजनिक बसमा आरक्षण छ’ भन्ने कुरा तँलाई थाहा छैन ?’ भनेर हप्काउँदै गालामा एक चड्कन दिएछन् अनि बल्ल केशवलाई बसमा चढ्न दिएछन् | समग्र ट्राफिक पुलिसमा चेन अफ कमाण्डका कारण अपांगता सम्बन्धि चेतना जागेझैं अब सबै यातायात व्यवसायीहरुमा पनि यो चेतना प्रवाहित हुनुपर्छ |

हाम्रो देश घुम्न असंख्य पर्यटकहरु आउँछन्, पर्यटक सबै सद्दे नै हुँदैनन् | नेपालकै मजस्तो मध्यम वर्गीय अपांगलाई त कता-कता घुम्न मन लाग्छ भने विदेशका हुने-खाने अपांगलाई पनि पक्कै घुम्न मन लाग्छ | त्यसैले पर्यटक बस्ने होटेलहरु पनि अपांग-मैत्री हुनुपर्ने आवश्यकता छ | यही आवाजलाई अमेरिकी नागरिक स्कट रेन्सले पोहोर नेपाल आएर उठाएका थिए ।यसै क्रम लार्इ जेड्दै बागबजारको होटेल हार्दिकले अपांग-मैत्री ट्वाइलेट र सभा-कक्षको निर्माण गर्यो | होटलले सुरुमा आफैं सभा-कक्षसम्म जाने र्याम्प बनाएको रहेछ तर पछि इन्जिनियर अनन्त राम वैद्यज्यु सित सम्पर्क गरेपछि त्यो र्याम्प अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको थाहा हुन आयो अनि होटेल संचालकले त्यसलाई पुन-निर्माण गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाए | त्यहाँ ग्राउण्ड फ्लोरमा पहिले एक्सेसिबल ट्वाइलेट थिएन, त्यसैले त्यो पनि होटेलले निर्माण गर्यो र सभा भएकै दिन मेरै हातबाट रिबन काटेर उद्घाटन गरियो | होटेलको यो कदम सह्रानीय छ जसले गर्दा अब बिस्तारै नेपालमा पनि व्हिल्चियर प्रयोगकर्ता पर्यटक नओइरेलान् भन्न सकिन्न |

तब म कहिलेकाहीं कल्पनाको सागरमा पौडी खेल्छु; एउटा अपांग-मैत्री होटेल, त्यसको म्यानेजर व्हिल्चियर प्रयोगकर्ता र रिसेप्सनिष्ट पनि व्हिल्चियर प्रयोगकर्ता अनि पाहुना पनि व्हिल्चियर प्रयोगकर्ता वाह ! अनि फेरि मेरो मनको चरी उडेर सगरमाथा पुग्छ | सगरमाथाको वरिपरिको दृश्यलाई कल्पनाको शब्दले टिपेर मैले एउटा सानो पुस्तक त लेखें तर अफसोस भनौं म त्यहाँसम्म साँच्चैको पुगेकी छैन | त्यसबेला अचानक मेरो कल्पनाकी चरीले एकदिन गमेथ्यो, ‘विश्वकै सर्वोच्च स्थानमा रहेको होटेल, होटेल एभरेस्ट भ्यूको कोठामा बसी कफीको चुस्की लिंदै ठूलो पारदर्शी सिसाबाट सगरमाथाको दृश्य आँखाभरि सजाउने |’ यो कल्पना हार्दिक होटेललेझैं एभरेष्ट भ्यूले पनि पछ्याउन सके पक्कै पूरा हुन्छ | व्हिल्चियर प्रयोगकर्ता पर्यटकले सगरमाथा नचढे पनि होटेलबाटै सगरमाथालाई आँखाभरि टाँस्न पाउनेछन् | कि कसो ?shop pic

जुत्ता किन्न होस् वा लुगा, जुनै पसलको अघिल्तिर भर्यांग हुन्छ जसले गर्दा भित्र गएर सामान हेर्न हामीलाई कठीन पर्छ तर मेरो घरनजिक गोंगबु गणेशथानमा देखिएको यो र्याम्पयुक्त एउटी मात्र पसल | यो पसल अपांगका लागी भनेर निर्माण भएको त पक्कै होइन किनकि पहिले यो पसल ग्यारेज थियो, गाडी गुड्न मिल्ने गरी बनाइएको र्याम्प व्हिल्चियर प्रयोगकर्ताको अन्तर्राष्ट्रिय मापदण्ड नै बनेको छ | हरेक निर्माणाधीन वा निर्मित पसल पनि यस्तै र्याम्पयुक्त होस् भन्ने मेरो आवाज हो | धन्यवाद !

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!