२५ वर्षदेखि ठिँगुरामा

September 25, 2014

गिरुप्रसाद भण्डारी प्यूठान जुम्रिकाँढा-५, बुर्तिबाङका लालमन रानालाई मानसिक सन्तुलन बिग्रेको भन्दै परिवारले २५ वर्षदेखि काठको ठेडोमा खुट्टा अडाएर राखेका छन्। उनी यताउता गर्न सक्दैनन्। घरमै बन्धकझैं राखिएको छ।

२५ वर्षसम्म ठेडोमा राख्दा उनको सरसफाइसमेत भएको छैन। त्यसले शरीर पुरै कालो भएको छ। मिलनसार रानाले एक्कासि मानसिक सन्तुलन गुमाएरlalman रातिराति हिँड्न थालेपछि घरमा आगजनी गर्ने डरले परिवारले गाउँलेको सहयोगमा ठेडोमा राखेको स्थानीय ओबिराम बुढाले बताए। उनले ठेडो बोकेर घरबाहिर खनिएको खाडलमा दिसा गर्नबाहेक अन्यत्र जान नसक्ने गरी खुट्टामा फलामले अडाइएको छ।

‘विवाह गरेको पाँच वर्षमै यस्तो भो’, श्रीमती सरी रानाले भनिन्, ‘जेनतेन जुटाएर बिहान-बेलुका खान दिने गरेका छौँ।’ उनका बुबाआमा, दुई भाइ छोरा र श्रीमती छन्। श्रीमान्लाई घरमै बन्धक गराएर राख्नुपर्दा सरीलाई निकै दुःख लाग्छ। त्योभन्दा धेरै वृद्ध सासूससुरा र छोराहरूको लालनपालनमा समस्या रहेको उनले बताइन्।

घरपरिवारबाहेक बाहिरका मान्छेसँग हिमचिम नभएकाले उनी नयाँ मान्छे देखेपछि डराउँछन्। आर्थिक अभावले उनलाई परिवारले धामीझाँक्रीबाहेक कतै उपचार गराउन लगेका छैनन्।

‘सुरुमा तीन पटक झाँक्री बसाल्यौं’, श्रीमती सरीले भनिन्, ‘निको भएन। त्यसपछि कतै लगेका छैनौं।’

२०४६ सालबाट यसरी बन्धक बनाएर राख्नुपरेको श्रीमतीले बताइन्। उनीसँग डराएर न कपाल काटिएको छ, न नुहाइदिएका छन्। ‘द्वन्द्वको समयमा गाउँमा आउने माओवादी कार्यकर्ताले उनको कपाल काटिदिने गर्थे’, स्थानीय ओबिराम बुढाले भने, ‘त्यसपछि उनको कपालसमेत काटिएको छैन।’ ननुहाएर फोहोरले गर्दा जुम्राले उनी शरीर र टाउको कनाइरहन्छन् भने लुतोले शरीर पाकेको छ।

साभार http://www.ekantipur.com/

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!