अपांगता भएका व्यक्ति पनि जवान हुन्छन्

May 30, 2014

सावित्री गौतम    अपांगताकै कारण आफ्नो जीवनको वयस्क उमेरमा कसैसंग अन्तरंग सम्बन्ध राख्न नपाउनु उनीहरुको मौलिक हकको हनन् हो कि हैन यसबारे सोचिदिने फुर्सत हामी कसैलाई छैन ।’इण्डिपेण्डेण्ट लिभिङ सोसाइटी’ नेपालकी कोषाध्यक्ष र ‘कोक्याप’ पश्चिमान्चलकी कार्यक्रम

image

अधिकृत अन्जना केसीले  पोखरामा एक कार्यक्रमका सहभागीलाई सोधिन् ‘तपाईंहरुको जीवनको सबैभन्दा खुशीको क्षण कुन हो ?’ कसैले आफ्नो लक्ष्य पुरा हुँदा त कसैले कुनै ‘ठूलो परीक्षा पास हुँदा’ भने । सुनिसकेपछि ह्ववीलचेयर प्रयोगकर्ता अन्जनाले भनिन् ‘तपाइँहरुमध्ये कसैले पनि ‘आफ्नो प्रेमी या प्रेमिका भेट्दा, विवाह हुँदा, या आफूले प्रेम गरेको मान्छेको उपस्थिति आफ्नो जीवनमा महसुस गर्दा’ भनेर भन्नुभएन, किनकि यी कुराहरु तपाईंको जीवनका एकदमै सामान्य कुरा हुन् तर हाम्रो लागि यी कुराहरु एकदमै ठूला खुशीका कुरा हुन् जुन हामी महसुस नै गर्न पाउँदैनौ । मजस्ता धेरै अपांगता भएका व्यक्तिको यो खुशीको बारेमा न अरु कसैले सोचिदिन्छ न हामीले आफैं सोच्ने स्वतन्त्रता पाउँछौं ।’ बीचमा ह्ववीलचेयरको चित्र बनाएर हातैभरि मेहन्दी लगाएकी अन्जनाको यो भनाईले  सहभागीहरुमा मौनता छायो । स्नातक उत्तीर्ण, आफैं कमाउने अन्जनाले हिजो पढ्न वा रोजगारी पाउनका लागि गरेको संघर्ष र आज दैनिक जीवन चलाउँदा भोगिरहेको अफ्ठ्याराका दर्दनाक कथा त अलग्गै छँदै छन्, ती बाहेक वयस्क अन्जना ‘प्रेम’ या विवाहबाट वन्चित हुनुको चाहिं कारण हो उनमा भएको जन्मजात शारिरीक अपांगता । प्रत्येकपटक बिहेको लगनमा बिहेका बाजा बजेको सुन्दा मलाई अन्जनाको यही भनाईले झस्काउँछ ।

अन्जनाकै मिल्ने साथी छिन् अर्की ह्ववीलचेयर प्रयोगकर्ता जसको अन्तर्जातीय प्रेमसम्बन्ध थियो आफूजस्तै ह्ववीलचेयर प्रयोगकर्ता यूवकसँग । धनाढ्य व्यापारी घरानाकी छोरी उनलाई ती यूवासंग बिहे गर्न परिवारले दिएन र यसको पनि कारण हो दुवैमा भएको शारिरीक अपांगता र अन्तर्जातीय प्रेम ।

केही वर्षअघि संगै काम गर्ने दृष्टिविहीन साथीकी दृष्टिविहीन दिदीका दृष्टिविहीन श्रीमानले उनलाई थाहै नदिई अर्को बिहे गरे । यो खबर सुनाउँदा मेरी एक साथीले खिसी गरेर मरीमरी हाँस्दै भनिन् ‘त्यस्तालाई नि दुइटा बिहे गर्नुपर्ने ।’ अधिकारकर्मीकै रुपमा चिनिने उनलाई श्रीमानश्रीमती बीचको खटपट, बहुविवाह र अपांगताको कुनै सम्बन्ध हुँदैन भन्न्ो थाहा नभएको देख्दा बिरक्त लाग्यो । पछि ‘डिभोर्स’ गरेकी साथीकी दिदीको बारेमा कुरा गर्दै मैले साथीसंग भनें ‘अब दिदीले त्यो भन्दा राम्रो केटा खोजेर बिहे गर्नुपर्छ ।’ यो सुनेर उनले भनिन् ‘कहाँ दिदीको अर्को बिहे, बुवाले त अर्को बिहेको कुरै नसोच भन्नुभएको छ , बहिनी र मलाई पनि अब तिमीहरुले पनि बिहेबारे सोच्दै नसोच्नु भन्नुभएको छ ।’ उनकी वहिनी पनि दृष्टिविहीन छन् । पछि सडक दुर्घटनामा दिदीको मृत्यु भयो । आज २७ वर्षकी उनी र २४ वर्षकी बहिनीले ‘बिहेको बारे सोच्दै नसोच’ भन्ने बुुुुुुबाको आदेशको चुपचाप पालना गरिरहनुको एउटै कारण हो-उनीहरुमा भएको दृष्टिविहीनता । जेठी छोरीको वैवाहिक जीवन सफल नभएकोमा चिन्तित बनेका बुवाले साना दुई छोरीले पनि दुख नपाउन् भन्ने चिन्ताले गरेको यो फैसला पारिवारिक हिसाबले ठीकै होला तर अपांगताकै कारण आफ्नो जीवनको वयस्क उमेरमा कसैसंग अन्तरंग सम्बन्ध राख्न नपाउनु उनीहरुको मौलिक हकको हनन् हो कि हैन यसबारे सोचिदिने फुर्सत हामी कसैलाई छैन ।

अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि ‘यूएनसिआरपीडी’ (यूनाइटेड नेसन्स कन्भेन्सन अन द राईट्स अफ पर्सन विद डिसेबिलिटिज) मा नेपालले पनि हस्ताक्ष्र गरेको छ । उक्त महासन्धिको धारा २३ ले अपांगता भएका व्यक्तिहरुमाथि विवाह, परिवार र व्यक्तिगत सम्बन्धहरुलाई लिएर गरिने कुनैपनि प्रकारको भेदभावलाई पूर्णतया निषेध गरेको छ । उक्त धारामा भनिएको छ ‘अपांगता भएका व्यक्तिहरुलाई ‘प्यारेन्टहुड’ यानिकी बाबुआमा बन्ने, विवाह गर्ने र परिवार स्थापना गर्ने, बालबच्चाको संख्या र उनीहरुबीचको अन्तरबारे निर्णय लिने, प्रजनन र परिवार नियोजनसम्बन्धी शिक्षा र यसका साधनमाथिको पूर्ण पहुँचको समान स्वतन्त्रता छ । उनीहरुलाई बालबच्चाको अभिभावकत्व, संरक्षकत्वको जिम्मेजारी लिने र धर्मपुत्र धर्मपुत्री बनाउन पाउने अवसरको पूर्ण उपयोग गर्न पाउने समान अधिकार छ ।’

दुष्टिविहीन अधिकारकर्मी श्रीकान्त सापकोटाका अनुसार विवाह यदि हाम्रो संस्कृति हो भने यो साँस्कृतिक अधिकारबाट अपांगता भएकाहरुलाई वन्चित गर्न पाइँदैन तर व्यवहारमा ठीक उल्टो छ । जुनसुकै प्रकारको अपांगता भएका व्यक्तिहरुलाई पनि आफ्नो ‘पार्टनर’ छान्न्ाु वा छानिसकेपछि संगै जीवन बिताउने सामाजिक ‘अनुमति’ पाउनु निकै चुनौतीपूर्ण छ । नेपाली समाजका अपांगता भएका व्यक्तिहरु विवाह गर्ने वा परिवार बढाउने अधिकार त परको कुरा,  अरुका विवाह, ब्रतबन्धजस्ता समारोहमा पूर्णरुपमा सामेल हुनबाट समेत वन्चित छन् । सापकोटाका अनुसार कुनैकुनै प्रतिष्ठित पदाधिकारी व्यक्तिहरुले चाहिं देखावटीकै लागि भएपनि अपांगता भएका व्यक्तिहरुलाई निम्ता गर्ने र सम्मानपूर्ण व्यवहार गर्न थालेका छन् नत्र समुदायको कुरा गर्ने हो भने त आफ्नै इष्टमित्रले समेत भेदभावपूर्ण व्यवहार गर्छन् । परिवार र समाजमा आयोजना हुने भोजभतेर वा समारोहमा उनीहरुलाई आफूखुशी र स्वतन्त्र रुपमा सहभागी हुन दिईंदैन । सामान्यभन्दा सामान्य कुराहरुमा उनीहरुले भेदभावको सामना गर्नुपर्छ । अंग्रेजी साहित्यका ‘लेक्चरर’ समेत रहेका सापकोटा भन्छन् ‘खाना निकाल्न गयो, ‘क्याटरिङ सर्भिस’का मान्छेहरुले ‘यसले त देख्दैन, पोख्छ कि, अरुको खानामा जुठो पारिदिन्छ कि’ जस्तो गर्छन, खानासमेत उनीहरुले नै पस्किदिन्छन्, जसले गर्दा आफ्नो रुचि अनुसारको वा आफूले चाहेजति परिमाणको खाना लिन पाईंदैन, यताउता हिंड्न खोज्यो आफन्तहरुले ‘तपाईं त लड्नुहोला भो यहीं बस्नुस’ भनेर एकैठाउँमा चुपचाप थपक्क बस्न लगाउँछन्, पुरै समारोहभरि कसैले वास्तासमेत गर्दैन । यस्ता अपमानजनक भोगाईबाट आजित भएपछि अब मैले यस्ता समारोहमा बोलाउने आफन्तहरुलाई मुख फोडेरै ‘आफूलाई एउटा कुनामा बस्न बाध्य पारिने हो भने आउँदिन’ भनेर भन्न्ा थालेको छु ।’

हाम्रो संस्कृतिमा अझै पनि प्रेम भनेकै विवाह हो र विवाह भनेकै प्रेम । हामीकहाँ बिहे प्रेमभन्दा पनि जिन्दगी चलाउने ‘पार्टनरसिप’ बढी हो । शारिरीक भन्दा बढी भावनात्मक र व्यवहारिक साथ अर्थात ‘कम्पेनियनसीप’ हो । यही संस्कारकै कारण वयस्क भइसक्दा पनि कैयौं नेपाली यूवायूवतीले आफ्ना लागि ‘पार्टनर’ खोज्नमा त्यति ध्यान दिंदैनन् । अरुले खोजिदिएको जोडीसंग मागी विवाह गरेर ‘आधिकारिक’ प्रेम गर्ने र समाज र परिवारसंग ‘पंगा’ नलिई ढुक्कले बस्न चाहने यूवायूवतीको संख्या अझै निकै धेरै छ हाम्रो समाजमा । कम्तीमा यही ‘आधिकारिक’ र अरुले दिलाईदिएको प्रेम भएपनि प्राप्त गर्न सबलांगहरुलाई तुलनात्मक रुपमा सजिलो छ । मागी विहे गर्नका लागि उनीहरुले ‘हुन्छ’ मात्रै भनिदिए पुग्छ । आफ्ना लागि केटा वा केटी खोजिदिनेदेखि लिएर विहेमा नाचिदिनेसम्मका मान्छेहरुको फौज नै तयार हुन्छ । ‘बुढेसकालमा सहारा चाहिन्छ’ भनेर प्रत्येकजसो नेपाली युवायुवतीलाई विहेका लागि मनाइन्छ । तर यही बुढेसकालको सहारा पाउनबाट पनि अपांगता भएकाहरु चाहिं वन्चित छन् । जीवीकोपार्जनका लागि उनीहरुलाई सिलाईबुनाई जस्ता केही सीपमूलक तालिम दिनेभन्दा पर कोही पुग्नै सकेको छैन आजसम्म । उनीहरुलाई पनि सुखदुख र भावना बाँड्ने साथीको खाँचो पर्छ भन्नेमा कसैले सोचेकै देखिंदैन । उनीहरु आफैंलाई पनि सोच्नबाट जबर्जस्ती वन्चित गरिएको छ । अपांगता भएकाहरुले विवाह गर्न पाउने अधिकार साँस्कृतिक अधिकारभित्र र त्यो भन्दा महत्वपूर्ण आफ्नो जीवनसाथी छान्न पाउने, प्रेमसम्बन्ध राख्न पाउने अधिकार ‘सामान्य’ भनाउँदाहरुको जस्तै वयस्कताको अधिकार यानिकि ‘एडल्ट राइट’ भित्र पर्छ । यसबारे समाजलाई बुझाउनेमा स्वयं अपांगताकै क्षेत्रमा काम गर्ने, अधिकारकर्मी र संघसंस्थाले पनि  कुनै चासो देखाएको पाईंदैन । अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि लड्ने उनीहरु यो अधिकारका लागि संगठित भएर लड्नेबारेमा चाहिं मौन देखिन्छन् ।

sabitrigautam2012@gmail.com

साभार www.ekantipur.com

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!