बहिरा विद्यालयमा विदेशी नागरिकले पढ्न थाले

November 9, 2009

धौलागिरिका बहिरा बालबालिकालाई शिक्षा दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको यहाँको धौलागिरि बहिरा प्राथमिक विद्यालयमा विदेशी बहिरा नागरिकले पनि अध्ययन गर्न थालेका छन् ।
भारतको मोतिहारी बिहारका चन्द्र भुसाल साहका बहिरा छोरा अजय साह यो विद्यालयमा कक्षा १ मा अध्ययन गर्दछन् । यहाँ अस्थायी बसोवास गरी कवाडी सङ्कलन कार्य गर्दैआएका चन्द्र भुसालका छोरा अजयलाई आवासीय सुविधासहित अध्ययन गर्न विद्यालयमा निःशुल्क भर्ना गरिएको बहिरा विद्यालयका सहयोगी केबी रानामगरले बताउनुभयो ।
कक्षा ३ सम्म साङ्केतिक भाषामा पढाइ हुने यस विद्यालयमा ६० जना बहिरा विद्यार्थीहरुले आवासीय सुविधासहित पढ्नेगरेका छन् ।
तीमध्ये छात्रा २२ र छात्र ३८ जना रहेको विद्यालयका प्रधानाध्यापक वसन्तजङ्ग राजभण्डारीले बताउनुभयो । हाल बानपा ३ गुठीमा भाडामा भवन लिई अध्यापन गराउँदैआएको यस विद्यालयको बानपा-१ रामरेखामा नयाँ भवन निर्माण भइरहेको छ ।
आधुनिक भवनसहित आगामी शैक्षिकशत्रदेखि सोही भवनमा नै पठनपाठन गराउने गरी निर्माण कार्य भइरहेको विद्यालयले जनाएको छ ।
भवन निर्माणका लागि शिक्षा विभागले रु. ३५ लाख, जिल्ला शिक्षा कार्यालयले रु. आठ लाख २५ हजार, प्लान नेपालले रु. १० लाख ५० हजार, जिविस र बागलुङ नगरपालिकाले रु. एक/एक लाख उपलब्ध गराएका छन् ।
आइएमई फाइनान्सका चन्द्र ढकालले रु. दुई लाख रकम उपलब्ध गराउने र उद्योगपति तथा समाजसेवी पुष्पमान श्रेष्ठले पनि आफ्नोतर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!