अपांगको हकमा

March 6, 2014

अरुना छन्त्याल
विभिन्न किसिमका अपांगतामध्ये विशेष म व्हिल्चियर प्रयोगकर्ता अपांग वा अशक्तप्रति केन्द्रित भई यो लेख लेख्दैछु किनकि

Hellen Keller

म आफैं पनि एक व्हिल्चियर प्रयोगकर्ता हुँ | विभिन्न रोगका कारण हिड्न सक्ने क्षमता गुमाई हामीलाई व्हिल्चियर प्रयोगकर्ता हुनुपरेको हुन्छ | हाम्रो खुट्टा काम नलाग्ने भएपनि हात र बौद्धिकता काम लाग्न सक्छ तर विडम्बना भनूँ यहाँ कतै पनि व्हिल्चियर प्रयोगकर्ता अपांगलाई अपांग-मैत्री वातावरण छैन भन्दा पनि हुन्छ | नेत्रहीन,श्रवनहीन,वाकहीन वा हातहीनहरुले भन्दा व्हिल्चियर प्रयोगकर्तालाई धेरै गुणा बढी गाह्रो छ किनकि व्हिल्चियर जहाँ पनि गुडाउन मिल्दैन |

एकदिन म पनि बहिनीसँग व्हिल्चियरमा गोंगबु बजार घुम्न निस्किएँ | भुँइतल्लामै कति पसल देखें तर काहीं पनि खुड्किलोरहित र्याम्प थिएन, मैले सोंचें हरेक पसलमा र्याम्प भएको भए ती पसलमा पनि व्हिल्चियर प्रयोगकर्ताले काम पाउने थियो | अनि उद्द्योग कल-कारखानामा, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा, हरेक भुइँतलेका घरहरुमा, स्कुल-कलेज, रेस्टुरेन्ट आदिमा पनि त्यस्तै भएको भए हामीलाई एकै ठाउँ मात्रै कुँजिएर बस्नुपर्ने थिएन | धन्न, ढिलै भएपनि नेपाल सरकारले अबदेखि सबै सरकारी कार्यालयलाई अपांग-मैत्री बनाउने भएछ जसबाट अलिकति आशा गर्न सकिन्छ | अब सरकारी कार्यालय मात्र होइन, हरेक निर्माणाधीन भवन व्हिल्चियर पायक हुनुपर्छ, बल्ल हामीले पनि काम गरेर देखाउन सक्नेछौं |

मेरा एकजना मित्र एससीआई (स्पाइनल कर्ड इन्ज्युरी) रहेछन् | उनले लोक सेवा आयोगमा नाम निकालेपछि आफू खटिनुपर्ने कार्यालयलाई धेरै हण्डर व्यहोरेर मात्र व्हिल्चियर पायक बनाउन सके रे | मैले पनि स्कुलमा पढाउनुपर्यो भनेर स्कुल हेर्न गाको नि | जहाँ पनि ट्वाइलेटको ढोका व्हिल्चियरभन्दा साँघुरो अनि त आफ्ना सपना र रहर झर्यामझुरुम | कतै व्हिल्चियर पायक ठाउँ पाइहाले अहोभाग्य वा संयोग नै मान्नुपर्ने भएको छ अनि त्यसैले मेरो घर पनि व्हिल्चियर पायक हुनु एउटा संयोग नै हो किनकि मेरा आफन्त-छिमेकी कसैको घर पनि व्हिल्चियर पायक छैन |

यतिमात्र होइन, अपांगता परिचयपत्रको लागि आफ्नै गृहजिल्लामा पुग्नुपर्ने अर्को झन्झट छ यहाँ | आफू जुन स्थानमा छ, त्यतैबाट अपांगले परिचयपत्र निकाल्न पाउनुपर्छ | सद्दे पो आफ्नै गृहजिल्ला जान सक्छ, अपांगलाई कति हण्डर खेप्नुपर्छ भन्ने कुरा कसले बुझ्ने ? मैले सुनेअनुसार, त्यसरी जताबाट पनि परिचयपत्र निकाल्न मिल्ने गराइयो भने लक्षित व्यक्तिसम्म पुग्न सक्दैन रे, लौ ! मलाई हाँसो पो उठ्छ गाँठे, हामी अपांग हो कि होइन भनेर परिचयपत्र दिनुभन्दा अगाडि कर्मचारीले आफ्नै आँखाले गौर गरेर हेरे भइहाल्यो नि ! हामीले ढाँटे-नढाँटेको कुरा थाहा भइहाल्छ नि ! अर्को कुरा, यस्ता सावधानी अपनाउँद-अपनाउँदै पनि सरकारबाट वितरित भत्ता लक्षित वर्गसम्म नपुगेको यथार्थ सर्वविदितै छ किनकि बेलाबेलामा छापामा सद्देले अपांग परिचयपत्र लिई भत्ता पचाइरहेको यथार्थ खुलिरहन्छ | यस्ता प्रवृत्ति भ्रष्टाचारकै उपज हुन्, तिनलाई तह लगाउन सक्नुपर्छ र त्यस्ता केही सिमित भ्रष्टहरुका कारण वास्तविक अपांगलाई राष्ट्रले दिने सुविधाबाट वन्चित गराइनुहुँदैन |

जे होस्, सबैले हाम्रा समस्याबारे पनि ध्यान देओस् भन्ने म चाहन्छु किनकि एससीआई समस्याको शिकार तपाई-हामी जो-कोही पनि हुन सक्छ | दैनिकजसो नेपालमा सडक दुर्घटना हुन्छन्, कोही मर्छन् त कोही घाइते हुन्छन्, हो तिनै घाइतेहरु धेरैजसो एससीआई हुन्छन् | भविष्यमा आईपर्ने भवितव्यको बारेमा हामीलाई पूर्वसूचना हुँदैन, ‘आ ! मलाई त केही नि हुन्न’ भन्नेले पनि दुर्घटना व्योहोर्नु नपर्ला भन्न सकिन्न किनकि मानिसको जीवन अनिश्चित छ भन्ने कुरा सायद सबैलाई थाहा होला | यसकारण आफ्नो घर, टोल-छिमेक सबै क्षेत्रलाई व्हिल्चियर पायक बनाऔं ताकि व्हिल्चियर प्रयोगकर्ता जहाँ पनि पुगी अवसर पाउन सकोस् |
छन्त्याल मेरुदण्ड पक्षघात बाट पिडित हुनुहुन्छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!