अपांगतामैत्री पूर्वाधारः हाम्रो चाहना

April 14, 2014

सम्पादकीय

नेपाली क्यालेन्डरले पुनः एउटा पाना फेरेको छ र नयाँ वर्ष २०७१ को आरम्भ भएको छ । हामी हरेक वर्ष वितेका वर्षलाई पुनरावलोकन गरेर नयाँ वर्षका लागि नयाँ केही गर्ने योजनाहरू बुन्ने गर्छौं । ती हाम्रा योजनाहरू कति सफल हुन्छन, कति हुँदैनन । वितेका वर्षलाई पछाडि फर्केर मूल्यांकन गर्ने हो भने अपांगता अधिकारका क्षेत्रमा हामीले केही पाएनौं, केबल सङ्घर्षमा बितायौं भन्दा कुनै फरक पार्दैन ।

नेपाली समाजमा अपांगतालाई हेर्ने दृष्टिकोण सकारात्मक अझै पनि सकारात्मक छैन । अपांगता भएका व्यक्तिभित्र पनि सक्षमता हुन्छ भन्ने कुरालाई अझै पनि गम्भीरतापूर्वक लिइदैन । वास्तवमा अपांगता भएका व्यक्तिहरूमा सांगमा भन्दा बढी जवाफदेहिता र इमानदारिता हुन्छ । उनीहरू आफ्नो कर्तव्यलाई अझ बढी जिम्मेबार रूपमा निर्वाह गर्न सक्छन । समाजमा हेर्यौं भने अपांगता भएका व्यक्तिहरूले सांगहरूले भन्दा बढी जिम्मेबार भएर आफ्नो कार्यसम्पादन गरिरहेका छन्, तर राेजगारदाताहरूले केबल यसलाई रोजगारी दिएका छौं, तलब खाएर बसेको छ भन्ने गलत मानसिकता राखेर हेरिदिँदा अपांगता भएका नागरिकहरू वृत्ति विकासबाट बञ्चित भएका छन् । पहिलो कुरा त अपांगता भएका नागरिकहरूलाई सहजै रोजगारी नै दिइदैन । अघिल्लो वर्षजस्तै गत वर्ष पनि अपांगता भएका व्यक्तिहरूका लागि रोजगारी मेलाको आयोजना गरियो तर निजी क्षेत्रका रोजगारदाताहरूले उत्साही भएर यति जनालाई रोजगारी दिन्छौं भन्न सकेनन । आफ्नै क्षमता र बलबुत्ताले रोजगारी पाएकाहरूलाई पनि प्रोत्साहन गर्ने, अपांगतामैत्री कार्यथलो र वातावरण बनाउने कार्य अति कम छ । हामी यसैका लागि लडाइ लडिरहेका छौं ।

अघिल्लो संविधानसभामा दुई जना भए पनि अपांगता भएका सभासदहरूको प्रतिनिधित्व थियो, तर यस वर्ष एक जनाको पनि प्रतिनिधित्व छैन । सोही कारण विधायिका अर्थात कानुन बनाउने निकायमा अपांगता भएका नागरिकहरूको आवाज पुग्न सक्ने सम्भावना कम छ । राष्ट्रिय अपांग महासंघको अगुवाइमा वितेको वर्ष सरकारद्वारा मनोनयन हुने २६ जनामध्ये कम्तिमा ४ जना अपांगता भएका व्यक्तिको मनोनयन हुनुपर्ने माग राखेर आन्दोलन गरियो,  सरकारले तत्काल उक्त मागलाई सम्बोधन गर्नुपर्छ ।

काठमाडौं उपत्यकामा गत वर्ष सडक विस्तार गरियो । विस्तार गरिएको सडक अपांगतामैत्री हुनुपर्छ भनेर हामीले पटक-पटक आवाज उठाउँदै आएका छाैं , सडक मात्र हैन सबै भौतिक पूर्वाधारहरूलाई अपांगतामैत्री बनाइनु पर्छ भन्ने हामी सामूहिक आवाज उठाउन चाहन्छौं ।

अपांगता भएका नागरिकहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता अत्यन्तै न्यून र भेदभावयुक्त छ । पहुँच भएकाहरूले मासिक १ हजार नै पाउँदै आउँदै आएका छन भने पहुँच नपुग्ने आवाज उठाइदिने नहुनेहरूले १ पैसा पनि पाएका छैनन । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण अपांगता भएका व्यक्तिहरूलाई मासिक ५ हजारसम्म भत्ता दिनुपर्ने र उनीहरूका लागि राज्यले नै सहयोगीका व्यवस्था गराई दिनुपर्ने फैसलालाई अबिलम्बन कार्यान्वयन गरिनुपर्छ ।

यी र यी लगायतका यावत अपांगता अधिकारसम्बन्धी यावत मुद्दाहरूमा अागामी वर्ष सरकार, नीतिनिर्माता, प्रशासकहरू र सबै सरोकारवालाहरूको ध्यान गम्भीरतापूर्वक आकर्षण हुन सकोस, नेपालका सबै अपांगता भएका नागरिकहरूले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस हाम्रो हार्दिक शुभकामना

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!