हि्वलचियर गुडाउँदै नमोबुद्धदेखि लुम्बिनी रामबहादुर

March 31, 2014

काठमाडौं, चैत १८ तीन वर्षअघि दुर्घटनामा परेर शरीरको तल्लो भाग चल्न छाडे पनि रामबहादुर तामाङले जीवनबाट हरेस खाएका छैनन्। उनी दुईतिरको पांग्रा गुडाउँदै पनि गतिलै बास्केटबल खेल्छन्, व्यावसायिक तालिम प्रशिक्षकका रुपमा कार्यरत छन् अनि सबैभन्दा मिठो त जब युट्युब खोलेर यो नाम टाइप गरिन्छ उनी सारंगी बजाउँदै उपस्थित हुन्छन्–

‘दैव तेरो रैछ नि खटना
सुन्नु होला यो रामको घटना…’

यही आत्मबल आफुजस्ता अन्य नेपालीको निम्ति पनि काम लाग्न सक्छ भन्ने उद्देश्यका साथ उनले चैत १० देखि लामो यात्रा थालेका छन्। काभ्रेको नमोबुद्धबाट हि्वलचियरमै सुरुभएको उनको यात्रा काठमाडौं, नारायणघाट हुँदै लुम्बिनीसम्म पुग्नेछ।

‘मेरुदण्डमा चोट लागेपछि अंग चल्न छाड्ने मजस्ता विरामीहरुको बारेमा जानकारी दिन निस्केको हुँ,’ उनी भन्छन्, ‘त्यसबाहेक यस्तो अवस्था आइपरेछ भने पनि संघर्ष गर्न छाड्नु हुँदैन भन्ने सन्देश लैजाँदैछु।’

यस किसिमका विरामीको बारेमा हामीकहाँ जानकारी प्रचार प्रसार हुननसक्दा दुःख पाउनुपरेको गुनासो रामबहादुरको छ। ‘बस चढ्ने ठाउँमा आलुको बोरा उचाल्नु परेछ भने पनि मान्छेहरु हातेमालो गरिदिन्छन्,’ उनी भन्छन्, ‘तर, जसोतसो बसको ढोकैमा पुगेका हामीजस्तालाई उचाल्न तिनै मानिसहरु हच्किने गर्छन्।’ यस्तो अवस्थाले केही सातासम्मै आफुलाई नरमाइलो लागेपछि यो यात्राको अठोट गरेको उनी बताउँछन्।

‘हामी कोठा भित्रै पिल्सिएर बस्यौं भने यो समाजले हाम्रो कुरा कहिल्यै सुन्दैन,’ उनी भन्छन्, ‘त्यसैले मैले बाहिर निस्कने, घुम्ने र जानकारी दिने निधो गरेँ।’Ram bahadur

मुलुकमा संविधानसमेत बन्न लागेको बेला आफुहरुको अवस्था बाहिर ल्याउनका निम्ति यो महत्वपूर्ण समय रहेको उनको ठहर छ।

३१ वर्षे रामबहादुर सिन्धुपाल्चोकको मांखाका हुन्। उनी २०६७ साल पुसतिर खासा घुम्न गएका थिए। फर्केर आउँदा दोलालघाटमा रोकिएका थिए। त्यहीँ दुर्घटनामा परेपछि उनको कम्मरभन्दा मुनिको भाग चल्न छाडेको छ। यतिबेला उनी काभ्रेकै ‘स्पाइनल इन्ज्युरी रिहाविलिटेसन सेन्टर’मा उपचार गराइरहेका छन्।

हिम्मतिला रामबहादुरले यो विरामीका बारेमा ३ सय ६० किलोमिटर लामो यात्रा गर्दै जनचेतना फैलाउने र आफुजस्ता भेटिए मनोबल पनि बढाउने इच्छा राखेपछि कार्यक्रम तय गरिएको जानकारी सेन्टरले दिएको छ।

यो यात्राको निम्ति गत साता राजधानीकै ‘एफ सी स्पोर्टस बार’मा आयोजित कार्यक्रमबाट ८५ हजार रुपैयाँ उठेको थियो। त्यसैगरि अमेरिकी स्वयंसेवी रोजी रस्सेलले साथीहरुबाट संकलन गरेको तीन लाख ७४ हजार रुपैयाँ पनि प्रदान गरेकी छिन्।

साभार सेताेपाटि.com

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!