धामीझाँक्रीका भरमा मानसिक रोगी

March 12, 2014

फाल्गुन २८ खगेन्द्र अवस्थी बैतडी,- श्रीकेदारका एक युवकलाई मानसिक रोगको लक्षण देखिएको चार महिना भयो । उनका आफन्त अहिलेसम्म देउता रिसाउनुका कारण खोज्दै धामीकहाँ धाइरहेका छन् ।
छिमेककी अर्की महिला बिरामी भएको लामो समयपछि अघिल्लो महिना मात्रै अस्पताल लगियो । ढिलो गरी चिकित्सककहाँ पुर्याीए पनि उनमा सामान्य सुधार आएको छ ।
यहाँका मानसिक रोगी अहिलेसम्म धामीझाँक्रीकै भरमा परेका छन् । देवता लागेको विश्वासमा आफन्तले लामो समय धामीकहाँ लगेर झारफुक गर्दै आएका छन् । निको नभए दोस्रो चरणमा स्थानीय वैद्यहरूलाई देखाउने चलन छ । सर्वसाधारण मानसिक बिरामी हुनु पूर्वजको गल्ती भन्ने अन्धविश्वासमा अझै भेटिन्छन् । यसले बिरामी र आफन्तलाई थप दबाब हुन्छ । केही परिवारमा दुई तीन जनामा एकपछि अर्को गर्दै लक्षण देखिएको आफन्तहरू बताउँछन् । वर्षौंसम्म रोग निको नभए मात्रै अस्पताल जाने गरिन्छ ।
गाउँ नजिक अस्पताल नहुँदा पनि उनीहरूले उपचार गराउन सकेका छैनन् । जिल्ला र क्षेत्रसम्म मानसिक रोगका चिकित्सक छैनन् । सुदूरपश्चिमभरमा सेती अञ्चल अस्पतालमा एकजना यससम्बन्धी डाक्टर छन् । यस क्षेत्रका बासिन्दाको उपचार गर्ने मुख्य थलो भने भारतको बरेली हो । टाढा र महँगो हुने हुँदा बिरामीलाई हत्तपत्त अस्पताल लैजान मान्दैनन् । बरेली गएर उपचार गर्न २० देखि ५० हजार भारतीय रुपैयाँ खर्च हुन्छ । मासिक औषधि खर्चसमेत जोड्दा आर्थिक समस्याले गाउँमै वैकल्पिक उपचार खोज्न बाध्य हुन्छन् । लामो समय उपचार गराएर पनि निको नभएका घटनाले सितिमिति अस्पताल लग्दैनन् ।
स्थानीय बासिन्दा मानसिक रोगीलाई उपचार हुने रोगभन्दा देउता र घरायसी कारण खोज्नतिर लाग्छन् । रोग लागे चाँडै स्वास्थ्य संस्था जाने गरे पनि मानसिक बिरामीलाई अस्पताल लैजान चासो नदेखाउने स्थानीयवासी सुरेन्द्र भट्टले बताए ।
जिल्लाका अधिकांश गाउँमा मानसिक बिरामी छन् । श्रीकेदारमा भने बिरामीको संख्या धेरै छ । यस गाउँ र आसपासमा मात्रै ५० भन्दा बढीले मानसिक सन्तुलन गुमाएका छन् । वर्षौंदेखि यो समस्याबाट पीडित भए पनि ‘देवताले गराएको’ भन्ने अन्धविश्वास अझै हटेको छैन । केहीको उपचार नपाएर र केहीको निको नभएर मृत्यु भइसकेको छ । बिरामीमध्ये १२ भन्दा बढीले आत्महत्या गरेका छन् । सामाजिक रूपमा अपहेलित हुने डरले उनीहरू रोगबारे खुल्न चाहँदैनन् । मानसिक रोगका बिरामी १५ देखि ४५ वर्ष उमेर समूहका बढी छन् ।
आर्थिक, सामाजिक सम्बन्धलगायतले मानसिक सन्तुलन गुम्ने चिकित्सकहरू बताउँछन् । सामान्य अवस्थाका बिरामीको गाउँ तहका स्वास्थ्य संस्थाबाटै उपचार भए पनि सुदूरपश्चिममा मनोचिकित्सक नभएको क्षेत्रीय स्वास्थ्यले जनाएको छ । सुदूरपश्चिमका दुई अञ्चल अस्पतालमा एक-एक जनाको दरबन्दी भए पनि चिकित्सक छैनन् ।
साभार ekantipur

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!