व्हीलचेयर क्रिकेटमा व्यापक विवाद

September 6, 2018 by · 1 Comment
Filed under: News, समाचार 

पुरस्कारमा अंश खोजेपछि अवसर गुमाउँदै

कुनै समय थियो, जब नेपालका व्हीलचेयर क्रिकेटले अन्तरराष्ट्रिय रूपमा नै ख्याति पाएको थियो । तर, अब यो उदाउँदो इतिहास ओझेलमा पर्ने भएको छ । व्हीलचेयर क्रिकेट एसाेसियनमा अध्यक्ष छुल्ठिम शेर्पाले कब्जा जमाइ टिमका क्याप्टेन  हिमाल अर्यालसहित केही खेलाडीलाई एसोसिसयनसम्बद्ध नभएको सूचना फेसबुकमा जारी गरेपछि विवाद सतहमा आएको हो ।

हिमाल अर्यालको कप्तानीमा रहेको व्हीलचेयर क्रिकेट टाेलीमा डिकाम सेन चेङजोम, भरत कार्की, राजु कटुवाल, डम्बर थापा, दानबहादुर थिङ, खनी नारायण पौडेल, विष्णु अधिकारी, जंगबहादुर रुचालमगर, विपिन पौडेल, यमबहादुर श्रेष्ठ, नवीन राई, रामबहादुर तामाङ र राजु गुरुङलयातका खेलाडीहरू रहेका थिए । यीमध्ये अधिकांश खेलाडीहरू व्हीलचेयर बास्केट बल टिममा समेत सहभागी छन् ।

विवाद के हो?

यो विवाद त्यतिखेर सुरू भयो, जब नेपालले अन्तरराष्ट्रिय खेल जितेपछि सरकारले दिएको १ लाख रूपैयाँको नगदपुरस्कार प्रचलित खेलकूद मापदण्डविपरीत एम्पायर रवीन्द्र गुप्तालाई समेत दिलाइयो । गुप्ताले टिम म्यानेजरका रूपमा सरकारले दिएको पुरस्कार थापेका थिए, जबकी टिम म्यानेजरमा सुमीत श्रेष्ठका नाम थियो । अन्तरराष्ट्रिय खेलकूद मान्यताअनुसार एम्पायरलाई खेलकूद टिमका सदस्य वा म्यानेजर मानिदैन ।

नेपाल सरकारले प्रतिखेलाडी १ लाख रूपैयाँ पुरस्कार दिएपछि अध्यक्ष शेर्पाले सबैसँग प्रतिखेलाडी २५ हजार रूपैयाँ मागेको खेलाडीहरू बताउँछन् ।

“हाम्रै संस्था हो, संस्था चलाउनका लागि हामी ५-१० हजार रूपैयाँ दिन तयार थियाैं, तर छुल्ठिमजीले एकै पटक २५ हजार माग्नु भयाे र अन्य कुनै पनि टुर्नामेन्ट खेल्दा जितेको नगद पुरस्कारमा ५० प्रतिशत एसोसियनलाई दिनुपर्ने नियम लगाउनु भएको छ,” टिम कप्तान हिमाल अर्यालले अपांगता सरोकारसँग भने ।

टिप क्याप्टेनका रूपमा अर्याल अगाडि आए पनि प्रायः सबै खेलाडी नगद कटाैती गर्ने अध्यक्ष शेर्पाका एकल निर्णयबाट असन्तुष्ट छन्।

त्रिकोणीय टि – ट्वान्टी क्रिकेट सिरिजमा जितेको पुरस्कार पनि खेलाडीहरूलाइ नदिएको गुनासो छ ।

यसबाहेक, मदन भण्डारी सपोर्टस एकेडेमीले व्हीलचेयर क्रिकेट एसोसियनलाइ दिएको ५० हजार रूपैयाँबाट आफूहरूले केही नपाएको गुनासो खेलाडीहरूको छ ।

यही विवाद चर्किँदै गएपछि एसोसियन शेर्पाले विवाद गर्नेजति खेलाडीबिना आफैले संस्था एक्ल्याएको आरोप उनीहरूको छ।

टिममा सहभागीमध्ये केही खेलाडीले नाम र उमेरका विवादका कारण अझै पुरस्कारको रकम पाउन सकेका छैनन ।

खेलाडीहरूलाई पर्याप्त सुविधा नदिएको, भारत र बंगालादेशका प्रतियोगितामा जाँदा खानासमेत नखुएको,पुरस्कार पैसामा समेत अंशबण्डा खोज्न थालेको विवादमा खेलाडीहरूले असन्तुष्टि जनाएपछि व्हीलचेयर क्रिकेट एसोसियनको विवाद चर्किँदै गएको हो ।

खेलाडीहरूलाई नै बाइपास गरेर व्हीलचेयर क्रिकेट एसोसियसन नै एक्लाैटी बनाइएपछि नेपालले एसियाकपमा जाने अवसर गुमाएको छ ।

अध्यक्ष शेर्पा आफैले खेल व्यवस्थापन गर्न व्यक्तिगत रूपमा ठूलो रकम खर्च गर्दै आफूले संस्था चलाउनका लागि पनि रकम लिनुपर्ने बताउने गरेका छन् । यस सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा एसोसियसनका अध्यक्ष छुल्ठिम शेर्पासँग सम्पर्क हुनसकेन ।