अपाङ्गता भएको जनसंख्या २.२ प्रतिशत

March 24, 2023

काठमाडौं । नेपालमा अपाङ्गता भएका व्यक्तिको अनुपात कुल जनसंख्याको २.२ प्रतिशत रहेको पाइएको छ । यो अघिल्लो जनगणनाभन्दा बढेको हो ।

विगत एक दशकमा अपाङ्गता भएका व्यक्तिको संख्या १ लाख ३४ हजारले वृद्धि भएको दुई जनगणनाको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ । जनगणना २०६८ अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अर्थात ५ लाख १३ हजार ३ सय २१ जनामा अपाङ्गता भएको उल्लेख थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार पुरुष जनसंख्याको २.५ प्रतिशतमा र महिला जनसंख्याको २.० प्रतिशतमा अपाङ्गता रहेको छ ।अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत रहेको छ ।

संख्यात्मक रुपमा देशभरि ६ लाख ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति रहेकोमा ३ लाख ५१ हजार ३०१ पुरुषहरू र २ लाख ९६ हजार ४४३ जना महिलाहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ ।

अपाङ्गता भएका व्यक्तिमध्ये सबै भन्दा धेरैमा शारीरिक अपाङ्गता ३७.१ प्रतिशत रहेको छ भने १७.१ प्रतिशतमा न्यूनदृष्टियुक्त अपाङ्गता, ८.९ प्रतिशतमा बहुअपाङ्गता, ८.० प्रतिशतमा सुस्तश्रवण,६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता रहेको छ ।


Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!