‘रानाभाटलाई ७० लाख ‘ : विश्वकप खेल्ने दृष्टिविहीन क्रिकेट टोली रेल चढेर पाकिस्तान !

January 3, 2018

चन्द्र धामी

काठमाडों । ‘देशको प्रतिनिधित्व गर्दै विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली प्लेनको टिकेट किन्ने पैसा नहुँदा रेलबाट पाकिस्तान तिर लागेछ । यता, पूर्वसभामुख तारानाथ रानाभाटले राज्यकोषबाट ८३ लाख पाएछन्’ यो एक जना चिन्तक रतन भण्डारीले आफ्नो फेसबुक एकाउन्टमा लेखेको ‘संशोधित’ स्टाटस हो । उनले कडा शब्दमा स्टाटस खेलेका छन् ।

भण्डारीले मात्रै होइन, काँग्रेस नेता गगन थापाले पूर्वसभामुख तारानाथ रानाभाटलाई सरकारले दिएको आर्थिक सहायताको आलोचना गरेका छन् । उनले पुर्व सभामुख तारानाथ रानाभाटलाई स्वास्थ्य उपचारका लागि दिने भनिएको खर्चको निर्णय फिर्ता गर्न सरकारसँग माग समेत गरेका छन् ।

सरकारले कांग्रेस नेता तथा पुर्वसभामुख तारानाथ रानाभाटलाई ७० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । रानाभाटलाई दिएको आर्थिक सहायता रकमको विवरण अर्थ मन्त्रालयबाट विविध शीर्षकबाट भएको निकासा तथा रकमान्तर विवरणमा उल्लेख छ । जुन २०७४ मंसिर महिनाको विवरणमा उल्लेख छ ।

६ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले रानाभाटलाई यो रकम दिने निर्णय गरेको हो । रानाभाट मात्रै होइन सरकारले त्यही दिन सर्वोच्चका न्यायाधीस तेजबहादुर केसीलाई उचारका लागि पाँच लाख ७५ हजार रुपैयाँ दिएको छ ।

गएको हप्तामात्रै तुलसी गिरीलाई पनि सरकारले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । रानाभाटले भने आर्थिक सहयोग बापत  सरकारले आफूलाई ७ लाखमात्रै उपलब्ध गराएको बताएका छन् । रकमान्तर विवरणमा भने सफाट रुपमा ७० लेखिएको छ ।

विश्वकप खेल्ने क्रिकेट टोली रेल चढेर पाकिस्तान
पाँचौं संस्करणको दृष्टिविहीन एक दिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली दृष्टिविहीन क्रिकेट टोली रेल चढेर पाकिस्तान जाँदै गरेको सुन्दा अचम्मको कुरा पनि भएन ।

एक पटक भए पो । यस्तो बारम्बार भइरहन्छ । त्यसैले के नौलो कुरा भयो र ? दृष्टिविहीन क्रिकेट टोलीलाई विदाई गर्न राष्ट्रिय खेलकुद परिषदको कार्यालय पुगेका खेलुकद राज्यमन्त्री तेजुलाल चौधरी क्रिकेट टोली रेल चढेर जाँदैछ भन्ने कुरा टोलीको विदाई गरिसकेपछि मात्रै थाहा पाए ।

उनीसँग पछुताउनु सिवाय केही रहेन । विदाई गर्दा उनले प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आफ्नो देशको शिर उच्च राख्नेमा विश्वस्त छुँ-भने । मन्त्री चौधरीले टोली बस चढ्न लागेपछि मात्रै भेउ पाए । प्रतियोगित खेल्न पाकिस्तान जाने टोलीलाई प्लेन टिकटको व्यवस्था गर्न नसकिएको सुन्दा आफुलाई निकै खल्लो लागेको राज्यमन्त्री चौधरीले सुनाए ।

हिड्नेबेला थाहा पाएर के गर्नु, केही गर्न सकिएन
राज्यमन्त्री चौधरीले मन्त्रालयले खेलकुद परिषलाई खर्च उपलब्ध गराउन सिफारिस गरेको सुनाए । उनले भने, ‘खर्चको व्यवस्था राखेपले गर्ने हो । मन्त्रालयले दिने होइन । हामीले सिफारिस गर्ने हो । टोली बस चढेर सुनौली हुँदै जाने रे भनेर मैले त्यहाँ गएपछि थाहा पाए । हिड्ने बेलामा थाहा पाएर के गर्नु, केही गर्न सकिएन ।’
नेत्रहिन क्रिकेट संघले समयमा प्रस्ताव पठाएन : विष्ट
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकमार विष्टले नेत्रहिन क्रिकेट संघले समयमा प्रस्ताव नपठाएको बताएका छन् । उनले भने, ‘उहाँहरुको हेर्ने संघ नै फरक छ । जाने बेलामा भन्नु हुन्छ । अगाडि देखि केही भन्नु हुन्न । संघले नै विधिवत प्रस्ताव ल्याउनु पर्ने हो ।’

पहिले नै भन्नु पर्छ, विष्टले भने, ‘बजेटमै व्यवस्था गर्ने गरेर प्रस्ताव आउनु पर्ने थियो । हामीले सधैँ सहयोग गरेकै छौँ । हामीले पनि अर्थमन्त्रालयसँग माग्ने हो ।’ उनले कहीले काँही फर्किसकेपछि लिने गरेको पनि सुनाए । उनले फर्किएपछि लिन आउनु भयो भने दिन्छौँ पनि भने । अहिले भने आफुहरुले चार लाख दिएको बताएका छन् ।

रेलको टिकट देखाउँदा प्लेनको भाडा दिन्छ त ?
नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे सुनौलीबाट रिसाए । उनी एक दिवसीय ढाँचाको विश्वकप खेल्न पाकिस्तान गइरहेको क्रिकेट टोलीसँग बसमा थिए । उनले टेलिफोनमा भने, ‘हामी जाँदैछौँ । अहिले सुनौली कट्दै छौँ ।’ समयमै प्रस्ताव नल्याएको रे नि त तपाईहरुले ? जिज्ञासा सुन्न नपाउँदै उनले जवाफ दिए, ‘हामीले ५–६ महिना अघि प्रस्ताव बुझाएका थियौँ । मागेको पनि धेरै होइन १४–१५ लाख मागेका थियौँ । हामी धेरै महंगो हुने भए वैकल्पिक हवाई मार्ग प्रयोग गरेर जान्छौँ भन्दा पनि केही सिप लागेन ।’

अनि अब फर्फिएपछि दिन्छ रे हो ? जवाफमा उनले भने, ‘के भनेर दिन्छ । हामीले बुझाएको प्रस्ताव स्वीकृत भएन । स्वीकृत नभएको प्रस्तावमा माग्ने आधार नै के छ र ? फर्किँदा हामीले के आधारमा पैसा माग्ने ? रेलको टिकट देखाउँदा प्लेनको टिकट दिन्छ त ?’ उनले आफुहरुले आर्थिकको जोहो नभएपछि काठमाडौंबाट बस चढेको तीतो सुनाए ।

३३ लाख खर्च लाग्थ्यो, २० लाखले चलाउँछौ भन्दा पाएनौँ
अध्यक्ष घिमिरेले आफुसँग २२ जनाको टोली रहेको बताए । १४ खेलाडी र अन्य अफिसियल । आउँदा जाँदा र सबै गरेर कति खर्च लाग्थ्यो ? जवाफमा उनले भने,  ‘३३ लाख खर्च आउँथ्यो । हामीले भारतहुँदै जान्छौँ । त्यसका लागि २० लाखको व्यवस्था होस् भन्ने चाहेका थियौँ । भएन । अन्तिममा ४ लाखले चलाउनु पर्ने भयो । भारतबाट जाँदा पनि २० लाख पर्ने भो । जानु पर्ने थियो, दुबई ट्रान्जिट हुँदै । त्यसको त कल्पना पनि गर्न सकिएन ।’
सरकारले एकै महिनामा करौंडौँ बाड्यो, दृष्टिविहिन खेलाडी रेल चढे
सरकारले एकै महिनामा आर्थिक सहायताका नाममा करोडौँ रुपैंया बाढ्यो । तर, देशको शिर उच्च राख्न भन्दै विश्वकप खेल्न हिडेका दृष्टिविहिन खेलाडीले रेल चढ्नु पर्यो । काठमाडौंसहित देशका भिन्न शहरमा बुलेट रेल चलाउने सपना बाँडिरहेको सरकारले खेलाडीलाई प्लेन टिकटको समेत व्यवस्था गर्न सकेन । मुलुक अहिले समाजवाद र समावेशी लोकतन्त्रको नारामा कुदिरहेको छ । सारा नेपाली सम्वृद्धिको सपनाको चाङमाथि सुतिरहेका छन् । समानता र समावेशी शब्दले निकै बजार भाउ पाएको छ । राजनीतिक ध्रूवीकरण बढिरहेको छ । ‘समाजवाद’ बोकेको नेपालेको संविधान कार्यान्वयनको गतिमा दौडिरहेका समाचार सबैले सुनाईरहेका छन् ।

खेल र खेल तालिका
पाँचाैँ संस्करणको प्रतियोगिता जनवरी ७ देखि २१ सम्म पाकिस्तान र दुबईमा संयुक्त रूपमा आयोजना हुँदै छ । दृष्टिविहीन टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय ढाँचाको विश्वकप क्रिकेट खेल्न लागेको हो ।

प्रतियोगितामा ६ राष्ट्र सहभागि हुँदै छन् । विश्वकपमा साविकको विजेता भारत, उपविजेता पाकिस्तान, नेपाल, श्रीलंका, अस्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

वेस्टइन्डिज, दक्षिण अफ्रिका र इंग्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने भएका छन् । राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा नेपालले जनवरी ८ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै, नेपालले जनवरी ९ मा भारतविरुद्ध खेल्नेछ ।

नेपालले १० जनवरीमा घरेलु टोली पाकिस्तानविरुद्ध मैदान उत्रनेछ । नेपाल ११ जनवरीमा दुबई प्रस्थान गर्नेछन् । दुबईको अजमानमा नेपालले चौथो खेल १३ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ । अजमानमै १५ जनवरीमा तुलनात्मक रूपमा बलियो श्रीलंकाविरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

नेपाली टोलीकोे कप्तानी किर्तन श्रेष्ठ दुवालले गर्नेछन् । टोलीको पदमबहादुर बडेला, सुनिल सुवेदी, विक्रमबहादुर राना, नरेश चौधरी र भरत चौलागाईं, सूर्यप्रसाद भट्टराई र सुनिल राना रहेका छन् । यस्तै टिममा खिमानन्द गैरे, बद्री चौलागाईं, रमेशबहादुर बानियाँ, भरत थापा र सुनिल थापा मगर छन् भने रिजन प्रजु प्रशिक्षक छन् ।

साभारः हाम्रा कुरा

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!