राष्ट्रपतिद्वारा समावेशी विकासमा जोड

December 2, 2017

world Disabilty Dayकाठमाडौँ, १७ मंसिर (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले २६औँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज  शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नारा ः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनी तथा यस क्षेत्रमा कार्यरत सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका लागि क्रमिकरुपमा विभिन्न काम भइरहेको बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउँदै लैजानु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
“संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लिखित अधिकार कार्यान्वयनका लागि नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी छ”– राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्गमैत्री कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताका विषयलाई आत्मसात् गरी स्रोत, साधनलगायत आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!