विशेष सम्पादकीयः हामीले किन मतदान गर्ने?

November 1, 2017

EDITORIAL LOGO

नेपालका जुनसुकै परिवर्तनका आन्दोलनहरू होस्, अपांगता भएका व्यक्तिहरू पहिलो पङ्तिमा रहेर आफ्नो ज्यान जोखिममा पार्दै लोकतन्त्रका लागि लडे । लोकतन्त्र र गणतन्त्रकै लागि लड्दा लड्दै हजाराैं व्यक्तिहरू अपांगताका अवस्थामा पुगे । तर अहिले आएर लोकतन्त्रको अनुभूति अपांगता भएका व्यक्तिहरूले गर्न नपाउने अवस्था आएको छ ।

नेपालको संविधान २०७२ ले सबै वर्ग, समुदायको समानुपातिक प्रतिनिधित्व हुने गरेको छ । त्यसमा अपांगता भएका व्यक्तिलाई कुनै पनि नाम र बहानामा छुटाउन वा विभेद गर्न पाइँदैन । मानव अधिकारको विश्वव्यापी सिद्धान्त र मान्यतलाइ आत्मसात गर्ने हो, संविधानले प्रदान गरेको अधिकारको सुरक्षा गर्ने हो भने अपांगता भएका व्यक्तिहरूका लागि राज्यले, देशले, समाजले विशेष व्यवस्था गर्नैपर्छ, चाहे त्यो सामाजिक क्षेत्रमा होस्, रोजगारीका क्षेत्रमा होस, प्रशासनका क्षेत्रमा होस वा राजनीतिमा  ।

अपांगता भएका व्यक्तिहरू निरीह छन्, कमजोर छन्, हामीले जे गरे पनि सही दिइहाल्छन् भन्ने सोच कसैले राख्छ भने त्यो भ्रम आजै तोडे हुन्छ । अपांगता भएका व्यक्तिहरूलाई कसैले कम आकलन नगरे हुन्छ । हो, हामी अरुले जस्तो सडकमा टायर बाल्न जान सक्दैनाैं, बन्दुक उठाउन सक्दैनाैं । तर, परिआए शान्तिपूर्ण आन्दोलन, अवज्ञामा हामी अग्रपङ्तिमा रही नै रहने छाैं ।

एकपटक फेरि यो देशका ३० लाख अपांगता भएका व्यक्तिहरू शान्तिपूर्ण आन्दोलन र अवज्ञामा उत्रनुपर्ने बेला आएको छ । किनकी निर्वाचन आयोगले यो देशका ३० लाख जनसंख्याको राजनीतिक प्रतिनिधित्व हुने व्यवस्था खोसेको छ ।निर्वाचन आयोगले प्रदेश सभा समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी अपांगता भएका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था हटाएका कारण देशभरिका अपांगता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्व नहुने भएको छ । अपांगता भएका व्यक्तिहरूको अनिवार्य समानुपातिक व्यवस्था गराउनु पर्ने विषयमा सम्मानीत सर्वोच्च अदालतले दिएको आदेशको अयोधि यादवले अपहेलना गरेका छन्, उल्लंघन गरेका छन् । अयोधि यादवहरूले के कुरा ख्याल राखुन् भने अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वसम्बन्धि व्यवस्था तत्काल सच्याइएन भने देशभरिका अपांगता भएका व्यक्तिहरूले निर्वाचन बहिस्कार गर्ने मात्र होइन, हामी व्हीलचेयर, सेतोछडी, बैशाखी, वाकर लिएर आयोगका अगाडि  अनसन गर्नसमेत तयार छाैं । अपांगता भएका व्यक्तिहरूले राजनीतिक अधिकार प्राप्तिका लागि चलाउने कुनै पनि आन्दोलनका कारण निर्वाचन प्रक्रियामा असर पारेमा त्यसका पूरै जिम्मेवार अयोधि यादवहरू हुनुपर्नेछ ।

NOVOTE

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!