समाजमै उदाहरण बनिन अभियन्ता गोरी दर्जी

October 25, 2017

धु्रवसागर शर्मा

बेनी, म्याग्दी, ८ कात्तिक (रासस) । शारीरिकरूपमा कमजोर हुँदैमा निराश र चिन्तित हुनु पर्दैन बरु मानसिकरूपमा दरलो बन्दै अगाडि बढ्ने हो भने समाजको नै अगुवा बन्न सकिन्छ भन्ने उदाहरण हातखुट्टा कृत्रिम तर दरिलो आत्मबल भएका यहाँका अगुवाले पुष्टि गरेर देखाइदिएका छन् ।

बेनी नगरपालिका–९ की गोरी दर्जीले रूखबाट लडेर खुट्टा गुमाएपछि समाजमा उनलाई ‘लौ तेरो त जीवन नै बर्बाद भयो’ भन्नेहरू धेरै थिए । २०६३ सालमा स्याउला लिन रूख चढ्नुभएकी दर्जी चिप्लिएर जमिनमा खसेपछि उहाँले आफ्नो भविष्य सकिएको महशुस गर्नुभयो । एउटा खुट्टा गुमाएपछि केही वर्ष उनको दैनिकी निकै कष्टकर भएपनि दरिलो आत्मबलका साथ सामाजिक कार्यमा निरन्तर सक्रिय हुन थाल्नुभयो । दलित महिलाकी अगुवासमेत रहनुभएकी दर्जीले दलित तथा महिलासम्बन्धी कार्यक्रममा नियमित उपस्थिति हुन थालेपछि गाउँले समेत उहाँको साहसबाट दङ्ग पर्न थाले । कृत्रिम खुट्टा प्रयोग भएको समेत अहिले धेरै गाउँलेले पत्तो पाउँदैनन् ।

दर्जीको दरिलो आत्मबल र सक्रियताका कारण गाउँका सामाजिक कार्यमा लागेकाहरूले समेत सहयोग गर्न थालेपछि अहिले उहाँ निकै उत्साहित हुनुहुहुन्छ । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडा नं। ९बाट मा नेकपा ९एमाले०का तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएपछि दर्जीलाई पार्टीले नगरकार्यपालिकामा समेत अवसर दिएको छ । जनप्रतिनिधिको भूमिकामा उहाँले गाउँमा हुने सबै कार्यक्रममा आफ्नो उपस्थिति देखाउँनुहुन्छ । “कृत्रिम खुट्टा भए पनि यो लगाउँदा नक्कलीजस्तो लाग्दैन । मेरो सक्रियताले नयाँ पुस्ताले मलाई अपाङ्ग भन्दैनन्”, दर्जीले भन्नुभयो ।

राजनीतिसँगै अपाङ्ग सङ्घ म्याग्दीको कार्यसमिति सदस्य, स्थानीय महिला समूह, दलित सञ्जालमा समेत रहनुभएकी दर्जीले अपाङ्गता भएकालाई समाजमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको बताउनुहुन्छ । दर्जी जस्तै २०६० साल चैत ७ गते माओवादीले गरेको म्याग्दी आक्रमणका क्रममा बम लागेर एउटा खुट्टा गुमाउनुभएका वडा नं।८ का कृष्णप्रसाद श्रेष्ठले कृत्रिम खुट्टाको सहयोगमा सामाजिक संस्थाको कार्यक्रमका साथै घरमै पसल सञ्चालन गर्नुभएको छ । म्याग्दी जिल्ला अदालतमा कार्यरत रहेकै अवस्थामा घाइते हुनुभएका श्रेष्ठले खुट्टा गुमाएपछि राहतका लागि डेढ दशकसम्म प्रयास गरे पनि अझै राहत पाउनुभएको छैन । “खुट्टा गुमेपछि मैले धेरै पीडा खेप्नुप¥यो, आँसुको नदी नै बग्यो”, श्रेष्ठले भन्नुभयो । राजनीतिक दलमा आबद्ध भएका अपाङ्गता भएकाले धमाधम राहत र सुविधा पाउँदासमेत आफूले निकै संघर्ष गर्नु परेको तर अपाङ्गताको नाममा महालुट भइरहेको उहाँको भनाइ छ ।

त्यसैगरी सोही नगरपालिकाको वडा नं।८ कै सुसन भण्डारीले पनि बाल्यकालमै खुट्टा गुमाउनुभयो । सम्पन्न परिवारकी भए पनि सुसनले कृत्रिम खुट्टाको साहारामा बेनीकै माउण्ट एभरेस्ट आवासीय माविबाट राम्रो अङ्कसहित एसएलसी उत्तीर्ण गरी अहिले बिबिएको दोस्रो सेमेष्टरमा अध्ययरत हुनुहुन्छ । “सबै साथीसँग घुलमिल छु, मलाई सबैले मायाँ पनि गर्छन्”, भण्डारीले बताउनुभयो । उच्च शिक्षा अध्ययन गरी निजामती कर्मचारी बन्ने लक्ष्य रहेको बनाउनुभएकी उहाँले भन्नुभयो “मैले नक्कली खुट्टा हालेको छु तर हिम्मत हारेको छैन, समाजमा धेरै राम्रो काम गर्ने लक्ष्य बोकेर हिँडेको छु”, । अपाङ्गता भएकाले समेत आफ्नो परिचय लुकाएको देख्दा अचम्म लाग्ने उहाँको भनाइ छ । बालबालिकालाई शिक्षा, जनचेतनामूलक कार्यका साथै शैक्षिक र विभिन्न सामाजिक कार्यमा समेत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आउनुभएकी सुसनले अपाङ्गता मैत्री संरचनाका लागि दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्लामा अपाङ्ग भएकाले एक दशकअगाडिसम्म परिवारको सहयोगमा आवतजावत गर्नुपर्ने अवस्था थियो । उनीहरूलाई कृत्रिम खुट्टालगायत अन्य सामग्री पाउन कठिन थियो तर प्रविधिको विकास भएपछि सजिलै पाउन थालिएको कृत्रिम अङ्गले साङ्गको जस्तै दैनिकी सहज बनाएको अपाङ्ग सङ्घका जिल्ला सचिव सुरेन्द्र खत्रीले बताउनुभयो । “विगतमा आँसुमै बित्ने दिनहरू अहिले सामाजिक क्षेत्रको अगुवाइमा बित्छन् । हाम्रो पीडालाई समाजले बिस्तारै सुन्दै जान थालेको छ”, खत्री भन्नुहुन्छ । २०६३ सालमा बेवारिसे बम विस्फोटमा परेर दुवै हात गुमाएका उहाँले अपाङ्गता भएकाको क्षेत्रको नेतृत्वमा रहेर काम गरिरहनुभएको छ ।

खत्रीले दुवै हात गुमाए पनि एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्णसमेत हुनुभयो । उहाँ अपाङ्गता भएकाको राष्ट्रियस्तरको सञ्जालमा समेत संलग्न हुनुहुन्छ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने अर्थोटिक्स र प्रोथिटिक्स सामग्री सहज उपलब्ध गराउन विभिन्न सङ्घसंस्थामा पहलसमेत गर्ने गरेको खत्रीले बताउनुभयो । हातखुट्टा गुमाएका, दृष्टिविहीनलगायत विभिन्न किसिमका समस्या भएकालाई राज्यले आधारभूत सुविधा सहजरूपमा निःशुल्क उपलब्ध गराउनुपर्नेमा समेत अपाङ्गता भएकाले माग गरेका छन् ।

यसैबीच धौलागिरि अञ्चलभित्रका कृत्रिम हातखुट्टाको प्रयोग गरिरहेकालाई लक्षित गरी बेलायतमा रहेका म्याग्देलीको साझा संस्था मोना युके र बेनी अस्पतालको सहयोगमा बेनीमा बेलायती चिकित्सकको टोलीले आयोजना गरेको कृत्रिम हातखुट्टा शिविरबाट ३५ जना लाभान्वित भएका छन् । कृत्रिम सामग्रीको प्रयोग गर्ने क्रममा समेत धेरै समस्या देखिने गरेकाले अभ्यास र प्रयोग गर्ने क्रममा अपनाउनुपर्ने सावधानीलाई समेत केन्द्रित गरी शिविर सञ्चालन गरिएको मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाले बताउनुभयो । उहाँले शिविरमा आएका बिरामीको नाप बनाएर बेलायतमै ती सामग्री निर्माण गरिने जानकारी दिनुभयो । म्याग्दीका साथै धौलागिरि अञ्चलभित्र कृत्रिम हातखुट्टा प्रयोग गर्नेको आधिकारिक तथ्याङ्कसमेत नहुँदा समस्या भइरहेको छ । जनचेतना र पहुँचको अभावमा कृत्रिम सामग्री प्रयोग गर्ने नसकेका दुर्गम क्षेत्रमा अझै भेटिने गरेको छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!