दृष्टिविहीन बालबालिका पहिलो पटक बाल क्लबमा संगठित

August 8, 2017

सिराज खान

नेपालगञ्ज, साउन २५ गते । दृष्टिविहीन बालबालिकाहरुले पहिलो पटक नेपालगञ्जमा बालक्लब गठन गरेर संगठित भएका छन् ।  स्थानीय मंगल प्रसाद माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुले एक भेलाको आयोजना गरेर नव प्रतिभा नामक बाल क्लब गठन गरी सो क्लबमा संगठित भएका छन् ।
दृष्टिविहिन बालबालिकाहरुको बाल भेलाले विष्णु विकको अध्यक्षतामा ११ सदस्यी कार्यसमिती र १३ जना साधारण सदस्य रहने गरी २६ जनाको बाल क्लब गठन गरेको छ । क्लबको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश शिवराज विक, हरि बहादुर क्षेत्री, हरिकला विक र यमजन विष्ठ रहनु भएको छ ।
अपाङ्गता भएका बालबालिकाहरुको क्षमता अभिबृद्धि तथा बालअधिकारको वकालतका लागि अपाङ्गता भएका बालबालिकाहरुलाई संगठीत गरेर बाल क्लबको गठन गरिएको नव प्रतिभा बाल क्लबका अध्यक्ष विष्णु विकले बताउनु भयो ।dristib
उहाँले दृष्टिविहिनहरुको अपांगता भएका क्षमता अभिबृद्धि गरेर उनिहरुलाई पनि अन्य बालबालिका जस्तै अगाडी बढाउन क्लबले बिभिन्न रचनात्मक काम गर्ने बताउनु भयो ।
बालअधिकार बारे सबैलाई जानकारी गराउने र अपांगता भएका बालबालिकाले पाउने सेवा सुविधा समेत सबैले थाहा पाउनु पर्ने जनाउँदै क्लबका अध्यक्ष विकले सोहीका लागि पहिलो पटक दृष्टिविहीनहरु बालक्लबमा संगठीत भएको बताउनु भयो ।
दृष्टिविहीन बालबालिकाहरु बालक्लबमा संगठीत भएपछि उनिहरुले नेपालगञ्जका अन्य विभिन्न दृष्टिविहीन र अपांगता भएका बालबालिकालाई पनि संगठीत गर्ने जनाएका छन् ।
नव प्रतिभा बाल क्लबका उपाध्यक्ष शिवराज विकले आफुहरुले आफुजस्तै अन्य बालबालिकाको खोजी गरेरै भएपनि उनिहरुलाई समेत समेट्ने बताउनु भयो ।
नेपालगञ्जको सहरी गरिब बस्तीमा बसोबास गर्ने बालबालिका र अपांगता भएका बालबालिकाका लागि आयोजना गरिएको सहयात्रा परियोजना अन्तर्गत दृष्टिविहीन बालबालिकाहरुलाई संगठीत गरिएको सेभ द चिल्ड्रेनले जनाएको छ ।  सेभ द चिल्ड्रेनसँगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरिरहेको सहयात्रा परियोजना अन्तर्गत नेपालगञ्जका ५ वटा गरिब बस्तीमा बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् ।

साभारः गोरखापत्र दैनिक

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!