‘ह्विल चियरको जिन्दगी’ सार्वजनिक

July 23, 2017

काठमाडौँ, ८ साउन । साँगास्थित स्पाइनलइन्जुरी पुनःस्थापना केन्द्रमा कृष्णप्रसाद भण्डारीद्वारा लिखित ‘ह्विलचियरको जिन्दगी’ कृति विमोचन गरिएको छ ।

wheelchairमेरुदण्ड पक्षाघात भएका करिब ६० बिरामीका बीचमा सोही समस्याबाट पीडित सिन्धुपाल्चोककी छ वर्षीया सलिना श्रेष्ठ र मुगुकी आठ वर्षीया वन्दना रावलले शनिबार उक्त कृतिको लोकार्पण गरे । 
सो अवसरमा समालोचक डा देवी नेपालले अरूलाई अपाङ्ग देख्ने मानसिक अपाङ्गहरूले यो समाज र सिङ्गो देशलाई धोका दिएका छन् भन्दै भण्डारीको लेखनले हरेक मान्छेलाई उत्साहपूर्ण जीवन जिउने कला सिकाएर आशावादी, सङ्घर्षशील एवं सकारात्मक समाज निर्माणमा ठूलो योगदान दिएको बताउनुभयो ।
दृष्टिविहीन सरिता लामिछानेले शारीरिक अपाङ्गता भएकाहरूभित्र अनन्त सम्भावना र चौतर्फी अनुभूति हुने हुँदा कसैले पनि निराश र हतार हुन नहुने विचार व्यक्त गर्नुभयो ।

नेपालीमा एमए र बीएडसम्मको शिक्षा हासिल गरी शिक्षण पेसामा संलग्न रहेकै समयमा तीनवर्ष अगाडिबाट मेरुदण्ड पक्षाघातको शिकार हुनुभएका स्रष्टा भण्डारीले उक्त घटनापछि आफ्नो जीवनले नयाँ मोड लिएको र सो मोडलाई सिर्जनात्मक कार्यमा रूपान्तरण गर्न र आफूजस्तै परिस्थितिवश अपाङ्गता स्वीकार्न बाध्य भएकाहरूको हतास मानसिकतामा उत्साह भर्न कृति तयार पारिएको जानकारी दिनुभयो ।
सो कृतिमा मेरुदण्ड पक्षाघात भएपछि पनि आफूभित्र अद्भुत क्षमता निर्माण गरी देश र विदेशमा समेत चर्चित बन्न पुगेका देवी आचार्य, ऋषिराम ढकाल, किशोरबहादुर शाही, छिरी शेर्पा, सोनिका ढकाल, प्रवीण श्रेष्ठ, तिलक पोखरेल, हिमाल अर्याल, रामबहादुर तामाङ, रमेशचन्द्र पाण्डे, लाली तामाङ, कृष्ण चौधरी, लक्ष्मी कुँवर, कृष्ण गौतम र शिव न्यौपानेका सङ्घर्षपूर्ण जीवनकथा समेटिएका छन् । कृतिको प्रकाशन गोदावरी बुक हाउसले गरेको हो । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!