तीन ठाउँमा अपाङ्गताअनुकूल मतदान केन्द्र सञ्चालनमा ल्याइने

June 17, 2017

अपाङ्कगता सरोकार

कञ्चनपुर, ४ असार ।

फायल तस्बिर

फायल तस्बिर

अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहजता प्रदान गर्ने उद्देश्यले कञ्चनपुरमा नमुनाका रुपमा तीन ठाउँमा अपाङ्गताअनुकूल मतदान केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार कृष्ण माध्यमिक विद्यालय गुलरिया, महेन्द्र मावि महेन्द्रनगर र शान्ति निकेतन मावि ऐठपुरलाई  अपाङ्गताअनुकूल बनाइएको छ ।

सहजै अपाङ्गता भएका व्यक्तिले ह्विलचेयर गुडाएर मतदान गर्न सक्ने व्यवस्था मिलाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख केशव भण्डारीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी र्‍याम‍्प निर्माण गरिने छ” – उहाँले भन्नुभयो ।

यसअघिको संविधानसभाको निर्वाचनमा समेत यिनै तीनवटा मतदान केन्द्रलाई नमुनाका रुपमा  अपाङ्गताअनुकूल मतदान केन्द्र बनाइएको थियो ।

अन्य मतदान केन्द्रमा समेत अपाङ्गता भएका व्यक्तिहरु, अशक्त, वृद्धवृद्धालगायतलाई समेत मतदान केन्द्रमा लाइनमा नबसी सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था गरिने अधिकृत भण्डारीले बताउनुभयो ।

जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या नौ हजार ७० भए पनि चार हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्ति मतदाता रहेका छन् । कञ्चनपुरमा १३२ मतदानस्थल र २९३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

स्थानीय तहको दोस्रोचरणको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्नका लागि यहाँ एक हजार ७५० कर्मचारी खटाइने तयारी गरिएको छ ।

प्रत्येक निर्वाचन केन्द्रमा छजनाका दरले कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!