अपाङग र अशिक्षित परिवारमा उदाहरणीय मनमाली

March 28, 2017

(उमा केसी)

रोल्पा, १५ चैत । पितृसत्तात्मक हाम्रो समाजमा महिलाले केही गर्न सक्दैनन् भन्ने सोचलाई चिरफार गर्दै ग्रामीण भेगमा बस्ने असाक्षर महिलाले पनि चाहे भने परिवार र समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् – रोल्पा खुमेलकी मनमाली कामी । 

भारतको कज भन्ने ठाउँमा बसेर काम गर्न थालेको चार वर्ष भएको थियो । उनका श्रीमान् रामसिंह कारखानामा काम गर्थे । मनमाली पनि दैनिक मजदुरीमै व्यस्त रहन्थिन् । दुवै जनाले कमाइ गरी नेपाल फर्केर केही जग्गा किन्ने र एउटा राम्रो घर बनाउने उनीहरुको सपना थियो ।

एक दिन कारखानामा काम गर्दागर्दै रामसिंहका दुवै आँखामा एक्कासि बिजुली चम्के झैँ भयो, अनि दुवै आँखा बन्द भए । १९ वर्षकै उमेरमा गाउँकै रामसिंह कामीसँग विवाह गरेकी खुमेल–४ की मनमाली कामीको जीवनमा यसरी बज्रपात भयो ।

घरको आर्थिक अवस्था कमजोर रहेका कारण कमाइ गर्न श्रीमान् रामसिंहसँगै भारत गएकी मनमाली घर फर्कँदा पैसा लिएर आउनुको साटो बिरामी श्रीमान् लिएर फर्किइन् । काखमा एक वर्षको छोरो थियो । छोराको स्याहार गर्दै मजदुरी गर्न भ्याएकी मनमालीका श्रीमान्ले एक्कासि दुवै आँखा देख्न छाडेपछि उनलाई निकै पीडा भयो ।

भारतमै रहेका रामसिंहका साढुभाइले एउटा आँखा दान गर्न तयार भए तर उनको आँखाको नली नै सुकेको भन्दै डाक्टरले आँखाको ज्योति फर्काउन सम्भव नभएको बताएपछि उनी, श्रीमान् र एक वर्षको नाबालक छोरा काखी च्यापेर नेपाल फर्किइन् । घर फर्किएपछि समाजमा खासै सहयोग पाएनन् कामी दम्पतीले ।

अरुको काम गर्दा पनि भनेजति ज्याला नपाउँदा कैयौँ दिन त भोकभोकै बसेको सम्झना छ मनमालीलाई । गाउँमा गरी खान निकै समस्या भएपनि साथमा एक छोरा र एक छोरी च्यापेर सदरमुकाम लिवाङ आएका कामी दम्पती १२ वर्षसम्म लिवाङमा कठिन ज्याला मजदुरी गर्थे । आँखा नदेख्ने भएपनि रामसिंह श्रीमतीको सहारामा गिट्टी फोर्ने गर्थे । ढुङ्गामा हान्ने घन कतिपटक हातमा हानेर घाउ समेत बनाए उनले ।

धेरै वर्षसम्म उनीहरुले नयाँ लुगा लगाउनै पाएनन् । अरुले दिएका लुगा लगाएर धेरै वर्ष काटेका उनीहरु जाडोको मौसममा ओढ्ने ओछ्याउने कपडाका अभावमा कति रात आगो तापेर बसेका थिए । दुःखजिलो गरेर पैसा कमाए पनि कमाएको जति धेरै खानामै खर्च हुन्थ्यो । केही पैसा वचत गरेर कामी दम्पतीले सदरमुकाममा एउटा ठेला किने । ठेलामा तरकारी घुमाउँदै बिक्री गर्न थाले दुवै जनाले ।

श्रीमती मनमालीले कोठामा बसेर तरकारी बिक्री गर्ने, श्रीमान्ले ठेलामा घुमाउँदै तरकारी बेच्ने गर्न थाले । ईश्वर दाइना भए, उनीहरुको कमाइ विस्तारै बढ्दै गयो । कमाएको पैसा सबै तरकारीमै लगानी गर्न थाले । मनमालीले थोकमा तरकारी बेच्न थालिन् ।

साहुहरुले पनि कामी दम्पतीको मेहनत र लगनशीलता देखेर उधारोमा तरकारी दिन थालेपछि उनीहरुको व्यापार फस्टाउँदै गयो । सदरमुकाममा साना तरकारी पसल खोलेर बसेका उनीहरुको पसलबाटै मानिसहरुले तरकारी खरिद गर्न थाले ।

अहिले सदरमुकाम लिवाङमा रु १२ लाखमा एउटा घडेरी समेत किनेका छन् । अब आफ्नै घर बनाउने सोच बनाएका छौँ, मनमालीले भनिन्, “घडेरी किन्दा केही ऋण पनि गरेका थियौँ, त्यो ऋण तिरेर सकिएपछि घर निर्माण थाल्ने सोच बनाएका छौँ ।”

कामी दम्पतीले व्यवसायलाई सघाउन एकजना सहयोगी समेत राखेका छन् । सहयोगीको खर्च मात्रै हरेक महिना झन्डै रु १५ हजार पुग्ने उनीहरुले बताएका छन् । दैनिक सरदर रु १० हजारको तरकारी बिक्री हुँदै आएको रामसिंह कामीले बताए ।

अहिले उ ठूलो भइसक्यो, पढ् भनेको नमानेर भारत गएको छ रामसिंहले भने । छोरीहरुलाई पढाएर ठूलो मान्छे बनाउने इच्छा भएकाले उनीहरुको पढाइमा सकेजति लगानी गर्न आफूहरु तयार रहेको कामी दम्पतीले बताए ।

कलिलै उमेरमा दुवै आँखाको ज्योति गुमाएर बाँच्ने आशा करिब करिब मारिसकेका रामसिंहलाई श्रीमतीको सहयोग नभएको भए उनको अवस्था कस्तो हुन्थ्यो होला ? श्रीमती थोरै मात्र अशक्त वा अपाङ्ग भए अर्को विवाह गर्ने हाम्रो पुरुषप्रधान मानसिकतालाई पतिव्रता भएर राम्रो शिक्षा दिएकी छिन् मनमालीले ।

एकजना महिलाले आँट गरेमा लथालिङ्ग भएको घरलाई पनि कसरी व्यवस्थित बनाउन सकिँदो रहेछ भन्ने गतिलो उदाहरण बनेकी छिन् – मनमाली कामी । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!