गरिबको निवेदन प्रधानमन्त्री कार्यालयबाटै गायब : सिंहदरवारबाट यसरी लखेटिए लाल गिरी

March 1, 2017

शम्भु दंगाल/रातोपाटी अनलाइन

काठमाडौं – सधैँ हाइप्रोफाइलहरुको दौडधुप हुने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आँगनमा मंगलबार बिहान एउटा रिक्सामा झुत्रो मैलो लुगा लगाएका एक बृद्ध देखिए । उमेरले ६० कटेका अपाङ्गता भएका यी बृद्ध राम्ररी आँखा समेत देख्न नसक्ने थिए । उनको एउटा आँखा बिग्रिएको थियो भने दुबै गोडा नचल्ने थियो । अपाङ्गता भएकाहरुले प्रयोग गर्ने रिक्सामा रहेका उनी पूर्णरुपमा नचलने हातले मुस्किलले रिक्सा चलाँउन सक्थे । उनी पूरानो बसपार्कबाट त्यही रिक्सा कुदाएर सिंहदरवारसम्म पुगेका थिए ।

यी बृद्ध बाजुराका लाल गिरी हुन् । उनी काठमाडौंको पूरानो बसपार्कमा बस्छन् । असक्तताका कारण कठिन रुपमा दिन बिताइरहेका उनले मागेर जीवन गूजारा गर्दैै आएको बताए । आर्थिक अवस्था अत्यन्तै कमजोर र औषधी उपचार गर्न नसक्नेहरुका लागि प्रधानमन्त्री कार्यालयले आर्थिक सहायता गर्ने थाहा पाएका गिरीले प्रधानमन्त्री कार्यालयमा झन्डै ६ महिना अघि निवेदन दर्ता गराएका थिए ।

निवेदन दिएपछि दशौपटक प्रधानमन्त्री कार्यालय धाएको बताउने उनी मंगलबार पनि आर्थिक सहायताको आशामा प्रधानमन्त्री कार्यालय अगाडि पुगेका थिए ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा उनले ५ हजार आर्थिक सहायता पाएका रहेछन् । त्यसपछि हरेक बर्ष उनी सरकारको दैलोमा सहयोगको आशा बोकेर आउने गरे पनि सधै निराश भएर फर्कने गरेका रहेछन् ।

प्रधानमन्त्री कार्यालयबाटै फाइल हरायो

६ महिनाअघि उनले प्रधानमन्त्री कार्यालयमा ५ हजार आर्थिक सहायताको आसमा निवेदन दर्ता गरेका रहेछन् । त्यसबेला प्रधानमन्त्री कार्यालयले चिठी दर्ता भएको कागजको चिर्कटो थमाएर पछि आउनुस भनेर पठाएकोे थियो । उक्त कागज अनुसार २०७३ असोज १३ गते प्रधानमन्त्री कार्यालयमा उनको चिठी दर्ता भएको थियो । उनको चिठीको दर्ता नंबर ४०७४ हो । तर अहिले प्रधानमन्त्री कार्यालयबाट उनको फाइल हराएको छ ।

प्रधानमन्त्री कार्यालयमा पुगेर उनले प्रहरीलाई आफ्नो निवेदनको दर्ता नम्बर दिएर केही निर्णय भयो कि भनेर बुझ्न पठाए ।

आधा घण्टापछि प्रहरी जवान आएर तपाईको चिठी गृहमन्त्रालय गएको छ, उतै जानुस भनेर पन्छाँउन खोजे ।

तर लाल गिरीले पहिला पनि आफूलाई यसैगरि झुक्काएको भन्दै गृहमा चिठी पठाएको मिति भएको कागज दिन भने । उनले अड्डी कसेपछि ती प्रहरी जवान प्रधानमन्त्री कार्यालयको नीजि सचिवालयमा गएर भने– ‘यी बुढा गृहमा चिठी गएको मिति नलिइकन जानै मान्नुहुन्छ, म के गरुँ हजुर ।’ सचिवालयका कर्मचारीले प्रहरी जवानलाई कन्ट्रोल रुममा पनि फाइल छैन भनेर सोधे । कन्ट्रोल रुममा पनि फाइल भेटिएन भनेर ती प्रहरी जवानले जवाफ दिए । अन्तमा जसरी भए पनि यी बृद्धलाई प्रधानमन्त्री कार्यालयबाट पन्छाउने जुक्ति प्रधानमन्त्रीको नीजि सचिवालयले निकाल्यो । सचिवालयका एकजना कर्मचारीले भने–‘गृहमन्त्रालयमा चिठी पुगिसक्यो, उतै सहायता लिन जानुस् भनेर पठाईदिनुस ।’ त्यसपछि प्रहरी जवानले यहाँ नआँउनुस् गृहमन्त्रालय जानुस् भनेर प्रधानमन्त्री कार्यालयबाट हटाए ।

प्रधानमन्त्री कार्यालयबाट गृहमन्त्रालय

मुस्किलले रिक्सा चलाँउदै लाल गिरी गृहमन्त्रालयतिर लागे ।

गृहमन्त्रालयको समन्वय तथा सहजीकरण शाखाले आर्थिक तथा उपचार सहायता बिषयमा हेर्ने गर्छ । प्रधानमन्त्री कार्यालयमा आर्थिक तथा उपचार सहायतका लागि दर्ता भएर गृहमन्त्रालय पुगेको चिठीपत्र त्यहाँ पनि दर्ता गरिन्छ ।

प्रहरीको सहयोगमा उक्त शाखा अघि पुगेपछि त्यहाँका शाखा अधिकृत काशीराम शर्मासँग प्रधानमन्त्री कार्यालयबाट आफूलाई यसरी पठाएको भनेर गुनासो गरे । अधिकृत शर्माले निकैबेर लगाएर दर्ता फाइल र चिठीपत्र हेरे तर फाइल भेटिएन । खासमा प्रधानमन्त्री कार्यालयबाट गृहमन्त्रालयमा लाल गिरीको पत्र नै नपुगेको पत्ता लाग्यो ।

गृहले फेरी प्रधानमन्त्री कार्यालय देखायो

अधिकृत काशीराम शर्माले कुन मितिमा प्रधानमन्त्री कार्यालयले चिठी पठाएको हो, त्यसको चलानी नंबर ल्याउन भन्दै गिरीलाई फेरी प्रधानमन्त्री कार्यालयमा चिठी लिन पठाए । उनी बिलौना गर्दै प्रधानमन्त्री कार्यालयतिर फर्किए– ‘म बुढो अपाङ्गलाई किन दुःख दिएको होला, मैले पाँच/छ लाख त मागेको हैन नी । कोही नभएको रोगी अपाङ्गले ५ हजार माग्दा किन दुःख दिएको होला । नहुने भए त हुन्न भने भइहाल्थ्यो नी ।’

अनि रुदै फर्किए…

गृहबाट फेरी प्रधानमन्त्री कार्यालय फर्किएका उनलाई गृहतिरै जान भनेर प्रहरीले फर्काइदियो । माधवकुमार नेपाल सरकारले पाँच हजार दिएको भन्दै बाबुराम भट्टराईको पालामा पनि आफूलाई धेरै झुलाएर सहायता नदिएको भन्दै दुःख मनाउ गरे । प्रधानमन्त्री कार्यालयबाट हामी जस्ता गरिब असक्तले सहयोग पाउन नसकिने रहेछ भन्दै गहभरी आँशु पारेका उनी रिक्सा चलाँउदै पूरानो बसपार्क फर्किए ।

बिडम्बना, त्यही सिंहदवारमा सोही पूर्व प्रधानमन्त्री सुशील कोइरलाको नाममा क्यान्सर अस्पताल निर्माण गर्ने निर्णय गर्यो । त्यसअघि फागुन ९ गते मात्र विमलेन्द्र निधीका पिता महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको लागि ३ करोड अनुदान दिने निर्णय गरेको थियो । उक्त अस्पतालले वर्षेने करोडौँ रुपैयाँ अनुदान पाउने गरेको छ । त्यही सिंहदरवारबाट एमाले अध्यक्ष केपी ओली, पूर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस नेतृ सूजता कोइरालाले उपचार रकम बापत करोडौँ रुपैयाँ पाए । तर, अपाङ्ग लाल गिरी त्यहाँबाट रित्तो हात फर्कन बाध्य भए ।

भिडियोसहितको रिपोर्ट

http://www.ratopati.com/news/121902/

साभारः रातोपाटी

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!