सांकेतिक भाषामा सुझाव

July 23, 2015

नगेन्द्र अधिकारी काभ्रे, श्रावण  – अपांगता भएका व्यक्तिहरूले पनि संविधानको प्रारम्भिक मस्यौदामा सुझाव प्रस्तुत गरेका छन्।काभ्रे क्षेत्र ३ अन्तर्गत बनेपामा आयोजित सुझाव संकलन कार्यक्रममा काभ्रे बहिरा विकास संघका महासचिव दिनेश बादे श्रेष्ठले दोभाषेको प्रयोग गरेर सांकेतिक भाषामा सुझाव प्रस्तुत गरे। बहिरा उनले सांकेतिक रूपमा व्यक्त विचार दोभाषे कृष्णप्यारी नकर्मीले सभासद आरजु देउवा, कञ्चनचन्द्र बादेलाई उल्था गरेर सुनाइन्।

Disabled

संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव प्रस्तुत गर्दै काभ्रे बहिरा विकास संघका महासचिव दिनेश बादे श्रेष्ठ।तस्बिर : नगेन्द्र/कान्तिपुर

‘बोल्न सक्नेको कुरा संविधानमा आउला,’ दोभाषेमार्फत दिनेशले भने, ‘हामी बोल्न नसक्ने अपांगता भएका व्यक्तिका सुझाव पनि कार्यान्वयन हुनुपर्‍यो।’ सोमबार उनीहरूले अपांगता भएका व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरू बसेर संविधानमा दिने सुझावबारे छलफल गरेर २५ बुँदामा सुधार्नुपर्ने विषयबारे निष्कर्ष निकालेका थिए। भेलाको निष्कर्ष दिनेशले प्रस्तुत गरेका हुन्।

उनीहरूले सांकेतिक भाषालाई मातृभाषा राष्ट्रभाषाको मान्यता दिन माग गरेका छन्। देवनागरिक लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख भएकोमा उनीहरूले बहिराको भाषिक पहिचान ‘नेपाली सांकेतिक भाषा’ हुने उल्लेख गर्न माग गरेका छन्। अपांगता भएकै कारण भेदभाव नहुने ग्यारेन्टी गर्न पनि उनीहरूले माग गरे। असहाय, अनाथ र अपांगता भएका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने उल्लखे गर्न पनि सुझाव दिए। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने प्रतिनिधिसभा र राज्य सभाको निर्वाचनमा पनि अपांगता भएका व्यक्तिको प्रतिनिधित्व गराउने कानुनी व्यवस्था गर्न उनीहरूको माग छ।

हाम्रो कुरा सुनियोस्

ताप्लेजुङ– गीत गाउँदै दुईचार पैसा संकलन गर्दै हिँड्ने दृष्टिविहीनले संविधानसभाबाट संविधान जारी भएपछि आफूहरूले मागेर हिँड्नु नपर्ने अवस्था बन्ने अपेक्षा गरेका छन्। सोमबार आयोजित सुझाव संकलन कार्यक्रममा पुगेका दृष्टिविहीनको टोलीले सभासदसमक्ष यस्तो अपेक्षा राखेका हुन्।

जिविस हलमा आयोजित कार्यक्रममा दृष्टिविहीनहरूले नेताहरू प्रधानमन्त्री, मन्त्री बन्ने वित्तिकै उपचारका लागि विदेश जाने गरेकाले स्वास्थ्य अवस्था राम्रो भएकालाई मात्रै प्रधानमन्त्री, मन्त्री बनाइनुपर्ने र नेताहरूको शैक्षिक योग्यता तोकिनुपर्ने सुझाव दिए।

अधिकांश महिलाले बलात्कारी, गुण्डागर्दी र ज्यानमारालाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने बताएका थिए। अपांगलाई खानपानको व्यवस्था राज्यले गर्नुपर्ने, अख्तियारलाई अधिकार सम्पन्न बनाउनुपर्ने सुझाव सर्वसाधारण नागरिकले दिएका छन्।

साभार कान्तिपुर

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!