संबिधानमा हाम्रो अधिकार कहाँ छ ? अपाङ्गता भएका ब्यक्तिका अधिकार कस्ले खोसे !

July 21, 2015
माधव चम्लागाई

माधव चम्लागाई

माधव चम्लागाई ।  यो देशमा अधिकार खोज्नेहरुलाई सकेसम्म दवाइन्छ, थिचिन्छ, निमोठिन्छ, आवाजहरु उठे भने शासकहरु कानमा तेल हालेर नसुनि बस्छन् । बाक्ला कानहरुले नसुनेपछि थिचिएका आवाजहरु बिष्पोठित हुदै आन्दोलन तिर धकेलिन्छन् । अपाङ्गता भएका ब्यक्तिले उठाएका आवाजहरु शासकहरुले सुन्ने चेष्टा गरेनन् । बन्न लागेको संबिधानको मस्यौदामा राजनैतिक तथा सामाजिक न्याय र समाबेशीकरणको नीति कुनैमा अपाङ्गता भएका ब्यक्तिका अधिकार राजनैतिक शिर्ष नेतृत्वले अटाउनुपर्ने महसुश नै गरेनन् । कतिपय घटनाहरु नबुझेर यस्तो हुन्छ तर यहाँका घटना हेर्दा लाग्छ यी सबै नियतवस भएका हुन् । हाम्रा आवाजहरु बुलन्द बनाउदै नेतागणका कानमा ड्याग्रो ठोक्न जरुरी भएको छ । नत्र बन्न लागेको संबिधानमा हाम्रा अधिकारहरु गुम्नेछन, खोसिनेछन् र यो देशका बसोबास गर्ने ३० लाख अपाङ्गता भएका ब्यक्ति तथा आउने सन्ततीले अधिकार सुनिश्चित गर्न नसकेको भनेर हामीलाई धिकार्ने छन् । ०६२/६३ को आन्दोलन सुरु भएपछिका केही घटनाक्रमहरु हेरौ ।

घटना न .१

सबै तह र तप्काका ब्यक्तिहरु आन्दोलनमा होमिन थाले, ०६२/६३ को आन्दोलनको अग्रपङ्तिमा ह्वील चियरमा बस्नेहरु, सेतो छडि टेक्नेहरु देखिनथाले । कतिपय ठाँउमा आन्दोलनले उग्ररुप लिन थालेपछि सक्नेहरु भाग्थे र प्रहरीको रामधुलाई खाने तथा घाइते हुनेमा भाग्न नसक्ने ह्वील चियरमा बस्ने,  सेतो छडि टेक्नेहरु का पनि नाम आँउथ्यो । अनि कतिपय मिडियामा समाचारका शिर्षक बन्थे “ह्वील चियरमा बस्ने र सेतो छडि टेक्नेलाई पनि छोडेन सरकारले, अपाङ्गता भएका ब्यक्ति माथि ब्यापक धरपकड ” अहिलेका ठुला दलका कतिपय ठुला भनिने नेताहरु चोक चोकमा भाषण गर्दै कुर्लिन्थे र आन्दोलनमा होमिन उक्साउदै भन्ने गर्थे “सेतो छडि या ह्वील चियर भाचिए भाचियोस तपाईहरु रक्तिभर नडराउनुहोस् यो अव आउने पुस्ताको लागि अन्तिम लडाँई हो,  लोकतन्त्र आएपछि तपाईहरुका सबै अधिकार सुनिश्चित हुनेछन् । सबैजना आन्दोलनमा होमिनुहोस ।”

घटना न . २

लोकतन्त्र आयो,  हाम्रा अधिकार सुनिश्चित हुने भए भन्दै सबै तिर खुसी छायो, जनजाति, दलित, अल्पसंख्यक, मुस्लिम, महिला, मधेसी, अपाङ्गता भएका ब्यक्ति सबैको प्रतिनिधित्व हुने भन्दै २०६४ मा ६०१ सदस्यीय जम्बो संबिधानसभाको चुनाव हुने भयो । समानुपातिक तर्फ भने केही दलले अपाङ्गता कै प्रतिनिधि भनेर सभासद बनायो,  हाम्रा आवाज पनि संबिधानसभामा पुग्ने भयो भन्दै धेरैले खुसी मनाए । संबिधानसभा भंग भयो फेरी संबिधानसभा कै दोस्रो चुनाव हुने भयो, ६०१ कै चुनाव भयो कुनै पनि दलले अपाङ्गता कै प्रतिनिधित्व भनेर सभासद बनाएनन् । हाम्रो अधिकार संबिधानमा नसमिटिने भयो भन्दै यो क्षेत्रका ब्यक्तिहरु आन्दोलित भए पछि मनोनित हुन बाँकी २५ जनामा जसरी भए पनि सहभागी गराउने सुनिश्चित गर्ने भन्दै सरकारले सहमति गर्यो, सरकारका जिम्मेवार मन्त्रीले हस्ताक्षर गरी आश्वस्त पार्न खोजे, आन्दोलन रोकियो ।  भएको सहमतिबारेमा बुझ्न प्रधानमन्त्रीलाई भेट्न अपाङ्गता भएका ब्यक्तिहरु प्रमको निवास बालुवाटार पुगे र बेलिबिस्तार लगाए पछि प्रधानमन्त्रीले होर यस्तो सहमति पनि भएको थियो र ? भन्ने प्रतिप्रश्न गरे पछि मात्र थाहा भयो सहमति गर्ने सरकार कै मन्त्रीले प्रधानमन्त्री र दलका नेतालाई जानकारी नै गराएनछन् । सगै देखिएका उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिहाले तपाईहरुको दलमा पनि छलफल चलाईहाल्नुहोस र म पनि मेरो दलमा छलफल चलाँउछु । दलहरुको बैठकमा पनि कुरा उठाउनु पर्छ । १५ प्रतिशतको हाराहारीमा जनसंख्या भएका अपाङ्गता भएका ब्यक्तिहरुका प्रतिनिधिहरुले दुबै ठुला दलका जिम्मेवार नेताहरु भेटेर कुरा राख्न पाउँदा ६०१ मा एक जना भए पनि अव चाँही प्रतिनिधित्व भइ संबिधानसभामा हाम्रा अधिकारका कुरा उठ्ने भयो भन्दै फुरुङ हुदै फर्किए । दलहरुले बाँकी २५ जना कै मनोनयन गरे अपाङ्गता भएका ब्यक्ति कोही परेनन् । सबै खिस्स परे ।

घटना ३

संबिधान बन्ने पक्का झै भयो,  मस्यौदा सार्वजनिक भयो,  आआफ्नो अधिकार सुनिश्चित भयो होला मस्यौदा खोज्दै पढ्न थाले  । अपाङ्गता भएका ब्यक्तिहरुले पनि तेसै गरे । मस्यौदा हेर्दै जाँदा मधेसी, दलित, जनजाति  लगायतको राजनैतिक अधिकार सुनिश्चित भएको देखे लाइन लाइन खोज्दै हाम्रो अधिकार कहाँ पो लेखे छन् भनेर सरसर्ति पढ्दा पो थाहा पाए, न त राजनैतिक अधिकार समेटिएको छ न त सामाजिक न्याय र समाबेशीकरणको नीतिमा उल्लेख छ, किन यी दलहरुले यो समुदायको सहभागिताको हक खोसे ? संबिधानमा खोई त हाम्रो अधिकार कहाँ छ  ?

के प्रकृतिले या दुर्घटनाले फरक ढंगको सक्षम बनाउँदैमा राष्ट्र निर्माणमा उनीलाई बन्चित बनाउँन पाइन्छ ? यो समाजले  यस बर्गलाई दया हैन् अवसर चाहेको हो भन्ने कुरा कहिले बुझ्छ ? अवसर पाए भने देश र जनताको लागि अतुलनीय योगदान गर्न सक्छन् भन्ने कुरा नीति निर्माणमा बस्नेले कहिले सोच्लान ?  संबिधान बनाउन मुख्य भूमिका खेल्नेहरु मध्ये कै कतिपय दुर्घटनामा परेर अपाङ्गता भए भने आफैले बनाएको संबिधान पढ्दा उनीहरुलाई कस्तो अनुभव होला ?

संबिधानमा अपाङ्गता भएका ब्यक्तिहरुका राजनैतिक, सामाजिक न्याय र समाबेशीकरण सम्बन्धी अधिकार सुनिश्चित गर्न बिभिन्न चरणमा आन्दोलन तथा राजनैतिक तहका उच्च ब्यक्तिहरुलाई ह्वील चियर लिएरै उनीहरुकै निवास तथा बिभिन्न ठाँउमा पुगेर भेट्दा अधिकाशंले तपाईहरुको माग जायज हो म पहल गर्छु भन्ने उत्तर अधिकाशंका मुखबाट पाएकै हुन् । मस्यौदा लेख्न दलहरुले खटाएका कतिपय नेताले यी कुरा समेटिने भनेर भनेकै हुन् ।

यतिहुदाँ हुदैँ पनि अपाङ्गता भएका ब्यक्तिका अधिकार संबिधानको मस्यौदामा समेटिएन् । राष्ट्रिय अपाङ्ग महासंघ तथा लोकतान्त्रिक अपाङ्ग महासंघ लगायतका संस्थाहरुको अगुवाईमा उच्च तहका नेताको घर दैलोमा अधिकार खोसिएको बिषय लिएर अपाङ्गता भएका ब्यक्तिहरु पुगिरहेका छन् । पछिल्लो समयमा भेटिएका नेताहरुमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शुशील कोइराला,  संबिधानसभाका सभाध्यक्ष सुवास नेम्वाङ, एमालेका अध्यक्ष केपी ओली, एमाओबादीका अध्यक्ष पुष्प कमल दाहाल,  एमाओबादी कै बाबुराम भट्टराई, एमालेका नेता माधव कु नेपाल, बामदेव गौतम् , नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, गगन थापा लगायतका नेतागणहरुलाई भेटेर राजनैतिक तथा अन्य अधिकार सुनिश्चितको लागि ज्ञापनपत्र दिदै पहल गर्न अनुरोध गरियो । पहिला झै सबैले हुन्छ हुन्छ अपाङ्गता भएका ब्यक्तिको अधिकार छुटेछ हामी समेट्ने छौ ।  उच्चतहमा कुरा राख्छौ भन्ने उत्तर पाएका पाएका छन् । तर अव चाँही पहिला झै फुरुङ हुने दिन गएका छन् यी कुरामा तुरुन्तै बिश्वास गर्ने दिन गए । लगातार खवरदारी तथा दवाव दिन छोडियो भने फेरी पनि खिस्स हुने दिन नदोहोरिएला भन्न सकिन्न् । अझै पनि केही दलका प्रभावशाली नेताहरु राजनैतिक तथा सामाजिक न्याय र समाबेशीकरणको नीतिमा समेट्नु पर्छ भन्नेमा सकारात्मक छैनन् ।

अपाङ्गता भएका ब्यक्तिका प्रतिनिधिहरुसगको भेटमा बहालवाला उपप्रधानमन्त्री तथा गृहमन्त्री तथा एमालेका जिम्मेवार नेता गौतमले राजनैतिक अधिकार किन चाइयो र ? बस्नुहोस खानुहोस, भनेर ३० लाख भन्दा बढी अपाङगता भएका ब्यक्तिको अवमूल्यन गरेको कुरा भेटका एक सदस्यले मिडियामा नै भनिदिए । यी जिम्मेवार नेता गौतमले धेरै नेताको मनोभावको प्रतिनिधित्व गर्दै यि कुरा ओकलेका थिए । धेरै नेताहरुले अपाङ्गता भएका ब्यक्तिहरुसगको भेट्मा एउटा कुरा गर्ने तथा भित्री मनमा अर्कै कुरा राख्ने गरेको स्पष्टै हुन्छ ।

यो सवालमा यी सबै भन्दा फरक भने कांग्रेस नेता गगन थापा देखिए उनले अपाङ्गता भएका ब्यक्तिहरुको भेटमा यी कुराहरु समेट्न सक्दो लाग्छु भनेर बचन दिएका थिए । नेता थापाले संबिधानको मस्यौदालाई अन्तिम रुप दिनको लागि भएको छलफलमा संविधान मस्यौदा समितिमा लिखित रुपमा नै फरक मत राख्दै ४ नम्बर बुदामा अपाङ्गता भएका ब्यक्तिको अधिकारको बारेमा यसरी बोले ।

” प्रतिनिधिसभाका सन्दर्भमाः भाग ८ धारा ८८ को उपधारा २ मा उल्लेखित सुचिमा ‘अपाङ्गता भएका व्यक्ति’ थप गर्ने र सो प्रावधानलाई प्रष्ट वनाउदै समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने प्रतिनिधिसभाको निर्वाचनमा ‘प्रत्यक्षतर्फको निर्वाचनको परिणाम आएपश्चात प्रत्यक्षतर्फ छुटेका समुदाय र क्षेत्रलाई प्राथमिकता दिई समानुपातिक छनोट गर्नुपर्ने’ व्यवस्था सुनिश्चित गर्ने । भाग १३ धारा १७५ मा रहेको प्रदेश व्यवस्थापिकाको गठनका सन्दर्भमा पनि सोहि अनुरुप हुने व्यवस्था गर्ने ।”

सभासदको नाताले कांग्रेस नेता थापाले जे गर्न सक्थे सो गरेर ३० लाख अपाङ्गता भएका ब्यक्तिको मन जितेका छन् । उनको यो प्रयास एक्लो बृयस्पति झुटो साबित नहोला भन्न भने सकिन्न् । यति हुदा हुदै पनि सामाजिक न्याय र समाबेशीकरणको नीतिमा भने अपाङ्गता भएका ब्यक्तिहरु छुटेको कुरालाई धेरैले आवाज उठाउन सकेका छैनन् ।

अपाङ्गता भएका ब्यक्तिहरु भित्रै पनि पुर्ण अशक्त, अति अशक्त, महिला, बालबालिका,, कुष्ठप्रभावित, हेमोफेलिया, अटिजम, मस्कुलर डिस्ट्रीफी, डाउनसिन्ड्रोम, बहुअपाङ्गता, बौद्धिक अपाङ्गताहरु अन्यको तुलनामा अझ पिल्सिएका छन भन्ने कुरा कसैले भुल्नु हुन्न । सिमान्तकृत तथा पिछडिएका समुदाय भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था अझ दयनीय रहेको छ । यी र यस्ता अपाङ्गता भएका ब्यक्तिहरु भित्र पनि बहुप्रतिभा तथा राष्ट्र निर्माण गर्न सक्ने क्षमता रहेको हुन्छ भन्दा धेरैले खिल्ली उडाउलान् तर अवसर आएको खण्डमा इमान्दार भएर राष्ट्र सेवामा होमिदै गर्न सक्ने स्टेफन हकिन्स,  हेलेनकेलर, लुईसब्रेल, झमक कुमारीहरु हाम्रो डाँडा पाखा, हिमाल, तराई र पहाडमा छ्यापछयाप्ती नभेटिएलान भन्न सकिन्न् । म के चाँही दावाको साथ भन्न सक्छु भने हाम्रै समाजमा भित्रै अहिले पनि दयाका पात्र बनाइएका कतिपय अपाङ्गता भएका ब्यक्तिहरु अवसर पाएमा उच्च तहमा बसेर देश निर्माणको भिजन दिन सक्नेछन् । हामीलाई दया हैन्, अवसरको खाँचो छ ।  अव बन्ने संबिधानमा हामीले बसी बसी खाने अधिकार खोजेको होइन्, समाजसग प्रतिस्पर्धा गर्न सक्ने अवसर खोजेको हो । धेरै जान्ने, धेरै बुझेका नेपाली जनताको भबिश्य मुठीमा बोकेर बसेका नेतागणहरुलाई यी कुरा कस्ले सिकाइ देलान !

(लेखक : अपाङ्गता भएका  माधव चम्लागाई आम संचार तथा पत्रकारितामा स्नात्तोउत्तर गरी  हाल नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । )

साभार http://www.hamrakura.com/200824.html#sthash.wtcZqWZO.egdJoo7d.dpuf

Comments

One Comment on संबिधानमा हाम्रो अधिकार कहाँ छ ? अपाङ्गता भएका ब्यक्तिका अधिकार कस्ले खोसे !

  1. Hary Ramadhana Nasution on Sat, 17th Feb 2018 12:27 am
  2. will people with disabilities will fulfill their future needs?

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!