उसलाई पनि नछुटाउनुस् है !

May 23, 2014

डा. कमल लामिछाने
व्यक्तिगत मात्र नभई राष्ट्रको समग्र विकासमा शिक्षाको महत्त्व अधिक हुन्छ । यही यथार्थता मनन गरी सन् २०१५ भित्रमा ‘सबैका लागि शिक्षा’को अवधारणा लागु गरिएको हो । तर विश्वव्यापी रूपमा १८ प्रतिशत र दक्षिण एसियामा मात्रै २५ प्रतिशत बालबालिकाहरू प्राथमिक शिक्षाबाट बञ्चित भएको युनेस्कोको सन् २००९ को तथ्यांकले त्यो पुरा हुन नसक्ने संकेत गर्छ । साथै करिब १२ देखि १५ करोड अपांगता भएका बालबालिकाहरूमध्ये विकासोन्मुख मुलुकमा रहेका करिब ९० प्रतिशतले शिक्षामा पहुँच पाउन नसकेको अर्को डरलाग्दो यथार्थता पनि विद्यमान छ ।

नेपालको बारेमा त अद्यावधिक र भरपर्दो तथ्यांक नै हामीसँग छैन भन्दा पनि हुन्छ, भलै हालैको शिक्षा विभागको प्रतिवेदनले विद्यालय बाहिर रहेका ४ प्रतिशतमध्ये बहुसंख्यक अपांग बालबालिकाहरू भएको सार्वजनिक गरेकै किन नहोस् । दशक अघिको युनिसेफ र राष्ट्रिय योजना आयोगले दिएको तथ्यांकले करिब ५९ प्रतिशत पुरुष र ७८ प्रतिशत महिलाहरू शिक्षाबाट बञ्चित भएको देखाएको थियो, जुन अपांगता नभएकाहरूको तुलनामा झन्डै ३० प्रतिशतभन्दा बढी हो ।

शिक्षा दिए पनि अपांगता भएकाहरूका लागि त्यो उपयोगी हुँदैन भन्ने परम्परावादी धारणा समाजमा अझै विद्यमान छ । यो धारणा कतिपयमा रहेको अर्काको घरमा जाने छोरीको जातलाई शिक्षा दिनुभन्दा आफूलाई भविष्यमा पाल्छन् भन्ने विश्वास गरी छोराहरूलाई प्राथमिकता दिने नकारात्मक सोचसँग दाँज्न सकिए पनि यथार्थमा त्योभन्दा निकै पृथक र भेदभावपूर्ण देखिन्छ । यस्ता अन्धविश्वासलाई सकारात्मक चुनौती दिनकै लागि अपांगता भएकाहरूलाई श्ािक्षा दिँदा त्यसको आर्थिक प्रतिफल कति हुन्छ भन्ने एउटा अनुसन्धान गरेँ मैले । उक्त अनुसन्धानले अपांगता नभएकाहरूमा शिक्षाले दिने करिब १० प्रतिशतको हाराहारीमा रहेको प्रतिफलको दाँजोमा अपांगता भएकाहरूमा उक्त प्रतिफल करिब २ देखि ३ गुनाले बढी हुने देखाएको छ । जसको सोझो अर्थ उनीहरूले शिक्षा पाएमा अपांगता नभएकाको भन्दा २ देखि ३ गुना बढीले आम्दानी गर्न सक्छन् भन्ने हो । तर त्यसका लागि कम्तीमा १० वर्षसम्मको शिक्षा अनिवार्य गरिनुका साथै थप रोजगारीका अवसरहरू सिर्जना गरिनुपर्ने कुराहरू पूर्वसर्तका रूपमा रहन्छन् ।

यस्तै तथ्यहरू फिलिपिन्स, बंगलादेश र कम्बोडियामा गरिएको अर्को अनुसन्धानले पनि देख्ााएको छ । अपांगता र गरिबीका बीचमा सहसम्बन्ध भए पनि कुन कारक र कुन परिणाम हो भन्ने यकिन गर्न नसकिए पनि अनुसन्धानको यो निष्कर्षले अपांगता भएकाहरूलाई शिक्षा दिनुको अर्थ छैन भन्ने अन्धविश्वासी धारणालाई गलतमात्र सावित गरेको छैन, शैक्षिक नीति र रणनीतिमा उनीहरूलाई समान प्राथमिकतामा राख्नुपर्ने यथार्थबोध पनि गराएको छ ।

यस बाहेक बिर्सन नहुने अर्को पक्ष के पनि हो भने शिक्षाको महत्त्व केवल आर्थिक प्रतिफलसँग मात्रै सीमित हुँदैन । आर्थिक प्रतिफल त जीवनयापनका अनेक मध्येको एक पक्षमात्रै हो । त्यसैले त शिक्षाले एक व्यक्तिमात्र नभई समग्र समाजलाई नै नाटकीय रूपमा बदल्न सक्ने र विकासका लक्ष्यहरू हासिल गर्नसक्ने सामथ्र्य राख्छ । यही कारण समाजका कुनै पनि समूहलाई यो वा त्यो बहानामा शिक्षाको अवसरबाट बञ्चित वा कम प्राथमिकतामा पारिनु हुँदैन । अझै पनि शिक्षाका यस्ता बहुआयामिक फाइदाहरूको बाबजुद अपांगता भएका र केही त्यस्तै विशेष आवश्यकता भएका बालबालिकाहरूको अवस्थालाई नेपालले मनन गरी तदनुरुपका योजनाहरू लागु गरी लाभ लिन सकिरहेको छैन । आफ्नै देशका अपांगता भएका नागरिकहरूमा गरिएका यस्ता शिक्षाका बहुआयामिक फाइदासँग सम्बन्धित अनुसन्धानहरू अन्तर्राष्ट्रिय रूपमा प्राथमिक चर्चा बटुल्ने तर स्वयम् नेपालले त्यसबाट लाभ लिन नसक्दा अनुसन्धानकर्ताको रूपमा यो लेखकले कम्तीमा पनि गर्नसक्ने भनेको थप पीडाबोध बाहेक केही नरहँदा ऊ आफूलाई फेरि एकपटक निरीह ठान्छ, यतिबेला ।

विश्व बैंकका फिल्मरले सन् २००८ मा गरेको अध्ययनले अपांगताका साथै आर्थिक र सामाजिक पक्षहरू जस्तै लैंगिक विभेद आदिलाई ग्रामीण भेगमा शिक्षामा नकारात्मक प्रभाव पार्ने तत्त्वका रूपमा देखाएको छ । दृष्टिविहीन, बहिरा तथा सुस्त श्रवण भएका र अन्य शारीरिक अपांगता भएकाहरूमा गरिएको यो लेखकको अर्को एक अनुसन्धानले परिवारको आर्थिक अवस्था कमजोर हुनु -४० प्रतिशत), विद्यालयमा सहज पहुँच नहुनु -२५ प्रतिशत), सांकेतिक भाषामार्फत राम्रो सञ्चार हुन नसक्नु -जो बहिरा तथा सुस्त श्रवण भएकाहरूका लागि जरुरत पर्छ) र भौतिक संरचनाहरू अवरोधरहित हुन नसक्नु -२२ प्रतिशत) लगायतलाई उनीहरूले बीचैमा शिक्षा अवरुद्ध गर्नुका प्रमुख कारणको रूपमा देखाएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर हँुदा अपांगता भएकाहरूलाई बेवास्ता गरी अपांगता नभएकाहरूलाई पढाइमा प्राथमिकता दिने प्रवृत्तिको अन्त्य केवल अपांगताप्रतिको नकारात्मक धारणा विरुद्ध चेतना जगाउँदैमा मात्रै पनि हँुदैन, त्यस्ता परिवारलाई त गरिबीको रेखाबाट माथि उकास्नुपर्छ । अन्यथा विभेदकारी सोचको जगमा आर्थिक अवस्था

कमजोर हुँदा जसरी छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिइन्थ्यो, त्यसरी नै अपांगता भएको बच्चा अपांगता नभएको छोरा वा छोरी दुवैको दाँजोमा परिवारको प्राथमिकताबाट बाहिरिन सक्छ । एकातिर छोरी र त्यसमा पनि अपांगता

भएकोले त्यस्ता बालिकाहरू दोहोरो भेदभावमा परी थप सकसपूर्ण जीवन जिउन बाध्य हुनुपर्ने हाम्रो समाजको अर्को नियति पनि यथावतै छ ।

उल्लिखित अवस्थाहरूलाई दृष्टिगत गर्दा अपांगता भएका नेपालीहरूले अझै शिक्षामा पहुँच र त्यसपछि गुणस्तरीय शिक्षा पाउन नसक्नुका पछाडि कुनै एउटामात्र कारण प्रमुख छैन । घरको दयनीय आर्थिक अवस्था, सामाजिक, धारणागत र अवरोधरहित बन्न नसकेका भौतिक संरचनाहरूले एकीकृत रूपमा खडा गरेका पर्खालहरू तोड्ने काम तुरुन्तै र सजिलै नहुने भए पनि शिक्षाका जुनसुकै नीति र योजनाहरू अपांगतालाई समेट्नेगरी समावेशी गराइनुपर्छ । अन्यथा शिक्षा समावेशी हुन नसक्ने र अपांगताप्रतिको धारणा यथावत् रहिरहने हो भने त्यसले वर्तमानमा त केवल अपांगता भएका मानिसहरू र उनीहरूका परिवारलाई मात्रै नकारात्मक प्रभाव पारेको जस्तो देखिए पनि त्यसको दीर्घकालीन असर भने देशकै सुन्दर बन्नुपर्ने भविष्यलाई त्यस्तो हुनबाट बञ्चित गर्नमा पर्न जान्छ ।

त्यसैले किन अपांगता भएका बच्चाहरूलाई बाबुआमाले विद्यालय पठाउँदैनन् भनी चर्चा र आलोचना गर्नु सान्दर्भिक भए पनि त्योभन्दा पनि बढी उपयोगीचाहिँ उनीहरूलाई कसरी विद्यालयसम्म पुर्यानउने भन्नेतर्फ योजनासहित ध्यान केन्दि्रत गर्नु हो ।

भेदभावयुक्त अहिलेको अवस्थामा अपांग बच्चाले आफ्ना आमाबालाई सहजै म पनि स्कुल जान्छु भन्न सक्ने स्थिति छैन । अपवाद बाहेक जतिबेला उसमा अपांगता देखिन्छ, त्यति बेलादेखि नै उसले दैनिक भजनजस्तै गरी सुन्ने शब्द भनेको ‘तँ अपांग भइस्, तैंले पढ्न सक्दैनस्, पढिहालिस् भने पनि त्यसको काम छैन, अब तेरो भविष्य अँध्यारो हुने भयो’ लगायत हुन् । त्यसमा पनि अझै भावुक बनेर ‘हामी मरेपछि तेरो जीवन कसरी बित्ला, दाइदिदीहरूले तँलाई हेर्लान् कि नहेर्लान्, बरु म हुँदै तँ मरिस् भने सुख पाउँथिस् होला’ जस्ता आमाहरूका भनाइहरूलेे त हाम्रो समाजले अपांगता भएका र उनीहरूको परिवारलाई हेर्ने दृष्टिकोणलाई मात्र छर्लंग्याउँदैन, राज्य दायित्व बोधबाट कति टाढा छ भन्ने पनि देखाउँछ । यस्ता परिस्थितिहरू सबैले व्यक्त गर्नसक्ने अवस्था नभएकै भए पनि हाम्रो समाज त्यसबाट टाढा नभएको यथार्थ यो लेखकले कतिपय ग्रामीण भेगमा जाँदा र स्वयम् आफ्नै जिन्दगीका प्रारम्भिक चरणहरूमा अनुभूति गरेकै कुरा हो । सधैं अपांगता बारेमा नकारात्मक कुरामात्रै सुन्नुपर्ने ती अबोध बालबालिकाहरूले आफ्ना दाइदिदी स्कुल जाँदा म पनि स्कुल जान्छु भन्नै सक्दैनन् ।

हो, अपांगताका कारण उसलाई धेरै अप्ठ्यारो हुन्छ अन्यको दाँजोमा, यदि समाज र भौतिक संरचनाहरू सहयोगी बनेनन् भने । अर्कोतर्फ यदि परम्परावादी सोचलाई नै मान्ने हो भने पनि एकपटक यो पक्षलाई पनि हेरौं न त— अपांगता नभएकाहरूले त शिक्षा नपाए पनि जेनतेन आफ्नो जीवन चलाउन सक्छन्, गाडी चलाएर, रिक्सा चलाएर र हलो जोतेर वा भाँडा माझेर तर त्यस्तो अवस्था हँुदैन शिक्षाविहीन अपांग व्यक्तिहरूका लागि, उनीहरूको शारीरिक अवस्थाका कारण । यस्तो अवस्थामा उनीहरूको जीवनले शिक्षाविहीन बन्नुपर्दा लिने धार अँध्यारो बाहेक अरु कुन हुनसक्छ र ।

यसर्थ नेपालको सन्दर्भमा जसरी पुरुषलाई भन्दा बढी महिलालाई शिक्षाको आवश्यकता छ, त्यसैगरी पछाडि पारिएका अपांगता भएकाहरूका लागि त्यसको आवश्यकता अझै बढी छ । त्यसैले उनीहरूको अन्तरमनमा सधंै पिल्सिरहेको तर प्रस्फुटित हुन नसकेको वाक्य ‘बा ! म पनि स्कुल जान्छु है !’ लाई परिवार, समाज र राष्ट्रले व्यवहारमा उतार्न आवश्यक भइसकेको छ । अन्यथा उनीहरूको जीवनमा पहारिलो घाम त लाग्न सक्दैन नै, शिक्षाका बहुआयामिक फाइदाहरूबाट उनीहरूलाई बञ्चित गराइएकोमा एक कालखण्डमा मुलुकले पनि त्यसको थप मूल्य चुकाउनुपर्ने निश्चित छ ।
साभार www.ekantipur.com

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!