बैसाखी र लट्ठी लिएर गाडी चढेका खतिवडाले अपाङ्ग सिट लेखिएको ठाउँ अगाडि उभिए तर अपाङ्ग सिटमा आसिन व्यक्तिले सिट छाडेनन्
धादिङ ७ जेठ । आदमघाटबाट धादिङबेसीका लागि गाडी चढेका शारीरिक रुपमा अपाङ्ग भएका धादिङको कुम्पुरका गुणराज खतिवडाले धादिङ यातायातको बसमा उभिएरै यात्रा गर्नुपयो । एउटा हातमा बैसाखी र अर्को हातमा लट्ठी लिएर गाडी चढेका खतिवडाले अपाङ्ग सिट लेखिएको ठाउँ अगाडि उभिए ।
बैसाखीको सहारामा उभिएको देखिरहेका र अपाङ्ग सिटमा आसिन व्यक्तिले सिट छाडेनन् । खतिवडाले अपाङ्ग सिटमा बस्नुहुने व्यक्ति पनि अपाङ्ग नै हो भनेर सोध्दा सिटमा आसिन व्यक्ति घोसेमुन्टो लगाएर बसिरहे ।
जिल्ला सदरमुकाम जान र आउन मात्र होइन धेरै कार्यक्रमको सिलसिलामा विभिन्न जिल्लामा समेत हिँडिरहने खतिवडाले अहिलेसम्म अपाङ्ग सिटमा बस्न नपाएको गुनासो गर्नुभयो ।सिटमा बस्नका लागि मात्र समस्या होइन अपाङ्ता भएकाका लागि गाडी पाउन पनि समस्या भएको छ । बैसाखी टेकेर कोही बाटोमा उभिएको छ भने गाडीवालाले रोक्दै नरोक्ने समस्या झन् बढी भएको अपाङ्गहरूको गुनासो छ ।
आदर्श उच्च माविका शिक्षक गोविन्द खनाल ह्विलचियरमा बसेर यात्रा गर्नुहुन्छ । उहाँलाई सवारी नरोकेर चिन्ता हुने गरेको छ । ‘चिनेका चालकहरूले गाडी रोक्छन् नचिनेहरूले त रोक्नै मान्दैनन् ।’ अपाङ्गहरूलाई गाडी रोकेर यात्रा गर्न सरकारले बनाएको नियम जति नै राम्रो भएपनि व्यवहारमा सजिलो नभएको गुनासो गर्नुभयो ।
अपाङ्गता भएकालाई सरकारले यातायात छुट दिएको हरेक गाडीमा उनीहरुका लागि सिट राखेको हुन्छ । तर दुबै कुरा यातायातकर्मीले आफूहरूलाई उपलब्ध नगराएको उनीहरूको गुनासो छ । गाडी भाडामा अपाङ्गलाई सरकारले भनेको छुट कहिल्यै नपाएको गुनासो पनि खतिवडाले गर्नुभयो ।
साभार-www.osnepal.com
Comments
Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!
