परिचयपत्रबाट वञ्चित दुर्गमका अपांग

April 30, 2014

मोहन शाही डोटी, वैशाख १७ – काडामाडौ-४ की ६ वषर्ीया तुलसी बटालाको हातले मात्रै काम गर्छ । बोल्न नसक्ने बटालालाई घरमै पनि उचालेर भित्र-बाहिर गर्नुपर्ने बाध्यता छ । तर सदरमुकाम आउन नसकेकै कारण उनले अपांगताको परिचयपत्र पाउन सकेकी छैनन् । शरीर नचल्दा दिसापिसाब समेत पाइपबाटै गर्छिन् । त्यस्तै विकट बर्छैन कोलागाउँका लालबहादुर कलेलले पनि सहजै परिचयपत्र पाउन सकेनन् । धेरै दौडधुप र दबाबपछि महिला विकास कार्यालयको टोली घरमै पुगेपछि उनले परिचयपत्र पाए ।

यिनीहरू जस्तै भौगोलिक रूपले दुर्गममा बस्ने पहाडी जिल्ला डोटीका अधिकांश अपांगले परिचयपत्र पाउन सास्ती भोग्नु परेको छ । कार्यालयमै उपस्थित हुनुपर्ने प्रावधानले परिचयपत्र वितरणमा समस्या आएको हो । नीतिगत रूपमा महिला तथा बालबालिका विकास कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला अस्पतालका डाक्टर र अपांग सेवा संघको स्वीकृतिपछि मात्र दिने व्यवस्था छ । दुर्गम गाउँका अपांगका लागि सदरमुकामसम्म पुगेर परिचय पाउन मुस्किल छ । ‘ओछ्यानमा समेत हलचल गर्दा मरौंलाझैं दुखाइ हुन्छ,’ सिकार खेल्न जाँदा कम्मरमा गोली लागेपछि पूरै शरीर नचल्ने समस्याबाट वर्षौंदेखि पीडित कलेलले भने, ‘दुई दिनमा सदरमुकाम पुगेर परिचयपत्र लिएर जाउँ भन्नुको अर्थ मर्नका लागि बोलाए सरी भइहाल्यो नि ।’ कलेलसँगै उक्त गाविसमा आठ अपांगले पनि पाएका छैनन् ।

‘कार्यालयमा उपस्थित नभए उनीहरूको अवस्था कस्तो छ भनेर कसरी थाहा पाउने ?’ महिला तथा बालबालिका कार्यालय प्रमुख दुर्गा बराल भण्डारीले भनिन्, ‘कानुनी प्रावधानअनुसार कार्यालयमै उपस्थित भएर सरकारी डाक्टरबाट प्रमाणित गर्नुपर्छ अनिमात्र हामी कस्तो खाले परिचयपत्र दिनुपर्छ भनेर निर्णय गर्न सक्छौं ।’ यस्तो नीतिबाट पूर्ण अपांग रहेकाले परिचयपत्र पाउन नसकेको महसुस भए पनि गाउँमा जाने स्रोत-साधन र समय अभावमा कठिनाइ भएको बरालले बताइन् । महिला तथा बालबालिका कार्यालयले अपांगताको पहिचान गरी विभिन्न चार प्रकारका परिचयपत्र वितरण गर्दै आएको छ । पूर्ण अशक्त भई रातो परिचयपत्र पाउने अपांगले मासिक हजार रुपैयाँ तथा अति अशक्त भई नीलो परिचयपत्र पाउनेले मासिक ३ सय रुपैयाँ पाउने गरेका छन् । बाँकी पहेलो र सेतो परिचयपत्र पाउनेले रोजगारीमा आरक्ष्ाण, स्वास्थ्य, शिक्षा तथा यातायातमा छुट पाउने अपांग सेवा संघ डोटी जिल्ला अध्यक्ष महादेव भारतीले भने ।

‘२/३ दिन लाग्ने दुर्गमका अशक्तहरूलाई जिल्लामा आउन निकै कठिन हुन्छ,’ अध्यक्ष भारतीलेे भने, ‘परिचयपत्र पाएकाले पनि समानरूपमा सेवा सुविधा पाउन सकेका छैनन् ।’ मोबाइल टोली लगेर परिचयपत्र वितरण गर्न सकिने भए पनि आर्थिक अभावले त्यसो गर्न नसकिएको महिला विकास अधिकृत बरालले बताइन् । भत्ताका लागि पनि सीमित कोटा रहेकाले वितरणमा अझ समस्या छ ।
साभार ekantipur

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!