एक यस्ता मिस्त्री

April 28, 2014

माधव ढुंगाना  भैरहवा, वैशाख १४ –  विद्युत् वायरिङ होस् या टेलिभिजन, पंखा, इन्भर्टरजस्ता विद्युतीय सामानको मर्मत, प्राविधिक शिक्षा र तालिमबिना सम्भव छैन । तर सानैदेखि बोल्न नसक्ने र कान नसुन्ने सिद्धार्थनगर ३ खजहनाका चन्द्रभूषण यादवलाई ती काम सहज लाग्छन् । औपचारिक प्राविधिक शिक्षा र तालिम नलिई उनी सहजै मर्मत गर्छन् । उनको काम प्राविधिक शिक्षा र तालिम प्राप्त मिस्त्रीको भन्दा राम्रो हुन्छ ।

सोही कारण बिहानैदेखि उनको घरमा ग्राहकको भीड लाग्छ, कामको चापले उनलाई एकछिन पनि फुर्सद हुँदैन । कोठामा टाँगेको क्यालेन्डर र डायरीमा आफूले कुन दिन, कसको काम गर्ने वचन दिएको हो भन्ने बारे लेख्छन् । काम गर्न जाने दिन र स्थानबारेमा टिपोट बनाउँछन् । उनको कामबाट प्रभावित भई अन्य पढेलेखेका मिस्त्री र प्राविधिकलाई छाडेर बुटवल र भारतको नौतनवाभन्दा टाढादेखि ग्राहकले बोलाउँछन् ।DSC06489_20140428105705

छोरो बोल्न र सुन्न नसक्ने भएपछि बाबु रामप्यारे यादवलाई पनि सुरुमा चिन्ता लाग्थ्यो । तर ७ वर्षयता त्यस्तो चिन्ता हटेको छ । अध्ययन र तालिमबिना छोरो सफल मिस्त्री बनेपछि उनी गर्व गर्छन् । ‘उसलाई एकछिन पनि फुर्सद हुँदैन,’ रामप्यारेले भने, ‘परिवार उसैले त धानेको

छ ।’ चन्द्रभूषणको एउटा कोठा मर्मतका लागि ल्याइएका विद्युतीय सामानले भरिएको छ । अन्य मिस्त्रीले बिगि्रयो, काम लाग्दैन भनेर फ्याँकेको सामान पनि उनी मर्मत गरी प्रयोगमा ल्याउँछन् । घरको विद्युत् वायरिङ, खानेपानीको बाथरुम फिटिङ, भिडियो खिचाइ, जलेको मोटर, टेलिभिजन, भिडियो क्यामेरा, पंखा, स्टेपलाइजर, इन्भर्टर, यूपीएस, रिमोट कन्ट्रोल, राइस कुकर, फ्रिज, फोन, डेकलगायत सामान सहजै मर्मत गर्छन् ।

क्यामरा मर्मतमात्र नभई विवाहको भिडियो पनि खिच्छन् । ‘उनी बौद्धिक अपांग देखिए पनि बहुप्रतिभाका धनी हुन्, खानेपानी या विद्युतीय सामानको काम परे उनैलाई रोज्छु,’ सिद्धार्थनगर ६ दुर्गा कोलोनीका चेतन पन्तले भने, ‘अरू मिस्त्रीले बनाउन नसकेको सामान उनले मर्मत गरिदिए ।’

उनलाई सहजै फेला पार्न मुस्किल हुने गरेको पन्तले बताए । बोल्न र नसुन्ने भएपछि एक्लो छोरालाई रामप्यारेले उपचारका लागि धेरै ठाउँ लगे । तर, सम्भव भएन । करिब १२ वर्षअघि गल्लामण्डिस्थित बिद्युतीय सामग्रीको पसल लल्लन लाइटमा गएर उनले अन्य मिस्त्रीले गरेको काम नियालेकै भरमा काम सिकेका हुन् । ‘काममा एकाग्र भएर तल्लिन हुन थालेपछि मलाई सफलता मिलेको हो,’ चन्द्रभूषणले कापीमा लेखे, ‘म आफ्नो काममा सन्तुष्ट छु, बोल्न नसके पनि कुनै ग्लानी र दुःख छैन ।’ रामप्यारेको घर पहिले टिनले छाएको झुपडी थियो, छोराले कमाउन थालेपछि पक्की घर बनाएका छन् ।

बोल्न र सुन्न नसक्ने चन्द्रभूषण मोबाइल समेत प्रयोग गर्छन् । कसैले फोन गरे बाबुआमालाई सुन्न लगाउँछन् र तत्काल अंग्रेजीमा एसएमएस लेखेर उत्तर पठाउँछन् । उनीसँग घरमा चित्रसहितको सांकेतिक भाषा, त्यसको नेपाली र अंग्रजीमा लेखिएको शब्दावलीको पुस्तक छ । फुर्सदमा पुस्तक अध्ययन गर्छन् र मोबाइलमा एसएमएसको प्रयोग गर्छन् ।

दैनिक ५ देखि ७ सय रुपैयाँ कमाउने गरेको उनले बताए । बाबुलाई अब वृद्ध भएकाले कामका लागि अन्यत्र नजान तथा नाति र घरपरिवार हेरेर बस्न सुझाव

दिन्छन् । उनकी पत्नी पनि बोल्न र सुन्न सक्निनन् । ‘अब घर परिवारको आरामले हेरचाह गर्न सक्छु,’ उनले लेखे, ‘कसै-कसैले काम गराएर पनि लाटो भन्दै हेपेर पूरा पारिश्रमिक नदिई शोषण गर्दा चित्त दुख्छ ।’
साभार ekantipur

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!