यो साला जिन्दगीको पानाबाट………
कथाकार बिनोदकुमार श्रेष्ठ
जिन्दगी र यात्रालाई अमिट चित्रहरुमा रुपान्तरण गर्ने क्रमहरु र टक्क घोर अन्धकारमा रोकिएको त्यो क्षणको सम्झनामा ।
जनकपुर विधुत प्राधिकरणको इलेक्ट्रोनिक काम सकेर काठमान्डौ अफिस तिर बढ्दा बेलुकाको तीन बजेको थियो । हाम्रो कारमा जम्मा तीन जना
थियौ । म, बिमल सर र बिमल सरको बुबा । म आफैले ड्राईभ गरेको थिए कार । जनकपुर बाट काठमान्डौ आईपुग्न कती टाइम लाग्दथ्यो त्यो मलाई थाहा थिएन । थाहा थियो त केवल मधेस आन्दोलनको चपेटबाट कसरी बच्ने र काठमान्डौ सम्म पुग्ने । जनकपुरको त्यो अस्तव्यस्त सडक र बस्तिहरुबाट विलिन हुन खोज्दै थियो सुर्य । हामीहरु ती समथर फाँट र अस्तव्यस्त रोड गल्ली र बस्तिहरुबाट विलिन हुन खोजेको सुर्यको प्रकास संगै अघि बढि रहेका थियौ । अचानक बर्दिबास जङ्गलमा आइसकेपछि मैले ड्राइभ गरेको कार, अनि म विपरित दिशाबाट आएको कारको सिकार हुन पुगे । मैले कारलाई ठोकिनबाट त जोगाए तर मेरो कार रोड छोडेर जङगल तर्फ लम्कियो ।आफू बाच्ने र अरुलाई बचाउने प्रयास गर्दा गदै मैले चलाएको कार जङगलको रुखको चेपमा घुस्रन पुग्यो र मैले काठमान्डौ लगि बनाउन हालेको UPS ले मेरो मेरुदण्डमा नराम्ररी ठक्कर दियो त्यसपछि मलाई के भयो थाहा शुद्धि रहेन ।
म कतिन्जेल वेहोस अवस्थामा इन्तु र चिन्तु भएर पडिरहे । त्यस बेला म कसरी बाचेँ अरु दुई बाच्यो कि बाचेन त्यसको पनि अत्तो पत्तो रहेन । त्यो पनि थाहा नपाउने अवस्थामा भईसकेछु । होस फर्केर आएपछि जव मेरो आखा खुल्यो मैले आफूलाई हलचल गर्न नसक्ने अवस्थामा पाए । उठ्न खोजे कम्मर भन्दा मुनि चलेन कम्मर भदा मुनि झनन गरिरहेको मात्र थियो टाउको चसक्क दुख्थ्यो र काम्दथ्यो । काम ज्वराले समातेको जस्तै । आखाँ अघितिर कालो टाटो मात्र थियो दाहिने पाखुरामाको भीत्रबाट कुनै चिजले घोचेको र सियोले कोट्याय जस्तो लाग्दथ्यो । जीऊ पनि यसरी दुखिरहेको थियो मानौ कसैलाई दुई दिन सम्म हिर्काएर थिलथिलो पारिदिएको होस् । म हल चल गर्ने नसक्ने अवस्थामा भएपनि नरहेनि मलाई सम्झना भई रहेको थिईन कि म कहाँ छु ? मलाई के भएको छ ? मेरो स्मरण शक्तिनै उडि सकेको थियो ।
जव म होसमा आए आफ्नो स्थिति सम्झेर चारै तर्फ नजर दौडाए । कसैले मेरो कम्मरको हाड सनासोले च्यापिरहेको जस्तो मलाई अनुभव भयो । मैले काठमान्डौमा लगि बनाउन भनि हालेको सामान चारै तर्फ छरपष्ट भएको देखे । मैले चलाएको कार पडिरहेको थियो । कार भन्नु के थियो थोत्रो फलामको डङ्गुर जस्तो वनिसकेछ । कारमा भर्खर हालेको तेल चुहिरहेको थियो भने कारका सिसाहरु चकनाचुर भएर भुइृमा छरपष्छ भएर छरिएको थियो । मलाई यो यतार्थ स्वीकार्न केही सेकेन्डहरु लाग्यो ती सेकेन्डहरुमा म नचाहेको बाटो रोज्न बाध्य भईसकेको थिए । मेरो जीवनको गोरेटो फाटिसकेको थियो । त्यो समयको खटन थियो मेरो होईन । त्यही एउटा परिणामले मेरो सम्पूर्ण जीवन यात्रा फरक पार्यो ।आज यी कुराहरु कल्पना झै लाग्छ मलाई तर यो कल्पना मात्र होईन यो यतार्थ पनि हो । परिवर्तनशील यो समाजमा हरु पक्ष र पहलु परिवर्ताशील छ । परिवर्तन र प्रगति उम्रिरहेको छ संन्सार भर हर क्षणमा ।
यसरी त्यहाँ म पडीरहेको थिए र त्यहा एक प्रकारको कोलाहल सुनियो । बिमल सरले मलाई र उहाको बुबालाई गाडीबाट निकाल्न बस रोकेर सहयोगको लागि प्यासेन्जरहरु लिएर हामी भएको ठाउँमा आईरहनु भएको रहेछ । हाम्रो समाजका मान्छेहरु कस्ता छन् भने कुरा त हामीहरु सबै लाई थाहै छ । हामी मध्ये कोही खितीती हास्न लागे, कोही कसरी चलाइको थिइस् भन्दै गालि गर्न लागे, कसैले चालकहरु धेरै रक्सी खाएर चलाउछन् भन्ने हल्ला गर्न थाले र कसै कसैले उट्फट्याङ सल्लाह समेत दिन शुरु गरे । कुरा लुकाउन किन र ? के आफै मर्न अथवा जिन्दगी भर अपाङ्गता भएर बाच्न कसैले एक्सीडेन्ट गराउछ ? कसैले पनि आफनो इच्छाले एक्सीडेन्ट गराएको हुदैन र मैले पनि आफ्नो इन्छाले त अबश्य पनी एक्सीडेन्ट गराएको होइन । जसले स्वंय आफैले यो कुरा भोगेको हुदैन उसले हत्तपत्त यो कुरा बुझ्न पनि सक्दैन । यदि यसको तात्र्पय बुझ्न चाहे पनि धेरै समय लाग्ने छ ।
त्यतिखेर नै एम्बुलेन्स आईपुग्यो । हामी एम्बुलेन्सको साहाराबाट त्यहाँको स्थानिय अस्पताल पुग्यौ । त्यहाँ केही गर्न नसक्ने भनी त्यहाको स्टाफहरुले बताइसके पछि हामिले त्यही एम्बुलेन्सलाइ काठमान्डौ पुर्याइदिन आग्रह गर्यौ । बल्ल बल्ल ६५०० मा कुरा मिल्यो । त्यसपछी हामी काठमान्डौ हिड्यौ । बाटोमा मलाई निकै गारो भइरहेको थियो । मलाई लाग्थो अब म चाडै यो संन्सारबाट बिदा हुदैछु र मेरो आफन्तको अनुहार समेत देख्न पाउने छैन । तर म बिभिन्न कस्ट खेप्दै टिचिङ अस्पताल आइपुगे । त्यहा मैले चिनेका र मेरा काठमाण्डौं भएका सम्पुण आफन्तहरु आउनु भएको रहेछ । सम्पुर्ण आफन्तको अनुहार मलिन देखे । म त्यहा पुनर्जिबन या मृत्यु संग संंघर्स गरिरहेको थिए । बिभिन्न मिडियाका साथीहरु र पोलिसहरु मेरो आखाँ खुल्ने बितिकै एक्सीडेन्ट कसरी भयो भनी प्रश्न सोध्न तछाड मछाड गर्दै थिए भने मेरो कुनै बाच्ने आशा थिएन ।
मेरो आफन्तले मलाई बचाउन मजबुध प्रयास गरिरहेको थियो । टिचिङ अस्पतालमा बेड खाली नभएको र पहँुच नहुने सर्बसाधारण प्रति केएरलेस गरेको देखेर मेरो आफन्तले टिचिङ अस्पतालबाट मेडीकेएर अस्पताल चाबहिल उपचार गराउन लग्नुभयो । त्यहा सीटीस्क्यान ,एक्सरे गरी चाडै नै अपरेसन पनि गरियो । मेरुदण्डको हड्डी टि९ देखी टी१२ सम्म भाचिएको रहेछ त्यहा पाता हालियो भने मेरुदण्डको तन्तु (स्पाइनल कर्ड) पुर्ण रुपमा क्षति भएको थाहा पाइयो । न्युरोसर्जन डा.मोहन राज शर्माको आश्वासन पछि फेरी बाच्ने आशा त पलायो तर रिपोर्ट अनुसार स्पाइनल कर्ड इन्जुरी भएको ब्यतिहरु पहिला जस्तो तम्दुरुस्ती नहुने डक्टरले सल्लाह दिनुभयो ।
हस्पीटलमा आइसके पछी बालक जस्तै मेरो नाङ्गीने दिन फेरी शुरु भयो । पिसाबको लागि पाईप हालिएको थियो । पछाडी अपरेशन भइको ठाऊमा पनी पाइप हालिएको थीयो । टाउकोमा ठुलो ब्यान्डेज बाधिएको थियो । दाइने पाखुरामा पनि पट्टी बाधिएको थियो । आँखा छेउमा टाका मारिएको थियो । तर दिसाको लागि डक्टरसापले केहि पनि भन्नु भएको थिएन । मलाई बसेको र सुतेको बेलामा समेत लगाउनु भनेर कम्बरको हाडदेखि मेरुदण्ड र करङ्गको पिजँडा सम्म लाई टम्म कस्ने गरि फलामे काम्रो बाधिदिएका थिए । ती फलामको पाताहालेको ब्रेस अथवा फलामे काम्रो घोडालाई कस्ने काठी जस्तो थियो । मलाई कोल्टे फर्केर सुत्न र बस्न मन लागेमा त्यहाँका कर्मचारी र नर्सहरुले भएभरको सहयोग गर्दथे ।
मलाई त्यतिखेर न निद्रा, न भोक, न मनमा शान्ति थियो हातमा दिएको सुली–नाली ४ दिन सम्म दिदा दुबै पट्टीको हात सुन्निएर मुढा जस्तो भएको थियो । ती चार दिन पिजँडा भित्र पनि नाफ छेडेर टागेको पशु जस्तो भए । चार दिन चार रात निद्रा लागेन । जीउ सबै दुखि रहेको थियो । खान मन लागेन । चार दिन सम्म दिसा भएन । खाना गनाउन लाग्यो । खाना देख्नासाथ बान्ता आउला जस्तो भयो । त्यसपछि मलाई दिसा गराउन औषधीका औषधी डक्टरसाप र स्टाफनर्सहरुले पेल्न थाले । नदुख्ने कडाँ औषधी र अरु औषधीले मलाई धेरै प्रभाप पा¥यो । दिशा नभए पछि रिफ्लक्स झन बढ्यो । छाती तिर झन असजिलो भयो । सुत्दा रिफ्लक्स बढ्ने । बस्दा ढाड दुख्ने । मलाई न सुत्दा सुविदा, न बस्दा, न हिड्न सक्थे केहि बेर बसाई माग्यो । केहि बेर सुताई माग्यो । केहि बेर यता फर्काइ माग्यो । केहिबेर उता फर्काई माग्यो । कुर्नेको अनुहार हेर्यो मनिन छ । आफ्नो यो गती छ । छिन् दिन जती लाग्यो भने दिन बर्ष जती ।
दिशा खलाश नभएपछि आफै खलास हुदो रहेछ । दिशा खलास गराउन धेरै औषधी खाएँ । त्यसपछी दिनमा ५,६ पटक दिशा आउन थाल्यो । दिशा आएको पनी मलाई थाहाँ नहुने भएछ । कतिखेर आउथ्यो आफूलाई थाहा हुदैनथ्यो । त्यतिखेर आफैलाई धिकार्न मन लाग्यो । आफ्नो जीबन देखी घृणा जागेर आयो । तर आफु केही गर्न नसक्ने र अरुको भरमा निर्भरता रहनु पर्ने बाध्यताको कारण दिशा पिशाब सफा गराउन भित्र भित्रै लाज घिन पचायर भएपनि अस्पतालको कर्मचारी र आफन्तहरु बीच नाङ्गीनु पर्दथ्यो । मलाई हेर्न आउने आफन्तहरु र मेरा प्रियसाथीहरु बीच म नाङ्गीनु पर्दा त्यतिखेर मलाई के भयो होला ? तपाई आफै कल्पना गर्नुस् त ? तर पनि मेरो आफन्त र त्यहाँका सेवा भाबना भएको कर्मचारीहरुले कव्जियत भएको कारण उध्रिगन्ध गनाउने दिशालाई हसिँलो अनुहारका साथ दुर्गन्ध सहेर सबै काम सक्थे ।
गाउँबाट छोराको खबर सुने पछि हेर्न आउने आमा बुबाको आखाँमा आशुका बलिन्धार धारा बगिरहेको थियो । तर म निरिह थिए । के गर्न सक्थे ? न मैले आशु पुच्छन सके न केहि भन्न । मैले यत्रो विधि आमाको आखाँमा आशु देखेको थिईन । मेरो मनमा अनेक कुरा खेल्न लाग्यो । के म आमाको आखाँमा आशु देख्न बाचेको हँु । आमाको आखामा आशु पुच्छन नसक्ने म जस्तो नालाएक छोरा बाच्नुको के अर्थ । मेरो दिल दिमागमा यस्तो पनि सोच आयो । यत्रो विधि दुःख दिएर आफन्तहरुलाई तड्पाएर के बाच्न उचित छ ।
तर म मर्न पनि सक्तिन थिए । म मर्न चाहान्छु भनेर कसलाई भन्न सक्थे आमालाई ? अंकलहरुलाई ? कि त अस्पतालको स्टाफहरुलाई ? कसैलाई पनि भन्न सक्दिन थिए । मलाई बचाउन एक मजबुध प्रयास गर्ने मेरा आफन्तहरुलाई यस्तो प्रश्न गर्दा उहाँहरुको मनमा कस्तो असर पथ्यो होला के कल्पना गर्न सकिन्छ ? यस्ता प्रश्नहरु मेरा मनका खेलिरहेको थियो । त्यतिकैमा मेरो आमाले मलाई बोलाउनु भयो । आखाँको वलिन्धर आशु पुच्दै मलाई सम्झाउनु लाग्ने भयो । हेर यो संसारमा मान्छे नाङ्गै आएको हो नाङ्गै जानु पर्दछ । तलाई भएको दुःख म बताउन सक्दिन, बुझाउन सक्दिन, एक दिन मर्नु नै छ भने आफुलाई यति साह्रो पिडित भएर अरुलाई यति साह्रो पिडा दिएर बाच्नु भन्दा मर्नु ननिको हैन । अनन्त जीबन मृतु हो । तर जीबनमा बाचुन्जेल बाच्न सिक्नुपर्दछ । मान्छे भएर जन्मिएपछि पिडा, दुःख, कष्ट, र यातना सहेर पनि बाच्नु सक्नु पर्दछ । कती प्रिय छ जीबन तिमि बाचेको मा म खुसि छु हाम्रो सम्पुर्ण परिवार खुसि छ आफन्तहरु खुसि होलान्न भनेर मलाई सम्झाउने प्रयत्न गर्नु भयो । धन्यछ उहाको कोखलाई । उहाको भाबना अमर छ ।
१५ दिने मेडिकेयर अस्पतालमाको उपचार पछि मलाई डा.मोहनराज शर्माले अरु विशेष उपचार र फिजियोथेरापी गर्नु यो स्पाईनल ईन्जुरी भएकोहरुको लागि अनिवार्य छ त्यसकारण तपाईहरु स्पाईनल ईन्जुरी पुनस्थापना केन्द्र जोरपाटीमा भर्ना हुनुस् भनेर सल्लाह दिनुभयो । त्यहि सल्लाह बमोजिम हामिले स्पाईनल ईन्जुरी पुनस्थापना केन्द्र जोरपाटीमा ३ महिना बसि फिजियोथेरापी सम्बन्धि ज्ञान लिन, ३ महिनामा लाग्ने फी डिपोजिट गर्यौ र मेडिकियर अस्पतालबाट बिदा लिई स्पाईनल ईन्जुरी पुनस्थापना केन्द्र जोरपाटीमा गयौ ।
उकालोलाग्दा छोटो बाटो पनि लामो भएको र त्यही बाटो ओरालो लागेपछी छोटो भएको महसुस हुन्छ । त्यही हो जिवनको वास्तविकता । म जन्मेर २४ औ बसन्त पार गरी २५ औ बसन्तमा लाग्दा अथवा मैले पाएको पुनर्जीवनको छैटौ वार्षीकोत्सव मनाइरहदा पनि यतिको समय कसरी वित्यो पत्तै भएन । यो पनि धुर्व सत्य हो की मानिसले एकदिन ओरालो लाग्नै पर्छ । ओरालो लाग्दा कसैले सहज वातावरणमा ओरालोको बाटो टुङ्ग्याउछ भने कसैले कष्टपूर्ण वातावरणमा । मेरो जिन्दगीको ओरालो केही कष्टपूर्ण वातावरणमा लागिरहेपनि मलाई विश्वास छ जसरी अस्ताउन लागेको सूर्यको किरणले सुनौलो चम्काई र वादलका आकृतीभित्र अनेक प्रकारको मनोमोहक प्रतिविम्बहरु श्रृजना गर्छ त्यसरीनै मेरो कष्टपूर्ण ओरालोको यात्रामा तपाईहरुको साथ र सहयोग प्राप्त गरी आकर्षण वनाउन सक्छु भन्ने पूर्ण विश्वास छ ।
हामी जस्तो सुर्कै परिस्थितमा जन्मिएपनि कोही, धनी वा कोही गरीब भएर जन्मीएको हुदैन । उ पहिले मान्छे भएर जन्मन्छ अनी अरु केही । जिन्दगी आरोह अवरोहपूर्ण हुन्छ तीता मिठा कोसेलीको माला न हो । कसैलाई कुन कुराको दुःख हुन्छ कसैलाई कुन कुराको । एउटाको दुःख अर्को को दुःख नवनी अर्को दुःख पनि हुन सक्छ । त्यो मान्छे अनुसार फरक फरक हुन्छ । सबै चीजले पूर्ण भई आनन्द साथ बसेको मान्छे मैले यो संन्सारमा देखेको छैन । तर तपाइले आफूलाई हारेको सोच्नु हुन्छ भने तपाई हार्नु हुन्छ । यदी तपाईमा प्रतिभा छैन भनेको सोच्नु हुन्छ भने तपाईमा हुदैन र हामी अघि बढ्ने कुरामा बिश्वस्त हुनु पर्दछ । जिवनको युद्धहरु ब्यक्तिका लागि हुन्, ती युद्ध दह्रो र तेज ब्यक्तिको लागि तर ढिलो वा छिटो जसले जित्दछ आफूले जित्छु भन्ने पुर्ण बिश्वास गरेको हुनु पर्दछ ।
जिन्दगीको प्रत्येक दिन हाम्रा लागि वर्तमान बनेर आउछ फेरी त्यो विगतमा परिर्वतन हुन्छ । जो भविश्य हुन्छ त्यो वर्तमान बन्न पुग्दछ र जो वर्तमान छ त्यो भूत बन्दछ यहिक्रमले समय अटल र निरन्तर गतिशिल छ । आज यी कुराहरु सबै कल्पना झै लाग्छ मलाई तर यो कल्पना मात्र होइन रहेछ यो यथार्त पनि रहेछ । परिवर्तनशिल समयमा हर पक्ष पहलु परिवर्तनशिल छन् । हिजोको आज छैन भने आजको भोली हुदैन यहीनै हो सकारात्मक सोचको परिवर्तन । यो यथार्त दृटिकोणले जिवनमा उत्पन्न हुने नकारात्मक र यसबाट उत्पन्न हुने पीडा, कष्ट, बेदनालाई कम गर्न सकिन्छ । सकारात्मकबाट नकारात्मकको सामना गर्नको लागि आन्तरिक शक्ति प्राप्त हुन्छ । जिवनमा सकारात्मक दृटिकोण उत्पन्न हुनाले ब्यक्तिलाई गहन सन्तुष्टता र सार्थकताको अनुभूति गराउदछ यही जिवनमा सकारात्मक दृष्टिकोण मात्र अपनाउन सकियो भने त्यसले निरासाबाट पनि आसाको, अन्धकारबाट पनि प्रकाशको, घाटामा पनि फाइदाको अनुभूती हुन्छ ।
सुभ सोच र सकारात्मक विचारले मानिसलाई आफ्नो गन्तभ्य पथमा अघि वढ्न मद्दत पु¥याउछ । सोच भनेको सोचाई हो दृष्टिकोण हो ,विचार हो । कुनैबस्तु वा मान्छेको बारेमा राम्रो भन्नु वा नराम्रो भन्नु सोच हो । राम्रो मान्नु सकारात्मक सोच हो भने नराम्रो मान्नु नकारात्मक सोच हो । मन मिल्ने मान्छे भए उसका सबै कुरा राम्रा हुन्छन् नमिल्ने भए नराम्रा हुन्छन् । एउटै कुरापनि सोचाईको ढङ्गले राम्रो नराम्रो दुबै हुन्छ । एउटा उदारण लिउ कुनै मान्छेले अरु संग आफ्नो निन्दा गरेको हुन्छ त्यो कुरा नसुन्दा सम्म सोच समान दुरीमा रहेको हुन्छ त्यही निन्दा वा गाली कसैले सुनाई दियो भने रिसको पारा चढ्छ । अनी उस् प्रति नराम्रो सोच हुन्छ । त्यही कुरालाई उल्टाएर अर्कै किसिमबाट सोच्न पनि सकिन्छ । बिचरा वुद्धि नभएको मान्छे । कसलाई के भन्ने हो त्यती पनि वुद्धि छैन यसरी हे¥यो भने त्यही सोच राम्रो हुदै जान्छ । कसैले केही कुरा दिन्छ भने त्यो लिने वा नलिने आफ्नो कुरा हो । अरुले गालि ग¥यो, निन्दा ग¥यो भन्दैमा त्यो आफुले किन लिने । त्यो गाली वा निन्दा नलिए आफुलाई पनि कुनै हैरानी हुदैन ।
कुनै ब्यक्ति वा बस्तुमा निश्चय हुनु, निर्भर हुनु , भरोसा राख्नु , आफ्नोपन ब्यक्त गर्नु , र स्नेह अभिब्यक्त गर्नु नै बिश्वास हो सबै भन्दा ठुलो र भर पर्दो बिश्वास समय प्रतिको बिश्वास हो । समय प्रति बिश्वास गर्ने मानिसको मनमा जे भई रहेको छ उसले सबैलाई राम्रो देख्छ । त्यसबाट कुनै प्रकारको भए रहन्न यस्ता मानिस प्रति सबैले विश्वास गर्छन् ।
तर जिवनको अर्को पाटो पनि छ । हाम्रो जीवन मरणशिल र अनिश्चित छ , कहिले विरामी पने हो, अनिश्चित छ, कहिले मृत्यु हुने हो अनिश्चित छ । लक्ष के को लागि लिएको हो जानकारी छैन । , जिवनको उद्देश्य के हो थाहा छैन । यस्तो संन्सारमा हामिले किन घमण्ड लिएर, आफ्नो स्वार्थको लागि अरुलाई पिडा दिएर, आफ्नो खुसिको लागि अरुलाई सोषण गरेर, यो संन्सारमा किन बाच्नु ? फूलको सुन्दरतालाई र सुगन्धलाई मात्र हेरौ उसको काडाँलाई वास्ता नगरौ ।
यात्रा र अनुभुती भएन भने पुर्ण विराम लाग्छ जिन्दगीमा । सुख दुख उज्यालो अन्ध्यारो सबै भेटिन्छ यात्रामा । त्यसैले त स्वादिलो बन्छ जीवन । यात्रा विनाको जिन्दगी नदी बिनाको वगर घाम विनाको दिन र रुखपात र बिनाको र चरा विनाको धर्ती । यात्रा नभएको भए कहाँ जन्मन्थ्यौ हामी कहा आई पुग्थ्यौ यस्तो जिन्दगीमा ।
यात्रा मेरो लागि सबै खुसी बनेर जन्मियो । यात्राको क्रममा घाम, पानी, हावा, आगो, ढुङ्गा, माटो जीव वनस्पती जे जे भेटे ती सबैका स्पर्शले मलाई बचाई रहे, बढाई रहे, उर्जा दिई रहे कोण कोणबाट । यात्रामा ठेस नलागेको भए, काडाँले नघोचेको भए, दाह्रा र नग्राले शरीर नकोपरेको भए आफ्नै मान्छेहरु पराई नभएको भए, पराईहरु बिस्तारै आफन्तमा अनुबाद नभएको भए, रातले नटोकेको भए, दिनले नछलेको भए, कहाँ बनिरहन्थ्यो र मेरो जिन्दगी सधै ताजा, झरिलो र अर्थपुर्ण ।
यात्रा अबसर हो । चुनौती हो जोखिम हो । अनुभूति पनि हो । जिज्ञासुले जहिले पनि ज्योति पाईरहन्छ यात्रामा । जीवन र जगतलाई नजिकबाट नियाल्न सहयोग गर्दछ यो यात्राले । यात्रा नहुने हो त मान्छेलाई उसको मूल्य र मान्यता पनि थाहा हुदैन, संन्सारको सुन्दरताको मिठास पाउँदै पाउँदैन ।
यात्रा र प्रेम गर्नु उस्तै उस्तै हो शायद । कति धेरै कठिनाईहरु सहेर पनि प्रेम जन्माउछन्, हुर्काउछन् र बढाउछन्– पे्रमिल पात्रहरुले । कयौ बाधा, पीडा, अभाब र अन्यौल एउटै प्रेमले सिनित्त पार्छ । तेस्तै हो हाम्रो जिन्दगी पनि । जति व्यबस्थित बनाउछु भने पनि योजनाबद्ध बन्दैन जिन्दगी । जति सरल बनाउछु भने पनि बन्दैन यात्रा । अव्यवस्थित, अनिश्चयी र अनपेक्षित क्षणमा भने साच्चै मनमोहक र अर्थपूर्ण हुदा रहेछन् ती दुबै । धारिलो धारमा टेके पनि, आगाको ज्वालाले डामे पनि , च्वासच्वास्ती सियोले घोचे पनि नौले रङ्ग र नौलो ढङ्गको अनुभुती उत्सुक र आनन्ददायी बन्दो रहेछ जीवन र प्रेम ।
प्रेम जीवन र यात्रा सबै अर्थपूर्ण र ऐतिहासिक छन् । यो हरेक क्षण, जिन्दगीको प्रत्येक पल ऐतिहासिक बन्छ । ती दुबै कहिले दोहोरिदैनन् । यात्रा र जिन्दगीको प्रत्येक क्षण ऐतिहासिक, अर्थपुर्ण र आनन्ददायी बनाउन सकियो भने मात्र सार्थक हुन्छ जिन्दगी । यस अर्थमा म आफूले आफैलाई प्रिय पात्र ठान्दछु ।
त्यसपछि मलाई के के भयो, मैले के के गरे, के के गरिन ती सब लेख्न असमर्थ छु कारण ती सम्झदानै मेरो मन सिरिङ्ग हुन्छ ! बिस्तारै मैले आफुलाई कुहिरोमा हराएको काग जस्तै भेटाए ! सानो बालक हुदा ठुलो भएर धेरै धन र मान कमाउने ईक्षा थियो ! ती घुन्द्रुक र ढिडो खादै ढाकर र स्याउलाको भारी बोकेर पहाडको बाटो ” खुईय ” गर्दै उकालो ओरालो गरेको सम्झन्छु अनि पछि काठमाडौँको पाचतारे होटलमा ज्युनार गर्दै कार लिएर हिडेको सम्झन्छु तर संसारमा मान, इज्जत, धन, दौलत हात परे पनि आखिर मानिश जन्मेको त मर्नलाई नै रहेछ ? आखिर एक दिन त ………………..? त्यतिखेर मैले तपाईहरुलाई भनेको पनि थिए जति सुकै बाचे पनि एक दिन त मर्नुनै पर्ने हो भने यो संसारमा दुख कस्ट भोग्दै किन बचिरहनु ? तपाईहरु पनि त्यतिखेर निरुत्तर भएको थियौ हैन र ?
तर साथीहरु !!
अचेल म बदलिएको छु ! हामीले परिबर्तनलाई स्वीकार गर्नुपर्ने रहेछ ! यो नकार्न नसकिने कुरा हो , संसारलाई यति रमाइलो र सुबिधाजनक बनाएको पनि परिबर्तन ले नै हो ! हामीलाई थाहै छ एक दिन त हामी सबैले यो धर्तिबाट बिदा लिनु पर्दछ तर पनि हामी मृत्यु देखि दरै रहेका छौ ! हामी ठान्छौ हाम्रो सन्तति वा जीवन साथी हामी बिना बाच्न सक्दैनन् तर सत्य केहो भने उनीहरु मध्ये कोहि पनि तपाई संगै मर्नेवाला छैनन् ! तपाइको अवसानले केहि दिन उनीहरुलाई निरास तुल्याउन
सक्छ तर उनीहरु मरिहाल्दैनन ! समयले तिनीहरुलाई निरासाबाट मुक्ति दिन्छ अन्तत उनीहरु निरासाबाट आफ्नो गन्तभ्य पथमा अघि बद्छन !
साथीहरु !!
दुनिया कुनै पनि यस्तो छैन जसले सम्पूर्ण इच्छा पुरा गर्न सकोस वा जसले मन ले जे चिताए पनि सुख प्राप्त गर्न सकोस ! सुख दुख पाउनु भनेको समयको अधिनमा छ ! व्यक्तिको अधिनमा होइन ! यस संसारमा जन्मलाई मृत्युले जवानीलाई बुढाले सन्तोषलाई असन्तोषले निरोगिलाई रोगले ग्रस्त गरेको छ मानिसका स्वास्थ्यलाई आनेकौ रोग र पीडाले दुखः दिन्छ ! यो हाम्रो सरिर पनि अनित्य छ धन पनि स्थिर छैन मृत्यु सधै नजिकै छ ! हामीले बितिसकेको बस्तु र कुराहरुको सोच गर्नु हुदैन ! भबिस्यमा कस्तो आइपर्छ वा के होला भन्ने चिन्ता पनि लिनु हुदैन ! हामीले जुन समयमा जस्तो समस्या आइपर्छ तेस्तै बेहोर्नु पर्दछ ! वर्तमान र समय अनुसार चल्न सिक्नु पर्दछ ! जे चिज आफ्नो बसमा हुदैन तेसका लागि दुखि नभई सन्तोष लिनु पर्दछ ! मानिसले इच्क्षा गर्यो , चाहना राख्यो, संकल्प गर्यो भने संसारमा असम्भब भन्ने कुरा कुनै छैन ! अरुलाई नियन्त्रण गर्न पक्कै गार्हो हुन्छ तर आफुलाई नियन्त्रण गर्न कुनै मुस्किल हुदैन ! दृढतामा सफलता हुन्छ , शक्तिसाली सोचमा सफलता हुन्छ !
त्यसकारण अघाडी बढ्ने प्रयास गर्नुहोस !!
अन्तमा साथीहरु !!
आफुलाई यति दह्रो बनाउनुसहोस् कि कुनैपनि कुराले तपाइको सान्तिलाई नबिथलोस, जो संग भेट्दापनि स्वस्थ , सुख र सम्पन्नताको कुरा मात्र गर्नुहोस ! आफ्नो साथीलाई तपाई उनीहरुको खुबीको मात्र प्रसंसा गर्नुहुन्छ भन्ने महसुस गराउनुहोस् ! प्रत्यक बस्तुको उज्यालो पक्षलाई मात्र हेर्नुहोस ! राम्रो मात्रै सोच्नुहोस ! राम्रोको लागि मात्रै काम गर्नुहोस र राम्रोको आसा राख्नुहोस ! अरुको सफलतामा उतिकै उत्साही बन्नुहोस तपाई आफ्नोमा बन्ने गर्नुहुन्छ ! बितेको बिगत र गल्तीहरुलाई विर्सनुहोस र भबिस्यका सुन्दर प्रप्तिहरुमा यौटै ध्यान लगाउनुहोस ! सबै संग हसिलो मुस्कान बाड्नुहोस ! राम्रोको लागि यति समय खर्चानुहोस कि चिन्ताले नसतोस , यति उदार बन्नुहोस कि रिस नआवस !!
कथाकार बिनोदकुमार श्रेष्ठ मेरुदण्डको चोटबाट प्रभावित हुनुहुन्छ ।उहाँकाे किताव तयारी हुदै छ । यो अलिकति अंश मात्र हो ।
Comments
Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!
