हि्वलचियरबाट ३६६ किमि

April 20, 2014

भैरहवा, वैशाख ७   माधव ढुंगाना – उनको कम्मरमुनिको भाग चल्दैन । मेरुदण्डमा दुइटा रड राखेर १२ वटा पेचले कसिएको

छ । एउटा आँखाले देख्दैनन् पनि । त्यति मात्र होइन, दिसापिसाब आएको पनि थाहा पाउँदैनन् । हि्वलचियरको सहारामा जीवन चलेको छ, सिन्धुपाल्चोक मान्खा-५ काफलबोटका ३१ वर्षे रामबहादुर तामाङको ।यिनै रामबहादुरले साहसिक यात्रा गरेका छन्- हि्वलचियरबाटै काभ्रेको नमोबुद्धदेखि लुम्बिनीसम्म ३ सय ६६ किमि २६ दिनमा पूरा गरेर ।

दुवै हातले हि्वलचियरको पांग्रा धकेल्दै अघि बढेका उनी सडक छेउमा रूख चढ्दै गरेको व्यक्ति देख्नासाथ चिच्याउँथे, ‘ए दाइ ! अलि होस् गर्नु है, wheelchair_20140420084352मेरोजस्तै हालत नहोस् ।’

घाँस, दाउरा र स्याउलाका लागि वनपाखातिर जाने हुन् या छत र ढोकामा यात्रु झुन्ड्याएर कुदाउने सवारी साधन, रोकेर दुर्घटनाबाट बच्न सल्लाह दिन्थे । मेरुदण्डलाई असर पुग्ने खालको असुरक्षित काम गर्ने जोकोहीलाई देख्नासाथ सम्झाएपछि मात्र अघि बढ्थे । सबैलाई आफ्नो उदाहरण दिन्थे उनी ।

‘मेरुदण्ड र त्यसको पक्षाघातको रोकथाम, उद्धार, उपचार र पुनःस्थापनाको महत्त्वबारे जनचेतना जगाउन मैले यो यात्रा गरेको हुँ,’ उनले भने, ‘अपांग हँुदैमा जीवनको अन्त्य हुँदैन, हरेस नखाई अनेक चुनौतीसँग जुध्दै बाँच्न सिक्नुपर्ने सन्देश दिँदै यात्रा पूरा गरें ।’

२०६७ पुसमा दोलालघाटमा बस दुर्घटनामा परेपछि उनको मेरुदण्ड भाँचिएको हो । दस जनाको परिवार पाल्नुपर्ने व्यक्ति नै अपांग भएर अरूको सहारामा बाँच्नुपर्ने भएपछि कसरी परिवार पाल्ने ? यही हीनताबोधले उनले धेरै पटक अस्पतालमै आत्महत्याको प्रयास गरे । ‘परिवार भोकभोकै मरेको देख्नुभन्दा आत्महत्या गर्छु भनेर १२ पटकसम्म हातमा स्लाइनको पाइपले घाँटीमा पासो लगाएर अस्पतालको बेडबाटै झुन्डिएँ, त्यो त झन्-झन् तन्किँदो रहेछ, घाँटी नै अँठिएन,’ उनले सुनाए, ‘एक दिन चक्कुले घाँटी रेट्न थालेको थिएँ, अरूले देखेर रोके ।’

आत्महत्याको प्रयासपछि चिकित्सकले उनलाई काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा पठाए । त्यहाँ आफूजस्ता अपांग हि्वलचियरमा बसेर दौडेको, मोबाइलमा हाँस्दै गफिएको देखेपछि उनमा बाँच्ने आत्मबल बढ्यो । हि्वलचियरमै मिठाई पोको पार्ने, बसपार्क र सडकमा मिनरल वाटर र रिचार्ज बिक्री गरेर परिवार पाल्दै आएका तामाङ अहिले पुनःस्थापना केन्द्रकै कर्मचारी छन् ।

मेरुदण्डको पक्षाघात भएको व्यक्तिको कम्मरमुनिको भाग चेतनाविहीन हुने भएकाले घाउ, खटिरा आउने र पाक्दै गएपछि कुहिने समस्या हुन्छ । त्यसका कारण चाँडो मृत्यु हुने भएकाले अपांगले शरीरको विशेष ख्याल राख्नुपर्ने उनको सुझाव छ । ‘खुट्टाका १० वटै औंला मुसाले खाँदा पनि थाहा पाइनँ,’ उनले भने ।

तामाङको यात्राका सहयोगी तथा केन्द्रका सामुदायिक कार्यकर्ता प्रज्ज्वल घिमिरे व्यक्तिले सजग नहुँदासमेत मेरुदण्ड भाँचिने क्रम बढेकाले त्यसबारे जनचेतना जगाउन जरुरी भएको ठान्छन् ।

लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले रामबहादुरबाट सवलांगले पनि सिक्नुपर्ने बताए । ‘उनी साहसिक र प्रेरणाको स्रोत हुन्,’ उनले भने ।

साभार ekantipur

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!