नयाँ वर्षमा दुई दृष्टिविहीनलाई घर

April 13, 2014

२०७० चैत ३०, आइतबार झापा : कांग्रेसका विश्वप्रकाश शर्मालगायत केही युवाले दुईजना दृष्टिविहीन दाजुभाइलाई नयाँ घर दिएर नयाँ वर्ष २०७१ लाई स्वागत गरेका छन्। नयाँ वर्ष लाग्ने अघिल्लो दिन आइतबार झापा गौरादह ४ का दृष्टिविहीन दाजुभाइ राम र लक्ष्मण भुजेललाई घरको साँचो जिम्मा दिएर उनीहरूले नयाँ वर्षको स्वागत गरेका हुन्।

‘के नयाँ सिर्जनात्मक काम गरेर नयाँ बर्ष मनाउने भनेर कल्पना गरिरहँदा हामीले यी दुई दाजुभाइका बारेमा सोच्यौं र नयाँ घर बनाउने निष्कर्षमा पुग्यौं। २०७० साललाई बिदा गरेर नयाँ वर्ष २०७१ सालको पहिलो दिन ओछ्यानबाट ब्युँझिँदा उनीहरू एउटा नयाँ घरमा हुन् भन्ने कल्पना आज पूरा भएको छ’, विश्वप्रकाशले भने।

उनीहरूलाई घर बनाइदिन सबभन्दा पहिला गौरादह ४ कै पुन्य सिग्देल र उनका दाजु दीनानाथ सिग्देलले पहिलो कदम उठाए। उनीहरूले आठ धुर जग्गा उनीहरूका नाममा नि:शुल्क पास गरिदिए। आइतबार घर हस्तान्तरण कार्यक्रममा पुन्य सिग्देलले जग्गाको धनीपुर्जा राम र लक्ष्मणलाई जिम्मा लगाए। सिग्देलले भने, ‘हामीले बाबुआमा कोही पनि नभएका यी दृष्टिविहीनका लागि घर बनाइदिने काम गर्‍यौँ।

आजको दिन जीवनभर कतै पाप गरिएको थियो भने पनि काटियो जस्तो लागेको छ।’ घर बनाइदिनेमा झापा शनिश्चरेका मदन बुढाथोकी, धाइजनका तिलक गिरी, बिर्तामोडका दीपेन्द्र पोखरेल, गौरादहकै हेमन्त कार्कीलगायत छन्। करिब अढाइ लाख रुपैयाँमा घर निर्माण गरिएको जानकारी हेमन्त कार्कीले दिए। कार्कीले भने, ‘नयाँ वर्षको पूर्वसन्ध्यामा परोपकारको काम भएकोमा हामीलाई धेरै खुसी लागेको छ।’

साभार अन्नपूर्ण पाेस्ट

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!