मान्छे जोखेर जीवन धान्नेहरु

April 8, 2014

निता सत्याल/मञ्जु गिरी
काठमाडौं, २५ चैत- बटुवाको तौल जोख्छन् उनी । तर, उनकै दुःखको तौल भने कसैले जोखेको छैन । ६० वर्षीय विष्णु दुलाल सडकमा मान्छे जोख्ने मेसिन राखेर बसेको दिव्य १२ वर्ष हुन लागिसक्यो । १६ वर्षअघि दुःख–सुख बाँड्ने श्रीमती गुमाए । छोरा, बुहारी र नाति– नातिना छन् । तर, उनी बेसहारा छन् । “इन्द्रचोकको एउटा होटलमा एक्लै बस्छु । खान र बस्न पुगेको छ,” दुलाल चित्त बुझाउँछन् ।
सामान्यतः बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म रत्नपार्कमा बस्छन् । १ सय ५० रुपैयाँसम्म आम्दानी हुन्छ । शारिरीक अपांगता भएका दुलाल सरकारसँग अपांग भत्ताको अपेक्षा गर्छन् । तर, आफ्नै छोराबुहारीले उनको वास्ता गरेका छैनन् । कामनपाले सडकमा बस्न दिएकोमा खुसी हुनुपरेको छ उनले ।
दुलालममात्र हैन, डिल्लीबजार बस्ने कृष्णबहादुर खड्काको जिन्दगी पनि उत्तिकै दयनीय छ । उनी पनि अपांग हुन् । दोलखामा घर भए पनि श्रीमती लिएर भाञ्जाको घरमा बस्छन् । श्रीमति आँखा देख्दिनन् । रत्नपार्कमा मान्छे जोख्न बसेका कृष्णबहादुरलाई भने कामनपाले भेदभाव गरेको छ । यही सडकमा ४० वर्ष बिताइसकेका खड्का बेलाबेला खेदिन्छन् ।
अरू कुनै काम गर्न नसक्ने दुलाल र खड्काका लागि सडकमा बस्नु बाध्यता हो । सीमित कमाइ हुन्छ । दैनिक ५० रुपैयाँ त साहूलाई बुझाउनुपर्छ । रत्नपार्कको घाम र धूलो पचाइसके उनीहरूले ।
सबै बटुवा इमान्दार हुँदैनन् । कहिले ५–६ जनाले ५ रुपैयाँमात्र दिन्छन् । अनि कसैले चाहिँ बढी पनि दिन्छन् । “सहरमा धेरै किसिमका मान्छे छन् । कोही हेप्छन्, कोही माया पनि गर्छन्,” खड्काको अनुभव छ ।
बसभाडामा छुट नपाएकोमा उनीहरूको गुनासो छ । अपांगता परिचयपत्र हराएपछि उनीहरू पीडित छन् । “अपांग शरीर देखेर छुट दिए पनि त हुन्थ्यो तर दिँदैनन्,” दुलालले दुखेसो पोखे । चुनावमा भोट माग्नमात्र आउने नेताप्रति उनीहरूको तीव्र वितृष्णा छ । अपांगका लागि सरकारले केही गरिदेला भन्ने आस पनि उनीहरूलाई छैन ।
पुरानो बसपार्कनजिक जोख्ने मेसिन लिएर बस्ने ६४ वर्षीय चन्द्रलाल पौडेल पनि दिक्क छन् । “दैनिक १ सय रुपैयाँ पनि भएन भने त बाँच्नै गाह्रो हुन्छ,” उनले भने । ६ महिनादेखि यो काम गरिरहेका पौडेल त्यसअघि ज्योतिषी थिए । मान्छेले ज्योतिषमा विश्वास गर्न छाडेपछि आम्दानी हुनै छाडेको अनुभव उनले सुनाए ।
गोकर्णमा बस्ने पौडेलका श्रीमती र ११ कक्षामा पढ्ने छोरा छन् । आर्थिक अवस्था कमजोर भएकाले छोरालाई भने मामाघर पठाएका छन् । जोरपाटीमा बस्दा कमाइ नभएपछि उनी पुरानो बसपार्क आएका हुन् । कसैकसैले मेसिन बिग्रेको भनेर पैसा नदिई जाने गरेको गुनासो उनले गरे । कामनपाका कर्मचारीले भने नमस्ते गरेपछि छाडिदिने उनले सुनाए ।
दुलाल, खड्का र पौडेल त प्रतिनिधि पात्रमात्र हुन् । उनीहरूजस्ता थुपै्र वृद्धवृद्धा र अपांग सडकमा छन् । तिनलाई सरकारले कुनै सहयोग र सुविधा दिएको छैन । ज्येष्ठ नागरिकलाई सम्मान गर्ने सरकारी भनाइको यसले धज्जी उडाएको छ ।

साभार: काराेबार दैनिक

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!