किताबै नहेरी दृष्टिविहीन एसएलसीमा

March 20, 2014

नुवाकोट-बिहीबारबाट एसएलसी परीक्षा सुरु भएकाे छ। तर, यहाँका दृष्टिविहीन विद्यार्थीका हातमा अझै पुस्तक छैन। ब्रेललिपिका पुस्तक नभएकै कारण उनीहरू अनुत्तीर्ण भइने चिन्तामा परेका छन्।
‘ब्रेललिपि पुस्तक र रेकर्डिङ गरेर सुन्ने उपकरण नहुँदा ऐच्छिक अर्थशास्त्र र लेखा कसरी पास गर्ने पीरले मन ढुक्क फुल्छ,’ तुप्चेको चण्डेश्वरी उमाविकी विद्यार्थी मनोहरिसा थापाले भनिन्, ‘शिक्षकले कक्षामा भनेको भरमा कति सम्झन सकिन्थ्यो र?’ लामाटारकी उनी माविको दृष्टिविहीन आवास केन्द्रमा बसेर पढ्दै आएकी छन्। अर्थशास्त्र र लेखाको पुस्तक हात नपरीकनै उनले ९ र १० कक्षाको परीक्षा दिइन्। एसएलसीमा शिक्षकले पढाएको सम्झेको भरमा लेख्नुको विकल्प छैन। अनिवार्य विषयका पुस्तक ब्रेललिपिमा पाए पनि ऐच्छिक विषयका पुस्तक भने दृष्टिविहीनले पाउने गरेका छैनन्।
‘पहिलेका दाइहरूले ऐच्छिक विषयको किताब नहुँदा सिडीमा आवाज रेकर्डिङ गरेर सुन्नुहुन्थ्यो, अहिले ती सिडी पनि छैनन्,’ उनले भनिन्, ‘साथीहरूलाई सोध्यो उनीहरूले पनि शिक्षकले भनेका सबै कुरा सम्झन सकेका हुँदैनन्। किताब नभएकै कारण विशिष्ट श्रेणी ल्याउने आफ्नो धोका पूरा नहुने भएको उनले बताइन्।
उनीसँगै अरू दुई दृष्टिविहीन छन्, एसएलसी तयारीमा जुटेका। बाध्यता सबैको एउटै। काठमाडौं, कलंकी घर भएको संगीत अर्याल परीक्षा नजिकिँदै जाँदा डर लागेको बताउँछन्। ‘डरले शिक्षकले पढाएको कुरा पनि बिर्सन थालें,’ भन्छन्, ‘न नोट कपी छ न अरू कुनै माध्यम।’
शिक्षकले भनेका सबै कुरा उनीहरू तत्काल ब्रेललिपिमा टिप्न भ्याउँदैनन्। अरू दृष्टियुक्त साथीहरूले बुझ्यौं भनेका भरमा उनीहरू नबुझे पनि टाउको हल्लाउँछन्। चण्डेश्वरी माविकै अर्की दृष्टिविहीन विद्यार्थी जयन्ती शाहीले भनिन्, ‘शिक्षक कालोपाटीमा के लेख्छन्, हामीलाई थाहा हुँदैन। नबुझेका कुरा कति मात्रै सोध्नु।’ उनीहरूलाई पनि अरू आमविद्यार्थीलाई सरह एउटै कक्षामा राखेर पढाउने गरिएको छ। दृष्टिविहीनले ब्रेललिपिमा लेखेको बुझ्ने शिक्षक पूरै विद्यालयमा दुई जना मात्रै छन्।
‘उति बेला शिक्षकलाई सबै कुरा सोध्न साध्य नचल्ने, अहिले हातमा किताब पनि छैन। परीक्षा नजिकिँदै जाँदा डर लागिहेको छ। निद्रा लाग्न छोडेकै एक हप्ता भयो,’ शाहीले भनिन्, ‘ब्रेल लिपिमा टिप्न भ्याइएका कुरा मात्रै लेखेर कसरी पास भइएला र?’
उनीहरूले परीक्षामा लेखिदिन एक सहयोगी राख्न पाउँछन्। यसअघि नौ कक्षाका विद्यार्थी सहयोगी राख्न पाइनेमा यसपालि आठ कक्षाका विद्यार्थीबाट लेखाउन पाइने व्यवस्था भएको उनीहरू बताउँछन्। चण्डेश्वरी माविको जिल्लाकै एक मात्र दृष्टिविहीन छात्रावासमा २० जना बस्छन्। विद्यालयमा दृष्टिविहीनका लागि ब्रेललिपिसम्बन्धी आधारभूत पढाइ हुने गरेको दृष्टिविहीन स्रोतकेन्द्रका प्रमुख नारायण भण्डारीले बताए।
साभार nagariknews

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!