सुस्त मनस्थितिकी बालिका बलात्कार गरेको स्वीकार

March 17, 2014

शिवप्रसाद उप्रेती चैत ४, मंगलबार गोरखा : ‘सबैजना गाउँको अर्गुङ(गुरुङहरूको मृत्यु संस्कार) को निम्तो मान्न गएका थिए। घरमा उनी मात्रै थिइन्। हामी तीनजना पनि त्यतै जान लागेका थियौं। दुईजना साथी तल पसलमा पैसा साट्न गए। उनको घर बाटोमै पथ्र्यो। घरमा त्यो नानीमात्र छ भन्ने सम्झें र त्यतै लागें।

अनि उसलाई बलात्कार गरें।’सुस्त मनस्थितिकी नबोल्ने १० वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभियुक्त स्थानीय शरण गुरुङले बयान दिँए, ‘बलात्कारपछि उसलाई कपडा लगाइदिएँ। आफू पनि कपडा लगाएर अर्गुङ हेर्न गएँ।’ नाम्जुङ ३ रीतछापकी छकुमारी (नाम परिवर्तित) माथि बलात्कार गर्नेलाई पहिचान गरी कारबाही गर्न प्रहरीलाई ठूलै चुनौती थियो।

सुस्तमनस्थिति भएकी, बोल्न नसक्ने, बोकेर सुताइदिनुपर्ने, उठाइदिनुपर्ने, खुवाइदिनु पर्ने, दिसापिसाब गराइदिनुपर्ने पूर्ण अपांग बालिकालाई घरमा कोही पनि नभएको मौका छोपी बलात्कार गर्नेलाई पहिचान गर्न जिल्ला प्रहरी प्रमुख डीएसपी रमेश थापाको टोलीले ६ दिन खर्चनुपर्‍यो।

‘न प्रत्यक्षदर्शी छ, न पीडित बोल्न सक्छ’, डीएसपी थापा भन्छन्, ‘बलात्कारको घटना नजिकका बाट हुने गरेको छ भन्ने एउटा आधार बनाएर अनुसन्धान गरियो। त्यो समयमा घरको बाटो हुँदै कोको आवतजावत गरेका थिए भन्ने आधार बनाएर अनुसन्धान गर्दा तीनजनामाथि शंका लाग्यो। उनीहरूमाथि अनुसन्धान गर्दा अभियुक्त फेला पर्‍यो।’ उनीमाथि बलात्कार गर्ने उनकै छिमेकी १७ वर्षका गुरुङ आइतबार प्रहरी फन्दामा परेका हुन्। गुरुङले फागुन २८ गते साँझ बालिका बलात्कार गरेको स्वीकार गरेका छन्। सुस्त मनस्थिति बालिका बलात्कार गरेको अभियोगमा सोमबार प्रहरीले गुरुङविरुद्ध मुद्दा दर्ता गरेको छ।

पीडितका बुबा ठाकुर गुरुङले दिएको किटानी जाहेरीको आधारमा गुरुङविरुद्ध मुलुकी एेनको जबरजस्ती करणी महलको एक नम्बरअन्तर्गत मुद्दा दर्ता गरी म्याद थपसमेत गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी रमेश थापाले जानकारी दिए।
साभार अन्नपूर्ण पाेस्ट

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!