बहिरा बालबालिकाको अवस्था दयनीय

March 4, 2014

रुद्र सुवेदी/राजधानी

२० फागुन । बहिरा बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्न सबै क्षेत्रबाट चासो दिए मात्रै सम्भव हुने देखिएको छ । अधिकांश बहिरा बालबालिका ग्रामीण क्षेत्रका हुने र अविभावकले समेत उनीहरूका बारेमा बेवास्ता गर्दा उनीहरू दयनीय स्थितिमा रहेको जनाइएको छ ।

शिक्षाको पहुँचबाट वञ्चित बहिरा बालबालिकालाई शिक्षाको अधिकार सुनिश्चित गर्न रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) चिसापानी बाँकेले बहिरा बालबालिकाको शिक्षाका लागि विभिन्न निकायसँगको सहकार्यमा उनीहरूको अवस्थाका विषयमा गरेको अध्ययनले उनीहरू दयनीय अवस्थामा रहेको जनाएको छ ।
रेरीका अध्यक्ष पुनितविक्रम शाहले बहिरा बालबालिकामैत्री विद्यालय तथा अभिभावकसमेत नहुँदा अवस्था जटिल हुने गरेको बताए । उनले सामुदायिक विद्यालय बहिरामैत्री नहुँदा बहिरा बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन पुगेको बताए ।
शिक्षाको पहुँचबाट वञ्चित बहिरा बालबालिकालाई अधिकार सुनिश्चित गर्न समाहित शिक्षाको अवधारणालाई अवलम्बन गर्दै रेरीले सांकेतिक भाषातालिम प्रदान गरी समाहित शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
सामुदायिक विद्यालयलाई बहिरामैत्री बनाउन बहिरा बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी समाहित शिक्षा प्रवद्र्धन गर्ने बताइएको छ । बहिरा विद्यार्थीले नेपाल सरकारबाट पाउनुपर्ने सुविधाका बारेमा वकालत गर्ने उद्देश्यका साथ (रेरी) चिसापानी बाँकेले एक्सन एड इन्टरनेसनलसँगको सहकार्यमा समाहित शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको रेरीका अध्यक्ष शाहले जानकारी दिए ।
कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले रेरीले सञ्चालन गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए । उनले जिल्लामा रहेका सामुदायिक विद्यालयलाई बहिरामैत्री बनाउन आफूले सक्दो पहल गर्ने बताए ।
उनले भने, ‘बहिरा बालबालिकाको शिक्षाको अधिकारप्रति शिक्षा कार्यालय सचेत छ तर पनि स्रोत र साधनको अभावमा प्रभावकारी काम हुन सकेको छैन ।’ जिल्ला विकास समिति बाँकेका कार्यक्रम तथा योजना अधिकृत रमेश शाहले बहिरा बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनु चुनौतीपूर्ण भएकाले सबैले साथ दिनुपर्ने बताए ।
यस्तै, महिला तथा बालबालिका कार्यालयकी प्रमुख प्रभा श्रेष्ठले बहिरा बालबालिकाको शिक्षाका लागि उनीहरूका अभिभावकमा समेत सचेतना जगाउनु जरुरी भएको बताइन् ।
एक्सन एड नेपालका क्षेत्रीय व्यवस्थापक दिनेश गुरुङले समाजमा रहेका बहिरा बालबालिका शिक्षाको पहँचबाट वञ्चित रहेकाले उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन आफूहरू उत्साहित भएको बताए ।
रेरीका कार्यक्रम निर्देशक साजिद अली सिद्दिकीले बहिरा बालबालिकाका लागि समाहित शिक्षा प्रवद्र्धन कार्यक्रम बाँकेको महादेवपुरी गाविस र कैलालीको धनगढी नगरपालिकाको डाँडागाउँ, टीकापुर नगरपालिका र जोशीपुर गाविसमा सञ्चालन भइरहेको जानकारी दिए ।

साभार राजधानी

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!