अपांगलाई छुट्टै अस्पताल

March 2, 2014
  • निराजन पौडेल

अाइतबार १८ फागुन ,रसुवा–कालिकास्थामा जिल्लाका अपांग बिरामीलाई लक्षित गरी छुट्टै अस्पताल खोलिएको छ। थुप्रै रकम खर्चिएर राजधानीकै अस्पताल पुग्नुपर्ने बाध्यता टरेपछि अपांगता भएकाहरूले खुसी व्यक्त गरेका छन्। आर्थिक अभाव र शारीरिक अशक्तताका कारण कतिपय बिरामी उपचारबाट वञ्चित भइरहेका थिए। हाल जिल्ला स्वास्थ्य कार्यालयकै भवनमा अस्पताल सञ्चालन गरिएको छ।

‘पहिला गाउँमा ऋण खोजेर राजधानी जानुपर्थ्यो, अब सजिलो हुने भएको छ,’ दिलबहादुर तामाङले भने। उनका दुइटै खुट्टा चल्दैनन्। त्यसैको उपचारका लागि उनी वर्षको चारपटक काठमाडौं धाउनुपर्ने बाध्यतामा थिए।

रसुवा जिल्ला अपांग बाल विकास तथा पुनःस्थापना केन्द्रले अपांगता हुनेका लागि थेरापीसहितको स्वास्थ्यसेवा व्यवस्था गरेको हो। अपांगता सेवा केन्द्रले अपांगता भएका बालबालिकाका लागि विशेष कक्षा पनि सञ्चालन गर्दै आएको छ। समाजसेवी र स्थानीय बासिन्दाको सहयोगमा अपांगता बालबालिका पुनःस्थापना अस्पताल सञ्चालनमा ल्याइएको पुनःस्थापना केन्द्रका अध्यक्ष विष्णु आचार्यले बताए। अस्पतालमा अकुपन्चर थेरापी, फिजियोथेरापी, स्पिट थेरापी, गेट ट्रेनिङ, सेन्सरी ट्रेनिङ, म्युजिक ट्रेनिङलगायत सेवा उपलब्ध छन्।

हाल शारीरिक अशक्त र अपांगता भएका १० बालबालिकालाई आवासीय रूपमै उपचार व्यवस्था मिलाइएको छ। कुल जनसंख्याका ५ लाख अपांग नागरिकमध्ये रसुवा जिल्लामा १२ सय रहेको केन्द्रले जानकारी दियो।

साभार- नागरीक

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!