अपाङ्गताले नपाएको प्राथमिकता

February 27, 2014

कल्पना शर्मा

विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा १० देखि १२ प्रतिशतसम्म अपाङ्गता भएकाहरूको संख्या छ । प्रश्न उठ्छ, अपाङ्गता भएकाहरूको संख्या यति धेरै हुँदाहुँदै पनि सञ्चारमाध्यममा उनीहरूका विषयवस्तुले किन प्राथमिकता पाउन सकेनन् त ? हामीकहाँ राजनीति, चलचित्र या अन्य विषयवस्तुले भने मुख्य स्थान पाउँछन्, तर अपाङ्गता भएका व्यक्तिहरूका विषयवस्तुले भने प्रायः भित्री पृष्ठका साना ठाउँमा स्थान पाउँछन् ।Kalpana-Sharma_20140213094339

२०६९ भदौ, असोज र कात्तिक महिनाभरि प्रकाशित गोरखापत्र, कान्तिपुर र नागरिक दैनिकमा गरिएको शोध सर्वेक्षणअनुसार जम्मा विषयवस्तुमध्ये एक प्रतिशत पनि अपाङ्गताका विषयवस्तुमा केन्दि्रत देखिँदैन । २०६८ को जनगणना अनुसार, कुल जनसंख्याको १.९३ प्रतिशतमा (६ लाखको हाराहारी) अपाङ्गता भएकाहरूको संख्या रहे तापनि प्रमुख दैनिकहरूमा उनीहरू सम्बन्धी समाचार न्युन प्रकाशित हुनु आफैंमा अमिल्दो हो । तीनवटै दैनिकमा जम्मा ९४ वटा अपाङ्गतासम्बन्धी विषयवस्तु प्रकाशित भएको देखिन्छ । यद्यपि सर्वेक्षण गरिएको तीन महिना बाहेकको समयावधिमा अपांगतासम्बन्धी के-कति समाचार छापिएका छन्, त्यसमा छुट्टै खोजबिन गर्न सकिएला । माथि उल्लिखित तीन महिनाका समाचार हेर्दा यी तीन दैनिकहरूमा सबैभन्दा बढी शारीरिक अपाङ्गताका विषयवस्तुले प्राथमिकता पाएका छन् । तीमध्ये शारीरिक ३२, दृष्टिसम्बन्धी २८, सुनाइसम्बन्धी ४, मानसिक ६, बहु १६, अन्य अपाङ्गताबारे ६ वटा समाचार प्रकाशित छन् । त्यस्तै औपचारिक कार्यक्रम र संक्षिप्त समाचारहरू बढी प्रकाशन भएका छन् । अपांगताका विषयवस्तुको गहिराइसम्म पुगेर समाचार सम्प्रेषण गरिएको त एकदमै कम भेटिन्छ । पृष्ठगत आधारमा बाहिरी पेजमा १/२ वटामात्रै विषयवस्तु प्रकाशन भएका छन् भने प्रायःजसो औपचारिक सभा, समारोह, संक्षिप्त विषयवस्तुलाई नै जोड दिइएको पाइएको छ ।

अर्को महत्त्वपूर्ण पक्षमा प्रमुख दैनिकहरूले अपाङ्गतासम्बन्धी विषयमात्र हेर्ने छुट्टै बिट रिपोर्टर राखेका छैनन् भने अपाङ्गता भएका कुनै पनि व्यक्ति सम्पादकीय समूह वा समाचार डेस्कमा रहेको पाइँदैन । कान्तिपुर दैनिकमा भने केही अघिसम्म अपाङ्गता भएका एकजना पत्रकार डेस्कमा कार्यरत थिए भने झमककुमारी घिमिरे र डा.कमल लामिछानेले स्तम्भकारका रूपमा अपाङ्गतासम्बन्धी विषयवस्तुमा कलम चलाइरहेका छन् । आवाजविहीनहरूको आवाजको रूपमा रहेका सञ्चारमाध्यममा यति कम संख्या र कम महत्त्व दिएकाले पनि नेपालमा मिडिया पछाडि पारिएका वर्गसम्म पुग्न नसकेको प्रस्ट हुन्छ । पत्रकारहरूले अपाङ्गतासम्बन्धी विषयवस्तुलाई अगाडि ल्याउँदा उनीहरूका भित्री समस्या, दैनिक जीवनयापनमा हुने गरेका कठिनाइलाई महत्त्व दिएर विषयवस्तुको प्रकाशन तथा प्रसारण गर्नुपर्छ । राज्यको चौथो अङ्गका रूपमा काम गर्दै समाजलाई अँध्यारोबाट उज्यालोतिर लैजाने दायित्व पत्रकारिता जगतको हो । तर पत्रकारिता जगतले अन्य विषयवस्तुका तुलनामा अपाङ्गता भएका व्यक्तिहरूका विषयवस्तुलाई न्युन स्थान दिनु उचित होइन । पत्रकारिता क्षेत्रले सशक्त र प्रभावकारी रूपमा काम गर्न नसकेका कारण पनि अपाङ्गताका आवाजले समाजमा प्राथमिकता नपाएको हुनसक्छ ।

अपाङ्गता वर्गीकरणको आधार हेर्ने हो भने नेपाल सरकारले तिनलाई सात प्रकारमा विभाजित गरेको छ । आम सञ्चारमाध्यममा भने अपाङ्गताका प्रकार या वर्गीकरणलाई खासै महत्त्व दिएर प्रकाशन/प्रसारण गरिएको देखिन्न । मिडियाको प्रमुख उद्देश्य भनेको समाजको हितलाई ध्यानमा राखेर विषयवस्तुको प्रकाशन/प्रसारण गर्नु हो । समाजमा सामाजिक, आर्थिक तथा राजनीतिक लगायतका विभिन्न पक्षहरू हुने भएकाले सञ्चारमाध्यमले यस्ता विषयवस्तुलाई विभिन्न्ा कोणबाट अध्ययन तथा अनुसन्धान गर्ने गर्छन् । वास्तवमा छिटो जनमानसमा सन्देश पु्र्‍याउने प्रभावकारी माध्यम आमसञ्चार नै हुन् । हामीकहाँ राजनीतिक, मनोरञ्जन, खेलकुद, आर्थिकजस्ता समाचारले जेजति प्राथमिकता पाउँछन्, त्यही अनुपातमा अपांगताका विषयले पनि महत्त्व पाउन जरुरी छ ।

अपाङ्गता भएकाहरूप्रति हाम्रो सामाजिक धारणा र चेतनाको दृष्टिकोण अत्यन्तै कमजोर देखिन्छ । यसलाई कानुनको आँखाबाट पनि हेरिनुपर्छ । अपाङ्गता भएकाहरूको हक तथा अधिकार स्थापनाका लागि प्रभावकारी कानुन निर्माण गरिनुपर्छ । सामाजिक कुरीति, विसंगतिका साथसाथै सरकारलाई दबाब दिनसमेत सञ्चार प्रभावकारी माध्यम हो, जसले अपाङ्गता भएकाहरूको हित र अधिकारका लागि आवाज उठाउन सक्छ । प्रविधिको विकासले विश्वव्यापीकरण भइरहेको छ । धेरै अप्ठेराहरू पनि सजिलोमा परिणत भइसकेका छन् । प्रविधिको विकासले अन्य व्यक्तिहरूलाई लाभ मिलेजस्तै अपाङ्गताभएकाहरूको जीवनयापन सजिलो र सुविधामुखी बनाउन पनि सहयोग मिल्ने गर्छ । यस्ता जानकारीमूलक विषयवस्तुहरू पनि समाजमा सकारात्मक धारणाको अभिवृद्धि गर्न अपाङ्गता भएकाहरूको उदाहरणीय कार्यलाई सञ्चारमाध्यमले प्रसारण तथा प्रकाशन गर्नुपर्छ ।

अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह काम गर्न सक्दैनन् भन्ने हाम्रो आम बुझाइ छ, तर वास्तवमा अन्यभन्दा कैयौं गुणा अपाङ्गता भएका व्यक्तिहरूले उदाहरणीय काम गरेको हामी पाउँछौं । साहित्यकार झमककुमारी घिमिरे शारीरिक रूपमा कमजोर छिन्, तर उनका सिर्जनाले देश-विदेशमा ख्याति कमाएका छन् । उनी कान्तिपुर दैनिककी स्तम्भकार पनि हुन् । बिथोभिनले सुनाइसम्बन्धी अपाङ्गता हुँदाहुँदै पनि संगीत सिर्जना गरेका थिए । यस्ता थुप्रै उदाहरणबाट पनि हामी बुझ्न सक्छौं कि अपाङ्गता भएकाहरू अरुभन्दा कुनै पनि कुरामा कम हुँदैनन् । मिडियाले यो कुरा बुझिदिन र तद्नुरुपको प्राथमिकता दिनु आजको आवश्यकता हो ।
साभार e-kantipur

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!