बलात्कार घटनामा सार्वजनिक अपराध मुद्दा

February 24, 2014

सुदीप कैनी
धादिङ, फाल्गुन १२ – सुस्त मनस्थितिकी युवती बलात्कार घटनामा प्रहरी, आफन्त र पीडकको मिलेमतोमा सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरिएको खुल्न आएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदन गायब बनाई मुद्दा फित्तलो पारेको पीडितको गुनासो छ । जबर्जस्ती करणी शीर्षकमा दर्ता हुनुपर्नेमा प्रतिवेदन गायब बनाई सार्वजनिक अपराधमा दर्ता गरिएको खुलेको हो । कमजोर कागजी प्रमाणमा प्रहरीले मुद्दा दायर गरेपछि पीडक पाँच हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।

प्रहरीबाट सरकारी वकिल कार्यालय हुँदै जिल्ला प्रशासन पुगेको मिसिलमा युवतीको स्वास्थ्य परीक्षण प्रतिवेदन छैन । जिल्ला अस्पतालमा पीडित र पीडक दुवैको जबर्जस्ती करणी भए नभएको प्रयोजनका लागि गरिएको स्वास्थ्य परीक्षण प्रमाण छ । पीडित परिवारसँग गरिएको अध्ययनअनुसार सल्यानटार ७ का श्यामकुमार श्रेष्ठले सुस्त मनस्थितिकी ती महिलामाथि भएको बलात्कारको रिपोर्ट प्रहरीले मुद्दा दायर गर्ने बेला लुकाएको स्रोतको दाबी छ । श्रेष्ठले जबर्जस्ती करणीमा मुद्दा दर्ता नगराउन करिब ११ लाख खर्च गरेको आफन्तले बताए ।

पैसाको प्रलोभनमा पीडितका बाबुले समेत घटनाको जाहेरी परिवर्तनमा सहमति जनाएको दाबी छ । माघ ३ मा सुस्त मनस्थितिकी २७ वषर्ीया युवतीलाई जबर्जस्ती करणी भएको आरोप छ । सोही आरोपमा माघ ५ गते प्रहरीले अस्पताललाई पीडित पीडक दुवैको स्वास्थ्य परीक्षण गर्न चलानी नम्बर १२१६ नम्बरको पत्राचार गरेको प्रमाण भेटिएको छ । डाक्टर अमृत रिजालले स्वास्थ्य परीक्षण गराई प्रहरीलाई प्रतिवेदन पठाएको अस्पतालले जनाएको छ ।

‘हामीकहाँ जबर्जस्ती करणीसम्बन्धी जाहेरी र स्वास्थ्य रिपोर्ट नै आएन’, सरकारी वकिल बद्रीप्रसाद नेपालले भने । प्रमुख जिल्ला अधिकारी विष्णु पोखरेले मुद्दामा जबर्जस्ती करणी भएको हुन सक्ने कुनै पनि बेबेहोरा उल्लेख नभएकाले माघ १४ गते अभियुक्त पाँच हजार धरौटीमा छुटिसकेको बताए । स्थानीय सामाजिक महिला कार्यकर्ताले पीडित परिवारलाई उद्धृत गर्दै पैसामा बलात्कारको मुद्दा मिलाएको बताएकी छन् ।

मुद्दामा पीडकले गालीगलौज मात्र गरेको उल्लेख भएको र पीडितको घाउ केस फाराम समावेश नभएको नेपालले बताए । प्रहरीले पीडकसँगको मिलमतोमा प्रमाण गायब गराएको हुन सक्ने सरकारी वकिलको कार्यालयले दाबी गरेको छ । ‘पीडितको स्वास्थ्य परीक्षण गरिएको भए रिपोर्ट मिसिलका साथ संलग्न गर्नुपर्छ’, उनले भने । कानुन व्यवसायीसँग कागज गराएर पीडकले पीडित परिवारलाई सात लाख र बाँकी रकम प्रहरीलाई दिएको स्रोतको दाबी छ ।

‘व्यक्तिगत लेनदेन भनेर कागज गरी पैसा दिइएको छ,’ स्रोत भन्छ । पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण रिपोर्टको प्रतिलिपि अस्पतालको कम्प्युटर र फाइलमा छ । सरकारी वकिल र प्रशासन पुगेको फाइलमा भने उक्त रिपोर्ट छैन । प्रहरीले भने पीडकभन्दा पीडितलाई पहिले प्रहरी कार्यालयमा ल्याएर मुद्दामा मिलापत्र गर्न दबाब दिने गरेको प्रशासनका एक कर्मचारीले बताए । प्रहरीले पटकपटक महिला हिंसाका घटनामा राजनीतिक हस्तक्षेप र पैसा लेनदेनमा मुद्दा कमजोर बनाउने र मिलापत्र गराउने गरेको आरोप महिला अधिकारकर्मीले लगाएका छन् । प्रहरी नायब उपरीक्षक अशोक सिंहले भने मुद्दाको विषय मुद्दा फाँटलाई मात्र जानकारी हुने बताए ।

सुस्त किशोरी बलात्कृत
जाजरकोट, फाल्गुन ९ – कार्कीगाउँ ९, पुराना जंगलमा एक सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएकी छन् । १५ वर्षीया किशोरीलाई सोही गाउँका ५२ वर्षीय मनहर पुनले यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । सुस्त किशोरीलाई पुनले जंगलमा लगेर बलात्कार गरेका थिए । बलात्कृत कराएको सुनेर आफन्त जंगल पुगेपछि पुन भागेका हुन् । पीडकले यसअघि पनि उनीमाथि बलात्कार गरेको खुल्न आएको छ ।
दुबै समाचारकाे साभार ekantipur

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!